मंगलबार, ११ वैशाख २०८१

इन्धन भण्डारण गर्ने सरकारको तयारी

समयपोष्ट २०७३ भदौ ८ गते ११:१५

बेलाबेलामा देखिने इन्धन समस्या समाधानको लागि सरकारले ३ महिनासम्म पुग्नेगरी इन्धन भण्डारण गर्ने तयारी गरेको छ । यहि बिषयमा आज प्रधानमन्त्री पुष्पकमल दाहालले आपूर्ती मन्त्रालय  र आयल निगमसँग छलफल  पनि गरेका छन् । छलफलमा तीन महिनासम्म पुग्ने गरी इन्धन भण्डारण गर्नका लागि मन्त्रालय र नियमले प्रधानमन्त्रीसमक्ष योजना पेश गरेको छन ।
७ वटा प्रान्तमा ५० हजार किलोलिटर डिजल र पेट्रोल भण्डारण तथा ५ हजार टन ग्याँस भण्डारण गर्ने र काठमाडौंका लागि छुट्टै ५० हजार किलोलिटर इन्धन भण्डारणका लागि प्रस्ताव पेश गरिएको आपूर्ती मन्त्री दिपक बोहराले जानकारी दिए ।काठमाडौंमा निर्माण गर्ने फास्ट ट्रयाक वरीपरी उक्त भण्डारणलाई निर्माण गरिनुपर्ने प्रस्ताव प्रधानमन्त्रीसमक्ष पेश गरिएको छ ।
देशमा २ लाख ८५ हजार केएल डिजेल, १ लाख १० हजार केएल पेट्रोल र ५० हजार टन भण्डारण गर्न सकिए त्यसले तीन महिनासम्म उपभोक्ताको माग धान्न सक्ने जानकारी मन्त्रालयले दिएको छ ।
त्यस्तै रक्सौल अमलेशगञ्ज पाइपलाइनको विषयमा पनि  छलफल भएको थियो । प्रधानमन्त्रीको जिज्ञासामा आपूर्ती सचिव श्रीधर सापकोटाले हाल डिपिआरको काम भइरहेको र यस विषयमा भारतसँग पनि छलफल भइरहेको जानकारी दिएका थिए । एमओई गरेको ३० महिनाभित्र काम सम्पन्न गर्नुपर्ने भएको हुँदा यसको काम तीव्र गतिमा अघि बढिरहेको जानकारी सचिव सापकोटाले दिएका थिए ।
बैठकमा शुरुमा पाइपलाइनको लम्बाई ४१ किलोमिटर भनिए पनि यो ३७ किलोमिटर मात्र रहेको जानकारी समेत दिइएको थियो ।
दुवै आयोजना सम्पन्न गर्न सरकारले ३३।६ एकड जमिन उपलब्ध गराउनुपर्ने जानकारी समेत दिइएको सचिव सापकोटाले बताए । मन्त्री र सचिवको ब्रिफिङपछि प्रधानमन्त्री दाहालले आफूले यस विषयमा अध्ययन गरेर छिट्टै थप निर्देशन दिने बताएका थिए  ।
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री