शनिबार, ८ वैशाख २०८१

पर्यटन मन्त्रीका रमाइला योजना,क्यासिनो नियमावलीदेखी पशुपति दर्शन वर्ष सम्म

समयपोष्ट २०७४ भदौ २५ गते १२:५६

 सिवी अधिकारी 

Advertisement

हुनतः मन्त्री पदमा नियुक्त भएपछि सबैले यो र त्यो गर्छु भनेर कार्ययोजना ल्याउने विषय कुनै नौलो हैन । तर, आफ्नै पदको कार्यावधिको टुंगो नहुने र समयभित्रैै गर्न सकिने काममा ध्यान नदिई निकै महत्वकांक्षी योजना सुनाएर चर्चा कमाउने रित जस्तै बनेको छ । 
सन्दर्भ हो, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले मन्त्री भएको झण्डै डेढ महिनापछि आइतबार मन्त्रालयमा पत्रकारसम्मेलन गरी आगामी कार्ययोजना सार्वजनिक गर्दा त्यस्तै संकेत देखियो । 
मन्त्री देवले मन्त्रालय मातहत निकायका कामलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन ३२ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन । आगामी ६० दिन र चालु आवभित्र गर्ने उक्त कार्ययोजनामा नीतिगत तथा कानूनी सुधार, मन्त्रालयको पुनःसंरचनादेखि पर्यटन प्रवद्र्धन र विकास, संस्कृति प्रवद्र्धन एवं पुरातात्विक संरक्षण, विमानस्थल निर्माण तथा नागरिक उड्डयनका महत्वपूर्ण विषय समावेस छन् । 

कतिपय विषय निकै राम्रा र प्रशंसनीय छन् भने केही चाहिँ पुरानै छन् जुन अघिल्ला पर्यटन मन्त्रीहरुले पनि ल्याएकै हुन् । पर्यटन नीतिलाई पुनरावलोकन गरी परिमार्जन र परिस्कृत गर्ने, नयाँ संस्कृति नीति र नयाँ नागरिक उड्डयन नीति तर्जुमाको कार्यलाई शीघ्र अघि बढाइने विसं २०३५ मा तर्जुमा भएको पर्यटन ऐनलाई समयानुकूल परिमार्जन गरी क्यासिनो, नियमावली ट्राभल ट्रेकिङ नियमावली र पर्वतारोहण नियमावलीको संशोधन आदि विषय कुनै नौला होइनन् यी त अघिल्ला पाँच जना मन्त्रीले उठाएकै विषय हुन् । 

अझ अघिल्ला पर्यटनमन्त्री जीवनबहादुर शाहीले त पर्यटन क्षेत्रको सुधारका लागि ऐन, नियमावली सुधार गरी यो अवधिमा यति कामसक्ने भनेर किटानीका साथ कार्ययोजना ल्याएका  थियो । तर, विडम्बना ती कार्ययोजना केबल योजनामै सीमित बन्न पुगे किनकी चाँडो मन्त्री र सचिव र विभागीय प्रमुख फेरिरहने प्रवृत्तिले पर्यटन मन्त्रालयको योजना कार्यक्रम अपेक्षाअनुरुप सम्पादन हुन सकेनन् । 

पुराना ऐन परिमार्जन, नियमावली संशोधनसँगै नेपालको पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय मुलुकसँग दुई पक्षीय सम्झौता गर्ने योजना राम्रा छन् । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउन मन्त्रालयले थाइल्याण्ड, श्रीलंका, युएइ, टर्की, तथा न्युजील्याण्डसँग हवाई सम्झौतामा अन्तिम हस्ताक्षर गर्ने योजना ल्याएको छ । 

