बिहीबार, १३ वैशाख २०८१

पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु मर्कामा

समयपोष्ट २०७४ साउन १७ गते ९:३९

वीरगञ्जको २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् । एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ । 

Advertisement

साविक गाविसमध्ये ३४ वटा गाविसलाई दिसामुक्त क्षेत्र घोषणा गरिएपनि सो गाविसमा पूर्वाधारको अभावका कारण यात्रु खुल्ला ठाउँमा दिसा पिसाब गर्न बाध्य भएका हुन् । 
वीरगञ्ज महानगरपालिकाभित्र २९ हजार पाँच सय घरधुरी रहेपनि २८ हजार दुई सय २४ घरमा मात्र शौचालय छ । नगर क्षेत्रभित्र २३ वटा सार्वजनिक शौचालय छ तर ती शौचालय पर्याप्त नभएको बताइएको छ ।

नगरस्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका इन्जिनियर सुनिलकुमार कर्णले शौचालय भएको घरमा सरसफाइ कार्ड दिने गरेको बताउँछन्  । सो कार्ड प्राप्त गर्ने घरधुरीलाई बिजुली बत्ती, खानेपानीलगायतका सुविधा दिँदै आएको छ भने कार्ड नभएका व्यक्तिलाई सो सुविधा कटौती गरिएको इन्जिनियर कर्णको भनाइ छ । 

वीरगञ्जमा रहेका शौचालयमध्ये रु ४२ लाख ५० हजारको लागतमा निर्माण भएको घण्टाघरको शौचालयले प्रतिमहिना रु एक लाख आठ हजार राजस्व नगरपालिकालाई शुल्क बुझाउँदै आएको छ ।  
महानगरपालिकाले सीमाक्षेत्र विकास कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको नेपाली सीमाक्षेत्रमा पाँचवटा शौचालय निर्माण गर्ने भएको छ भने यसै आवमा नगर क्षेत्रमा थप शौचालय निर्माणका लागि बजेटसमेत छुट्याएको महानगरका सरसफाई संयोजक स्नेहा श्रेष्ठले बताईन्  । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री