शनिबार, ८ वैशाख २०८१

सातै प्रदेशमा रिजनल हब बनाउँदै छौं : मेगा बैकका अध्यक्ष भोजबहादुर शाहको अन्तर्वार्ता

समयपोष्ट २०७३ साउन २४ गते ७:१९

लामो समय शिक्षा क्षेत्रमा रहेका भोजबहादुर शाह अहिले मेगा बैंक नेपालको अध्यक्ष छन् । मेगा बैंक स्थापनाकालदेखि नै बैंकको सञ्चालक समितिमा रहेका उनी बैंकको अध्यक्ष भएपछि आफ्नो पहिलो प्राथमिकता टिम बिल्डिङ रहेको बताउँछन् । प्याब्सनको अध्यक्ष हुँदा शैक्षिक क्षेत्रको विकासका लागि वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने देखेर बैंकिङ क्षेत्रमा लगानी गरेको उनी बताउँछन् । अध्यक्ष शाहसँग समयबोधले गरेको कुराकानी :

Advertisement

तपाईं लामो समय शिक्षा क्षेत्रमा काम गरेको व्यक्ति हुनुहुन्छ । अहिले मेगा बैंकको अध्यक्ष बन्नुभएको छ । शिक्षा क्षेत्रबाट यता आउँदाको अनुभूति बताइदिनुहोस् न ?
म निजी शैक्षिक क्षेत्रमा लामो समयसम्म रहें । प्याब्सनको केन्द्रीय अध्यक्ष, प्रमुख सल्लाहकार हुँदैं लामो समयसम्म शिक्षा क्षेत्रमा काम गरें । प्याब्सनको अध्यक्ष हुने बेला मैले के अनुभूति गरें भने विद्यालयको भौतिक, शैक्षिक विकासका लागि वित्तीय संस्थाको भूमिका महत्वपूर्ण हुने रहेछ भन्ने कुरा । शैक्षिक क्षेत्रको रूपान्तरणका लागि अधिकारको मात्र कुरा गरेर नहुने अनुभूति भएपछि वित्तीय संस्था खोल्नुपर्ने आवश्यकता बोध भयो । त्यसका आधारमा सानो र मझौलाखाले लगानीलाई समायोजन गरेर मेगा बैंक सञ्चालनमा आयो । चुक्ता पुँजीको दृष्टिकोणले सबैभन्दा ठूलो बैंक र प्रमोटरको दृष्टिकोणले सबैभन्दा धेरै प्रमोटर भएको बैंक हामीले स्थापना गर्न सफल भयौं । मूलतः समुदायलाई परिचालन सशक्तीकरण गरेर अगाडि बढ्नुपर्छ भन्ने सोचले यो बैंक स्थापना भयो ।
बहुजन हितायको कन्सेप्टबाट अगाडि जाँदा सफलता हासिल गर्न सकिन्छ । बैंकिङ क्षेत्रमा तत्कालीन अवस्थामा झन्डै ६०÷७० प्रतिशत जनसमुदाय बैंकिङ क्षेत्रको कभरेजभन्दा बाहिर रहेको अवस्थामा हामीले झन्डै ५० देखि ६० जिल्लालाई सम्बोधन गर्न सक्यौं । एक हजार २१९ जना प्रमोटरलाई यो घेराभित्र ल्याउन सक्यौं । एसएमई बैंकिङ, माइक्रो बैंकिङ क्षेत्रको विकास गर्नलाई टेवा पु¥याउन सक्यौँ जस्तो मलाई लाग्छ । शैक्षिक क्षेत्रबाट बैंकिङ क्षेत्रमा आउँदा फरक अनुभूति भइहाल्छ । शिक्षा क्षेत्रलाई बैंकिङसँग नाता जोड्न सकियोजस्तो लाग्छ ।
यो बैंकमा तपाईंका प्राथमिकता के–के हुन् ?