पर्यटन मन्त्रालयलाई संघीयताअनुरुप संघ, प्रदेश र स्थानीय तहमा रहने कार्य, संगठन संरचना तथा जनशक्तिको व्यवस्थापन गर्नका लागि संगठन तथा व्यवस्थापन सर्भेक्षण गरिने कार्ययोजनामा उल्लेख छ । नेपाल भ्रमण वर्ष २०२० मनाउन सचिवालय गठन गरी आवश्यक तयारी गरिनुका साथै भारत र चीन केन्द्रित पर्यटन प्रवद्र्धन कार्यक्रमलाई अभियानका रुपमा अघि बढाइने मन्त्रालयले ६० दिने कार्ययोजनामा समावेश गरेको छ । 

नेपाल पर्यटन बोर्डको पुनःसंरचना, नेपालको अर्थतन्त्रमा पर्यटनको ठोस योगदान देखिने गरी ‘सेटालाइट एकाउन्टिङ’ को कार्य अघि बढाइने, दिगो पर्यटनका लागि धार्मिक पर्यटन प्रवद्र्धनार्थ ‘पशुपति दर्शन वर्ष’, ‘घुमौं लुम्बिनी अभियान’, ‘रामजानकी विवाह महोत्सव’लाई विशेषरुपमा चालु आवमा मनाइने मन्त्रालयको योजना छ । 
प्रत्येक प्रदेशमा एक प्रमुखस्थललाई पर्यटकीय गन्तव्य बनाउन गुरुयोजना तयार पार्ने, महत्वपूर्ण पर्यटकीयस्थल रारा तालको दिगो संरक्षण, पर्यटकीय सेवा र पर्या–पर्यटन विकासका लागि गुरुयोजना तयारका लागि बोलपत्र आह्वान गरिने, पर्वतारोहण र पदयात्रामा आइपर्ने विपद् व्यवस्थापनको विषय पनि कार्ययोजनामा अटेको छ । 

‘पशुपति दर्शन वर्ष’ मनाइने 

मन्त्रालयले संस्कृति प्रवद्र्धन एवं पुरातात्विक संरक्षका लागि यसै वर्ष पशुपति विकास कोष र पर्यटन बोर्डको सहयोगमा ‘पशुपति दर्शन वर्ष’ भव्यताका साथ मनाउने भएको छ । पशुपतिनाथलाई केन्द्रमा राखी काठमाडौँदेखि नेपालभर हिन्दू सर्किटको विकास गर्ने, ऐतिहासिक स्मारक धरहरा पुनःनिर्माणलाई तीव्रता दिने कार्ययोजना समेटिएको छ । 

त्यसैगरी, बहुप्रतिष्ठित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिने, पछिल्लो समय विवादमा परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको समस्या चाँडो समाधान गरी निर्माण कार्यलाई तीव्रता दिइनेछ । 

नेपालको हवाई उड्डयन क्षेत्रलाई सुरक्षित र व्यवस्थित गर्न आवश्यक कदम चालिने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको व्यवस्थापकीय पक्षमा सुधार गरिने कार्ययोजनामा छ । 
मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय गौरवका परियोजनालाई प्रभावकारी अघि बढाउनुका साथै मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटकमैत्री र आकर्षक बनाउन व्यापारिक ‘होर्डिङ बोर्ड’ विस्थापित गरी नेपालको संस्कृति परिचय र विशेषता झल्किने आकर्षक विद्युतीय ‘होर्डिङ बोर्ड’ राखिने, विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नति गरिने कार्ययोजनाको लक्ष्य छ । 

मन्त्री देवले मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका पाँचवटा आयोजनालाई प्राथमिकताका साथ अघि बढाइने बताए। उनले  करिब २२ वर्षदेखि अन्योलमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको जानकारी दिँदै विवादित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम चाँडै अघि बढाइने बताए । 
मन्त्रालयका सविच महेश्वर न्यौपानेले भाषणमा पर्यटन अर्थतन्त्रको महत्वपूर्ण आधार भनिए पनि यसबाट कूल ग्रार्हस्थ उत्पादनमा जति योगदान हुनुपर्ने हो त्यो नरहेको भन्दै पर्यटन विकास र प्रवद्र्धनका कामलाई प्रभावकारी ढंगले अघि बढाइने बबताए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री