बिहीबार, १३ वैशाख २०८१

प्राथमिकता निर्धारण गर्न प्रधानमन्त्री ओलीलाई सुझाव

समयपोष्ट २०७५ भदौ १० गते १६:२०

बिम्स्टेकको आगामी चौथो शिखर सम्मेलनमा प्राथमिकता निर्धारण गर्नुपर्ने कार्य क्षेत्रका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिइएको छ ।

Advertisement

कूटनीति, विदेश मामिला र आर्थिक क्षेत्रमा कार्यरत नेपाल, भारत र बङ्गलादेशका संस्थामा आबद्ध केही व्यक्तित्वले आज साँझ प्रधानमन्त्री ओलीलाई उहाँको निवास बालुवाटारमा भेटी बिम्स्टेकको कार्य क्षेत्रका बारेमा सुझाव दिनुभएको हो ।

बिम्स्टेकको आगामी शिखर सम्मेलनका एजेण्डा के हुनुपर्छ भन्नेबारेमा यही अगष्ट २–३ मा रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, विकासशील राष्ट्रका लागि अनुुसन्धान र सूचना प्रणाली, भारत नीति संवाद केन्द्र, बङ्गलादेशका ‘थिङ्ट्याङ्क’ हरुद्वारा आयोजित बिम्स्टेकको पूर्वपरामर्श बैठकमा पारित सुझाव आज प्रधानमन्त्रीलाई बुझाइएको हो ।

रणनीतिक तथा सामाजिक, आर्थिक अध्ययन प्रतिष्ठान, नेपालका कार्यवाहक अध्यक्ष डा.गोविन्द नेपालले दिनुभएको जानकारीअनुसार सो बैठकले बिम्स्टेकको सफलताका लागि आगामी शिखर सम्मेलनले निर्धारण गर्नुपर्ने कार्यक्षेत्रका बारेमा सुझाव दिएको थियो । हाल बिम्स्टेकका १४ वटा कार्य क्षेत्र रहेकामा तिनलाई घटाएर थोरै प्राथमिकताका क्षेत्रमा सीमित गर्नुपर्ने र यसो गर्न सकिएमा ती क्षेत्रमा ठोसरुपमा काम गर्न सकिने सुझाव दिइएको छ ।

डा.नेपालका अनुसार सडक सञ्जाल ‘कनेक्टिभिटी’,व्यापार,लगानी तथा पर्यटन प्रवद्र्धन, जनता जनताबीचको सम्पर्क,जलवायु परिवर्तन र बिम्स्टेकको सचिवालयको सबलीकरण विषयमा प्राथमिकता निर्धारण गरी काम गर्नेगरी कार्य क्षेत्र बनाउन प्रधानमन्त्रीलाई सुझाव दिइएको थियो ।

बिम्स्टेकमा पर्वतीय र सामुन्द्रिक देश रहेकाले जलवायु परिवर्तनका कारण पहाड र समुद्रमा पार्ने प्रभावका बारेमा यस सङ्गठनले काम गर्नुपर्ने भन्दै आगामी शिखर सम्मेलनमा यस क्षेत्रलाई पनि प्राथमिकतामा राख्न पनि सुझाइएको उहाँ बताउनुभयो ।

यी सुझाव सान्दर्भिक रहेकाले आगामी शिखर सम्मेलनमा आफूले राख्ने आश्वासन प्रधानमन्त्री ओलीले दिनुभएको जानकारी नेपालले दिनुभयो । बिम्स्टेककोे चौथो शिखर सम्मेलन आगामी बिहीबार र शुक्रबार काठमाडौँमा आयोजना हुँदैछ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री