भूकम्पबाट मुलुकले झन्डै ६ देखि ७ खर्ब क्षति बेहोर्नुपर्यो । भौतिक तथा शैक्षिक संरचना, उद्योग, कलकारखानालगायतलाई ठूलो प्रभाव पार्यो। त्यसपछि इन्धन संकटको अवस्था आयो, यसले पनि समग्र क्षेत्रलाई असर पारेको हुनाले हामीले सोचेअनुसारको प्रगति बैंकिङ क्षेत्रले गर्न सकेन । उद्यमशील मानिसमा लगानीप्रतिको जागरुकता, चासो हुनुपर्ने थियो । त्यसमा मन्दी आएको आयो । जसले गर्दा आर्थिक तरलता बढ्न गएको छ । निक्षेपको ब्याजदर घटेको सर्वविदितै छ । यस्तो जटिल परिस्थितिमा हामीले यस बैंकको सञ्चालक समितिले यो कार्यकालका लागि नेतृत्व गर्ने अवसर मलाई प्रदान गरेको छ । म अध्यक्ष भएर आइसकेपछि मेरो पहिलो प्राथमिकता टिम बिल्डिङ नै हो । व्यवस्थापन र सञ्चालक समितिबीचमा पूर्ण समझदारी कायम गरेर बैंकको हित, लगानीकर्ताको हित र राष्ट्रले जुन अप्ठ्यारो भोगेको अवस्था छ, त्यसमा थोरै भए पनि बैंकको तर्फबाट योगदान दिन सक्ने बनाउनु हो । बैंकले जुन लक्षित लाभको ब्रोडकास्टिङ गरेको थियो, त्यसको प्राप्तिलाई कसरी सहज रूपमा गर्न सकिन्छ र जोखिम व्यवस्थापन गर्दै केन्द्रीय नियमनकारी निकाय राष्ट्र बैंकको निर्देशनलाई सहजीकरण गर्दै हामी अगाडि बढिरहेका छौं। विगतको जस्तो सहज आर्थिक अवस्था नहुँदा नहँुदै पनि मेगा बैंक आफ्नो लक्ष्य, उद्देश्य प्राप्तिको दिशामा अग्रसर छ ।
मेगा बैंकका लगानीका प्राथमिकताका क्षेत्र कुन–कुन हुन् ?
मेगा बैंक परम्परागत बैंकभन्दा पनि फरक ढंगले उपभोक्तासमक्ष जान खोजिरहेका छौं। हामीले देशका ५२ आउटलेटबाट साना तथा मझौला कृषकबीचमा समूह निर्माण गरेर गइरहेका छौं। न्यूनतम ६ हजार देखि एक लाखसम्म ऋण प्रवाह गर्ने गरेका छौं । हामीले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकताको क्षेत्रमा पारेका छौं। त्यहाँ कन्जुमर लोन, एसएम लोन, सामाजिक उत्तरदायित्वअन्र्तगतको लोन, छात्रवृत्ति, खेलकुद र सामाजिक क्षेत्रलाई पनि सहयोग गर्दै आइरहेका छौं। हाइड्रो, पर्यटन व्यवसाय, कृषि आदिलाई हामीले प्राथमिकतामै राखेका छौं। हाम्रो नारा नै हलोदेखि हाइड्रोसम्म राखेर समग्रमा मेगा बैंक सामुदायिक बैंकका रूपमा अगाडि बढ्न खोजेको छ । यस बैंकले दिएको सेवा सुविधा कहीं कतै भएन भने हामीले सुझाव पेटिका पनि राखेका छौं, त्यही सुझावमार्फत अगाडि जान खोजिराखेका छौं। मेगा बैंक खाँचोको साँचोका रूपमा अगाडि बढ्छ । यो बैंकलाई उपभोक्ताले जुन माया र विश्वास दिनुभएको छ, त्यो विश्वास अझ हामी बढाएर लैजान्छौं ।
मेगा बैंक आउँदा हलोदेखि हाइड्रोसम्म भन्ने जुन नारामा आएको थियो तर अहिलेसम्म पनि देखिनेगरी कृषि र जलविद्युत्मा लगानी भएको त देखिँदैन ?
