बिहीबार, १५ चैत २०८०

अर्को पर्यटकीय गन्तव्य बन्दै ह्याप्पील्याण्ड

समयपोष्ट २०७५ भदौ १५ गते ८:०६

ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

Advertisement

कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि एक हजारसम्म आन्तरिक पर्यटक आउने गरेका छन् ।

फनपार्कमा माटोको ढिस्को उठाएर निर्माण गरिएको ‘सेल्फी डाँडा’ले पर्यटकलाई बढी आकर्षित गर्ने गरेको छ । पार्कमा आइसफल टावर, पानीको फोहोरा, बगैचा र बाल उद्यान निर्माण गरिएको छ । यहाँ हात्ती, बाघ, गैँडालगायतको प्रतिमासमेत राखिएको छ । पार्कभित्र रहेको मिनी चिडियाखानामा विभिन्न चराचुरुङ्गी र वन्यजन्तु राखिएको छ । पार्कभित्र चार कट्ठा जग्गामा कृत्रिम पोखरी निर्माण गरिएको छ । यहाँ निर्माण गरिएको आकाशे पुलमा फोटो खिच्नेको घुइँचो लाग्छ ।

“शनिवार र चाडपर्वमा अत्यन्त भीड लाग्छ”, सञ्चालक मनोजले भन्नुभयो, “भारत, बङ्गलादेश र भूटानबाट समेत पर्यटक घुम्न आउने गरेका छन् ।” पर्यटकबाट प्रतिव्यक्ति रु ५० शुल्क लिने गरिएको छ । नौ महिनाको अवधिमा टिकट बिक्रीबाट रु एक करोड ७५ लाख आम्दानी भएको उहाँले बताउनुभयो । यस अवधिमा दुई लाख ८६ हजार आन्तरिक तथा बाह्य पर्यटकले फनपार्कको अवलोकन गरिसकेका छन् ।

“पर्यटक आकर्षित गर्न सङ्ग्रहालय बनाउन थालेका छौँ,” सञ्चालक दिनेशले भन्नुभयो । उहाँका अनुसार ५६ सिट भएको पुरानो जहाजभित्रै सङ्ग्रहालय बनाउन थालिएको छ । फनपार्कबाट ४० जनाले रोजगारी पाएका छन् । दमक नगरपालिका–२ युवा व्यवसायी प्रकाश प्रसाईंलेसमेत सात बिघा निजी जग्गामा रु १० करोडको लगानीमा फनपार्क निर्माण थाल्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री