बिहीबार, १५ चैत २०८०

एसियाली विकास बैंकको सहयोगमा सौर्य मिनी ग्रीड परियोजना

समयपोष्ट २०७५ भदौ ७ गते ५:२२

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मोरङको मिक्लाजुङ गाउँपालिका–१ आइतबारेमा निर्माण गरिएको ३० किलोवाट क्षमताको सौर्य मिनी ग्रीड परियोजना बुधबार शुभारम्भ गर्नुभयो ।

Advertisement

केन्द्रीय प्रसारण लाइन पुग्न नसकेको जिल्लाको विकट मानिने सो क्षेत्रमा ऊर्जाको आवश्यकता पूर्ति गर्न जडान गरिएको सो प्रणालीबाट ७५ घरधुरीमा विद्युतीकरण भएको छ ।

एसियाली विकास बैंकको रु एक करोड ४५ लाख २० हजार, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु १६ लाख र जिल्ला समन्वय समितिको रु छ लाख गरी कूल एक करोड ७५ लाख ८७ हजार ५४५ को लागतमा सो प्रणाली जडान गरिएको हो । सूर्योदय ऊर्जा प्रालिले निर्माण गरेको उक्त परियोजनामा पहिलोपटक स्मार्ट मिटर अर्थात् प्रिपेड मिटर जडान गरी समुदाय आफैँले सो प्रणालीको व्यवस्थापन गरेको छ ।

मन्त्री पुनले केन्द्रीय प्रसारण पुग्न नसकेका विकट बस्तीमा सौर्य ऊर्जाबाट विद्युतीकरण गरी त्यसलाई विस्तारै राष्ट्रिय प्रसारणमा जोड्दै लैजाने र सौर्य पम्पिङबाट खानेपानी र सिँचाइको व्यवस्थालाई सरकारले प्राथमिकता दिने उल्लेख गर्नुभयो । उहाँले वर्तमान सरकार गठनपछि चीन, बङ्गलादेशसँग ऊर्जा क्षेत्रमा सहकार्यको ढोका खुलेको उल्लेख गर्दै प्रदेश नं १ मा विभिन्न ठूला, मझौला र साना विद्युत् तथा नवीकरणीय ऊर्जा आयोजनाका निर्माण अगाडि बढाइएको बताउनुभयो ।

राजनीतिक स्थायित्वसँगै अब मुलुक आर्थिक विकासमा अगाडि बढेको र यसका लागि ऊर्जालाई उच्च प्राथमिकतामा राखिएको बताउँदै मन्त्री पुनले सामाजिक न्याय र समानता भएमात्रै लोकतन्त्र सार्थक हुन्छ भन्नुभयो । राजनीतिक परिवर्तनलाई आर्थिक विकासमा रुपान्तरण गर्नु नै अहिलेको आवश्यकता भएको उहाँको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य घनश्याम खतिवडाले सरकारले अघि सारेको ‘सुखी नेपाली र समृद्ध नेपाल’को अभियानलाई सार्थक तुल्याउन तीनवटै तहका जनप्रतिनिधिले सामूहिकरूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले ऊर्जा विकासको मुख्य आधार भएकाले वर्तमान सरकारको हरेक घर ऊर्जा घर र हरेक बस्ती ऊर्जा बस्ती बनाउने अभियानलाई पूरा गर्न सकिए मुलुकले आर्थिक विकासमा ठूलो फड्को मार्न सक्छ भन्नुभयो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निमित्त कार्यकारी निर्देशक नवराज ढकालले अझै पनि २४ प्रतिशत जनता विद्युत्को पहुँचबाट टाढा रहेकाले उनीहरूलाई नवीकरणीय ऊर्जाको माध्यमबाट विद्युत् सुविधा पु¥याउन केन्द्र क्रियाशील छ भन्नुभयो । सोलार मिनी ग्रीड उपभोक्ता समितिका अध्यक्ष पर्वत राई, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यलगायतले जिल्लाकै कर्णालीको रूपमा परिचित यस क्षेत्रको विकासमा सरकारले विशेष सहयोग गर्नपर्छ भन्नुभयो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री