बिहीबार, १५ चैत २०८०

तोकिएको मितिभित्र आयोजना सम्पन्न नगर्नेलाई टेन्डर नदिन ऊर्जामन्त्रीको निर्देशन

समयपोष्ट २०७५ भदौ ८ गते ७:०६

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले अब प्राथमिकताका आधारमा मात्र परियोजना छनोट हुने बताएका छन् । वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा ऊर्जामन्त्री पुनले दबाब र प्रभावका आधारमा परियोजना छनोट हुने दिन विगत भइसकेको बताए ।

Advertisement

उनले बैठकमा आयोजनाको काम भए नभएको अनुगमन गर्न र जानकारी दिन आग्रह समेत गरे । उनले भने,‘आयोजनाको काम भएको छ/छैन भनेर अनुगमन गर्नुहोस्, के प्रगति भइरहेको छ, त्यो जानकारी दिनुहोस्’।

उनले तोकिएको मितिभित्र आयोजना सम्पन्न नगर्नेलाई फेरि टेन्डर नदिन पनि निर्देशन दिएका छन् । ‘जसले आयोजना बनाउँदैन, त्यसैलाई फेरि फेरि टेण्डर दिनुहुन्छ। अब त्यस्ता ठेक्केदार कम्पनीलाई आयोजना नदिनुहोस्। त्यसका लागि एउटा निश्चित कार्यविधि बनाएर काम गर्नुहोस र काम गर्ने शैली पनि परिवर्तन गर्नुहोस्’ पुनले भने।

उनले अब छिटो काम गर्ने प्रतिस्पर्धा हुनुपर्ने पनि बताएका छन्। ‘संघीयताको सुन्दर पक्ष यही हो, संघभन्दा प्रदेशले राम्रो गर्ने हुनसक्छ। त्यसैले संघीय सरकारले उत्कृष्ट काम गरेर देखाउनुपर्छ।’

मन्त्री पुनले राष्ट्रिय गौरवका आयोजनाको लागि स्रोत, बजेट र जनशक्तिको अभाव नहुने बताएका छन् । कार्यक्रममा ऊर्जा मन्त्रालयको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०७४/०७५ भित्र भए गरेका विकास सम्बन्धी उपलब्धि, त्यसको चुनौती, कानूनी समस्या, व्यवहारिक समस्या र समस्या समाधान गर्न अपनाउनुपर्ने विधि, रणनीतिबारे छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री