सामान्य अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम
नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन उच्च अंक घटेर बन्द भएको नेप्से आज सामान्य अंक बढेर बन्द भएको हो। आज नेप्से परिसूचक ३.८० अंक बढेर २७८६.४० विन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स १.६८ अंक र फ्लोट इण्डेक्स ०.२१ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन १८ अर्ब ६४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३२६ स्टकको १ लाख ६८ हजार १७५ पटकको कारोबारमा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँ बराबरको ३ करोड ५० लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लिबर्टी इनर्जी, हिमालयन हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै आत्मनिर्भर लघुवित्त र माइ खोला हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने पिपुल्स हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढेको छ। कारोबारमा आएको कणाली डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.८८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा चन्दागिरी हिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ४३ करोड ७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेपाल फाइनान्सको साढे ४१ करोडको शेयर कारोबार भएको छ भने हिमालयन रि इन्स्योरन्सको ३८ करोडको शेयर किनबेच भएको छ।
आज १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.०१ प्रतिशत बढेको छ। अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत घटेको छ। त्यस्तै लघुवित्त र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
प्रतिक्रिया