मंगलबार, ३१ भदौ २०७६

तातोपानीका मुहान पुरिँदै : संरक्षणको आवश्यकता

rss २०७६ भदौ २५ गते ११:५७

धु्रवसागर शर्मा
प्राकृति चिकित्सालयका रुपमा चर्चित म्याग्दीका तातोपानी कुण्डका मुहान पुरिँदै गएपछि कुण्ड पनि सङ्कटमा पर्न थालेका छन् ।

बिरामीका लागि प्राकृतिक उपचारको अस्पतालका रुपमा विकसित हुँदै गइरहेको तातोपानीका मुहान म्याग्दी खोलाको चपेटामा परेका हुन् । हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भल बाढी र नदी कटानको जोखिममा तातोपानीका कुण्ड परेका हुन् ।

म्याग्दी सदरमुकाम बेनीबजारदेखि नौ किलोमिटर पश्चिम बेनी नगरपालिका–४, सिङ्गास्थित तातोपानी बजारमा तातोपानीको कुण्ड रहेको छ । वर्षौंपिच्छे असार महीनादेखि भदौसम्म म्याग्दीखोला उर्लेर आउने हुँदा कुण्डभन्दा बाहिर रहेका तातोपानीका दुईवटा मुहान पुरिने गरेका छन् । यस वर्ष पनि म्याग्दी नदीमा पानीको बहाव बढेपछि त्यसको असरले गर्दा मुहान पुरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ ।

कुण्डभन्दा बाहिर रहेका दुईवटै तातोपानीका मुहान पुरिएपछि तातोपानी कुण्डमा स्नान गर्न जाने बिरामीले कुण्डभन्दा बाहिरका मुहानमा नुहाउन पाएका छैनन् । अन्य समयमा तातोपानी कुण्डमा डुबुल्की मारेर बाहिर कुवा र धारामा गएर खुला ठाउँमा नुहाउने गरेका बिरामीलाई कुवा पुरिँदा नुहाउन समस्या भएको हो । वर्षा नहुँदा खोलामा बहाव घट्दै गएमा भने पुरिएको कुवा पनि विस्तारै देखिने गरेको छ ।

कुण्ड बाहिर रहेका कुवा र धारा पुरिएपछि तातोपानी कुण्ड व्यवस्थापन समितिले भने कुण्ड परिसरभित्रै बिरामीका लागि नुहाउने व्यवस्था गरेको जानकारी दिएको छ । प्रत्येक दिन बिहान ६ बजेदेखि ७ बजेसम्म ड्रममा कुण्डको तातोपानी भरेर बिरामीका लागि नुहाउने व्यवस्था गरिएको छ । तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामीलाई नै लक्षित गरेर कुण्डभित्रै नुहाउने व्यवस्था मिलाइएको हो ।

तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले म्याग्दीखोलाको किनारमा रहेका दुईवटा तातोपानीका कुवा वर्षेनी जोखिममा परेको हुँदा आवश्यक सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो । उहाँले कुण्ड व्यवस्थापन समितिको तर्फबाट भू–गर्भविद् समेत ल्याएर तातोपानीका कुवा देखाइए पनि त्यसको मूल स्रोत पहिचान नहुँदा संरक्षणको काम गर्न नसकिएको बताउनुभएको छ ।

तातोपानी कुण्डमा हाल दैनिक १०० देखि १५० सम्म बिरामीले स्नान गर्दै आइरहेका छन् । दैनिक झण्डै १५ जना नयाँ बिरामी थपिने गरेको कुण्डका कर्मचारीको भनाइ छ । तातोपानी कुण्डमा स्नान गरेपछि ग्याष्ट्रिक, बाथ, युरिकएसिड, हाडजोर्नी दुख्ने, सड्केको, मर्किएको, घाउ, खटिरा, नशासम्बन्धी रोगलगायत चिसोका कारण उत्पन्न सबैखाले रोग निको हुने जनविश्वास रहेको छ ।

खहरेखोलामा पक्की पुल निर्माण
मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गतको बागलुङ–बुर्तिवाङ खण्डको खहरेखोलामा मोटरेबल पुल निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका–३ र काठेखोला गाउँपालिका–१ को सिमानामा बग्ने खहरेखोलामा मोटरेबल पुल निर्माण भएपछि सवारीसाधन तथा पैदलयात्रुलाई सहज भएको छ ।

बर्खाका निकै ठूलो खोला बग्ने खहरेखोलामा सवारीसाधन आउजाउ गर्नका लागि निकै समस्या भएका कारण १८ महीना अगाडि पुल निर्माण थालिएको मध्यपहाडी लोकमार्गले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्डमा निर्माण भएका आधा दर्जन पुलमध्ये अन्तिम पुल खहरेखोलामा निर्माण गरिएको आयोजनाका कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिनुभयो ।

पुल निर्माण अगाडि बर्खाको समयमा खोलाबाट निकै जोखिम मोलेर सवारीसाधन तथा पैदलयात्रु आवतजावत गर्दै आएका थिए । पुल निर्माणसँगै सवारीसाधन तथा पैदलयात्रुलाई एकैसाथ सहज भएको स्थानीयवासीले बताएका छन् । खहरेखोलामा झोलुङ्गे पुलसमेत नहुँदा पैदलयात्रीलाई खोला तर्नुपर्ने बाध्यतानै रहेको थियो । १८ महीनामा सक्ने गरी जयबाबा÷ओखलढुङ्गा÷बिएमए निर्माण सेवाले ठेक्कामार्फत पुल निर्माण गरेको हो । समयमा नै मोटरेबल पुल निर्माण नहुँदा यात्रुले समस्या भोगिरहेको सन्र्दभमा खहरेखोला मोटरेबल पुन भने समयावधिभित्रै सकिएको छ ।

बीस मिटर लम्बाइ तथा ११ मिटर चौडाइ रहेको उक्त पुल रु दुई करोड ८९ लाखमा निर्माण गरिएको निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि विमलेश आचार्यले बताउनुभयो । “लोकमार्गले निर्माण गरेको पुलको डिजाइनमा समस्या नभएको भए १० महीनामै सकिन्थ्यो”, आचार्यले भन्नुभयो, “पुरस्कारको छनोटमा परेको पुल डिजाइन सच्याउँदा समयअवधिभित्र मात्र निर्माण गर्न सकियो ।”

पछिल्लो समय मध्यपहाडी पुष्पलाल लोकमार्गले गतिलिन थालेको छ । आगामी असारसम्म लोकमार्गको बागलुङ खण्ड कालोपत्रे गर्ने गरी काम अगाडि बढेको लाकमार्ग आयोजनाले जनाएको छ । अहिले खहरे खोला नजिकैको चट्टान कटानका लागि लोकमार्गको बागलुङ खण्ड दैनिक आठ घण्टा बन्द गरिँदै आएको छ ।

प्रतिक्रिया