शुक्रबार, ७ वैशाख २०८१

युनिलिभरको नाफा १ अर्ब नजिक

समयपोष्ट २०७५ भदौ ११ गते ५:२४

युनिलिभर नेपालले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको विवरण अनुसार कम्पनीले ९९ करोड ९४ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अघिल्लो बर्षको यसै अवधिमा ९६ करोड ५२ लाख खुद नाफा आर्जन गरेको थियो ।

Advertisement

कम्पनीले गत आर्थिक बर्षमा चार अर्ब ८६ करोड ८३ लाख बराबरको उत्पादन बिक्री गरेको छ । जुन अघिल्लो बर्षको भन्दा ४२ करोड बढी हो । कम्पनीको कच्चा पदार्थको मूल्य बढ्दा अन्य खर्च कटौति गरेपनि उल्लेखनीय रुपमा नाफा बढ्न नसकेको देखिन्छ । कम्पनीले कच्चा पदार्थमा मात्रै २ अर्ब ५१ करोड खर्च गरेको छ । जुन अघिल्लो बर्षको भन्दा २७ करोड बढी हो ।

कम्पनीको सञ्चालन आम्दानी समेत कमी आएको छ । कम्पनीले आफ्ना सेवाको बिक्री, सञ्चालन खर्च, कर्मचारी खर्च तथा विज्ञापन लगायतमा कुल ३ अर्ब ८७ करोड खर्च गरेको छ । जसको कर्मचारी तथा सञ्चालन खर्च मात्रै १६ करोड रहेको छ ।

कम्पनीले विज्ञापन खर्च भने घटाएको छ । अघिल्लो बर्ष ४१ करोड रुपैयाँ विज्ञापनमा खर्च गरेको कम्पनीले गत आर्थिक बर्षमा ३७ करोड मात्र विज्ञापन खर्च गरेको छ ।

कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा एक अर्ब ९८ करोड २२ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता २२ हजार ५७३ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ २१५३ रुपैयाँ रहेको छ । कम्पनीको मुल्य आम्दानी अनुपात २२.९७ गुणा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री