शुक्रबार, १६ चैत २०८०

तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार, कर्मचारीको लापर्बाही

समयपोष्ट २०७४ भदौ २६ गते ५:४३

अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै एक मात्र आयोजना लथालिङ्ग बनेको हो । 

Advertisement

मर्मत अभावमा बर्षैदेखी पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको आयोजनाको भविश्य बाँध क्षेत्रमा निजी क्षेत्रद्वारा निर्माणाधीन नयाँ आयोजनाका कारण संकटमा परेको छ । नारच्याङको मिस्त्री, घलेम्दी र नीलगिरि खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले फालेको मकिङ ९सुरुङबाट निस्किएको गेगर र माटो० बाँधमा थुप्रिएपछि दुई मेगावाट क्षमताको आयोजना हाल बन्द अवस्थामा छ । 
गेगर, माटो र तार बगाएर ल्याई बाँधमा थुपारेपछि साउन महिनादेखि विद्युत् उत्पादन हुन नसकेको आयोजनाका प्राविधिक खिम पुनले बताउनुभयो । “खोलामा पानीको सतह बढेकाले बाँधमा थुप्रिएको गेगर पन्छाउन सकिएको छैन”– पुनले भन्नुभयो, “दिनभरि पन्छायो, राति फेरि थुनिन्छ।” 

खोलाबाट सिधै सुरुङमा पानी ल्याउने गरिएको उक्त आयोजनाको बाँधमा बालुवा थिग्र्याउने पोखरी छैन् । बयालिस मेगावाट क्षमताको मिस्त्री खोला, पाँच मेगावाटको घलेम्दी खोलाको सुरुङको मकिङ र नीलगिरि खोलाको पहुँचमार्ग निर्माणका क्रममा निस्किएको माटो बाँधमा आएर थुप्रिने गरेको छ । 

“तातोपानी जलविद्युत्को बाँधभन्दा एक किमी माथि मिस्त्री खोला जलविद्युत् आयोजनाले फाल्ने मकिङ गएर बाँधमा थुप्रिन्छ”– स्थानीय बासिन्दा तोमबहादुर चोचाङ्गी मगरले भने, “स्थानीय बासिन्दा मर्कामा रहँदा र नेपाल विद्युत् प्राधिकरणलाई करोडौँ नोक्सानी हुँदासमेत कसैले चासो दिएका छैनन् ।” 

मिस्त्री खोला र तातोपानीका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक यस विषयमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको मगरले बताए । नारच्याङको बाँसबोटमाथि बाँध रहेको तातोपानी आयोजनाको विद्युत्गृह धरापमा छ । 

नेपाल विद्युत् प्राधिकरणले विसं २०४६ मा निर्माण गरेको म्याग्दीको एकमात्र उक्त विद्युतगृहका टर्वाइन, जेनेरेटर लगायतका उपकरण मर्मत हुन नसक्दा ५०० किलोवाट मात्र विद्युत् उत्पादन हुने गरेको थियो । चार वटा टर्वाइन सामान्य मर्मत गरेपछि सञ्चालन गर्न सकिने प्राविधिक पुनले बताए । जेनेरेटरमा खराबी आएका चार वटा टर्वाइन मर्मतका लागि ठूलो लगानी आवश्यकपर्ने उनले बताए । तीन वटा जेनेरेटर मात्र ठीक अवस्थामा छन् । 

आयोजनाका प्रमुख लालबहादुर लम्सालले बजेट अभावमा मर्मत गर्न समस्या भएको बताए । प्राधिकरणमा जानकारी गराए पनि बजेटको व्यवस्था नहुँदा मर्मत गर्न नसकिएको लम्सालको भनाइ छ । आयोजना पूर्ण क्षमतामा सञ्चालन हुन छाडेको १० वर्ष भइसकेको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री