बुधबार, १२ वैशाख २०८१

सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन होस्,सरकार आवश्यक सहयोग गर्न तयार छ :प्रधानमन्त्री

समयपोष्ट २०७४ साउन २६ गते ७:२९

प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन् । 

Advertisement

विश्वविद्यालयको छैटौँ सभालाई विहीबार सम्बोधन गर्दै उनले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गरेका हुन् । उनले सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन समेत जोड दिए । उनले भने, “विकासका दृष्टिले सधै पछाडि परेको क्षेत्रको विश्वविद्यालयले आफ्ना योजनाअनुसार कार्यक्रम अघि बढाओस्, सरकार आवश्यक सहयोग गर्न तयार छ ।” प्रधानमन्त्री विश्वविद्यालयको कुलपति समेत हुन् ।   

सोही अवसरमा उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले सो विश्वविद्यालयका लागि आवश्यक पर्ने थप बजेट निकासाका लागि सरकार सकारात्मक रहेको बताए ।  

बहुविश्वविद्यालयको अवधारणा बमोजिम २०६७ सालमा कञ्चनपुरको पुनर्वासमा रहेको ६२ बिगाहा जमिनमा स्थापित सो विश्वविद्यालयले व्यवस्थापन, मानविकी, शिक्षा र सामाजिक शास्त्र संकायमा स्नातक र स्नातकोत्तर तथा इञ्जिनियरिङ र विज्ञानमा स्नातक तहको कक्षा सञ्चालन गरिरहेको छ । आउँदो मंसिरमा हुने पहिलो दीक्षान्तमा करिब ४०० विद्यार्थी सहभागी हुनेछन् । 

विश्वविद्यालयका उपकुलपति प्रा भूषण श्रेष्ठले यस वर्षदेखि दीक्षान्त समारोहको आयोजना हुँन लागेको जानकारी दिए । साथै उनले कृषि संकायको अध्ययन अध्यापन शुरु गरेको बताउँदै माग गरिएको बजेट निकासाका लागि सरकारसँग आग्रह गरे । 

सो विश्वविद्यालयले गत आवमा १५ वटा क्याम्पसलाई आंगिक बनाउन रु १९ करोड विनियोजन गरेकामा दरबन्दी प्राप्त नभएकाले रोकिएको छ । 

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले विश्वविद्यालयले यसअघि निर्णय गरेर पनि १५ क्याम्पसलाई आंगिक नबनाएकामा चिन्ता व्यक्त गर्दै सरकारले आवश्यक बजेट दिनुपर्ने बताए ।  रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री