शनिबार, ८ वैशाख २०८१

होटल सोल्टीमा रिट्रिट सम्पन्न, बिम्स्टेक राष्ट्रका जोडीलाई मिलाइएको थियो यस्तो प्रबन्ध

समयपोष्ट २०७५ भदौ १५ गते ५:०१

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकका राष्ट्राध्यक्ष–सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद रिट्रिट सम्पन्न भएको छ ।

Advertisement

सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको स्थानीय ताहाचलस्थित सोल्टी होटलको पौडी पोखरी परिसरमा आयोजना गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी थिए ।

रिट्रिटमा बिहानको खाजाको प्रबन्ध गरिएको छ । सदस्य देशका राष्ट्राध्यक्ष–सरकार प्रमुखका निम्ति एउटा मुख्य टेबल र सोही टेबल नजिक उनीहरूका श्रीमान-श्रीमतीलाई बेग्लै टेबलको व्यवस्था गरिएको थियो । आफ्नै भाषामा अभिव्यक्त गर्न चाहने राष्ट्राध्यक्ष–सरकार प्रमुखका लागि दोभाषेको पनि व्यवस्था गरिएको थियो ।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष–सरकार प्रमुख तथा उनीहरुका जीवनसाथीलाई स्वागत गरे । त्यसअघि पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

रिट्रिटमा बिम्स्टेक राष्ट्रका बाह्य मामिला–विदेशमन्त्री–राज्यमन्त्री पनि सहभागी थिए । उनीहरुलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्वागत गरेका थिए । त्यसैगरी उक्त एकान्त भेटमा सहभागी बाह्य मामिला–विदेश मन्त्रालयका सचिवलाई परराष्ट्र सचिव शङ्करदास वैरागीले स्वागत गरेका थिए । नितान्त निजी एवं ऐकान्तिक भेटका निम्ति रिट्रिटस्थलमा सदस्य देशका विशिष्ट अतिथि र उच्चपदस्थ अन्य पाहुना आउँदा पृष्ठभूमिमा सबै देशका राष्ट्रिय धुन मन्द र मधुर ध्वनिमा बजाइएको थियो ।

रिट्रिटका क्रममा बिहानी खाजाको कार्यक्रम पूरा भएपछि राष्ट्राध्यक्ष–सरकार प्रमुखका लागि केही समय व्यक्तिगत कुराकानीका निम्ति छुट्याइएको र रिट्रिटका उत्तराद्र्धमा सामूहिक तस्बीर खिचाउने कार्यक्रम रहेको शिष्टाचार महापाल दीपक अधिकारीले बताए । औपचारिक रूपमा अभिव्यक्त गर्न नसकिने विषय उठाउने उपयुक्त अवसरका रूपमा यस्ता भेटवार्ता उपयोगी हुने पूर्व पराष्ट्र सचिव तथा पूर्वराजदूत मधुरमण आचार्यले अभिमत प्रकट गरे ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कमा पनि राजनीतिक संवादका निम्ति रिट्रिटको प्रावधान रहेको स्मरण गराउँदै उनले औपचारिक ‘एजेण्डा’मा छलफल नै नहुने विषय रिट्रिटम विचारविमर्श हुने गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री