हाम्रो देखिनेखालको लगानी कृषिमा छैन भन्ने होइन । ३० शाखा र ५२ शाखारहित बैंकिङमार्फत हामी गएका छौं । राष्ट्र बैंकले न्यूनतम कृषि क्षेत्रमा ५ प्रतिशत लगानी गर्ने भन्ने सीमा तोकेको छ । हामी त्योभन्दा माथि रहेका छौं। हाइड्रोमा सुरु–सुरुमा लगानीको दृष्टिकोणले कतिसम्म जाने भन्ने लिमिट हुन्छ । चुक्ता पुँजी बढी हुने बैंकको लगानीको क्षमता बढी हुन्छ जो पहिले नै ५÷६ अर्बमा पुगेका छन्, उनीहरूको लगानी क्षमता बढी हुन्छ । हामी आफ्नो क्षमताअनुसार अगाडि बढिरहेका छौं र निकट भविष्यमा जलविद्युत् क्षेत्रमा समेत लिड बैंकका रूपमा अगाडि जान्छौं । मर्ज र हकप्रद सेयर जारी गरिसकेपछि हाम्रो क्षमता बढेर जान्छ ।
राष्ट्र बैंकले पुँजी वृद्धि गर्न दिएको निर्देशनअनुसार मेगा बैंकले कसरी पुँजी वृद्धि गर्दै छ ?
राष्ट्र बैंकले दिएको यो निर्देशनलाई मैले नकारात्मक रूपले लिएको छैन । यसबाट बैंकको फाइनान्सियल क्यापासिटी मजबुत हुन्छ । पुँजी वृद्धिले ठुल्ठूला परियोजनामा पनि लगानी गर्न बैंक सक्षम हुन्छ र योसँगै जोखिम व्यवस्थापन पनि न्यूनीकरण हुन्छ । अहिले इन्धन संकट मुलुकमा देखापर्यो, त्यसबाट नेपाल र नेपालीले पाठ सिकेको अवस्था छ । अब हामी ऊर्जा क्षेत्रमा जानैपर्ने भएको छ । ऊर्जा क्षेत्रमा जाँदा सानो पुँजीले भेट्दैन । आठ अर्ब पुग्दा लगानीको क्षमता अवश्य बढछ, यो सकारात्मक छ । जहाँसम्म मर्जको प्रसंग छ, जबर्जस्ती मर्जमा जानुहुँदैन र फाइनान्सियल अवस्था राम्रो भएको, सञ्चालन विधि, कार्यशैली मिल्ने, क्यापिटलको डिस्ट्रिव्युसनमा एकरूपता भएका, प्रमोटर र सञ्चालक समितिको दृष्टिकोण र व्यवहारका कुरामा सामिप्यता भएका संस्थाबीचमा एकीकरणको कुरा हुन सक्छ । मिलेका संस्थालाई मिल्न आकर्षित गर्नका लागि केही सहुलियत घोषणा राष्ट्र बैंकले गर्नुपर्ने थियो । जस्तो पहिले मर्जपछि मुनाफा ट्याक्समा सहुलियत दिनेजस्ता कुरा आएका थिए । तर, पछि पारदर्शी ढंगले राष्ट्र बैंकको सर्कुलरमा आएन । त्यसैले सहजीकरणका लागि राष्ट्र बैंकले फ्यासिलिटेड गर्ने काममा थप सोच्नुपर्छ । मर्जमा जान प्रेरित गर्ने, सहुलियत दिने कुरा लिएर आयो भने नीतिका साथसाथै त्यसतर्फ अग्रसर हुनका लागि स्नेहभाव पनि देखिन्थ्यो ।
मेगा बैंकले पुँजी वृद्धिको योजना राष्ट्र बैंकमा पेस गरिसकेको छ । त्यसअन्तर्गत पश्चिमाञ्चल विकास बैंकसँग वैशाख २ गते संयुक्त कारोबार गर्ने गरी मर्जको अन्तिम तयारी भइरहेको छ । यो अलिकति ढिलै भएको छ तर यसबाट शिक्षा प्राप्त भएको छ । आगामी दिनमा अन्य संस्थासँग मर्ज गर्नुपर्यो भने हामीलाई राम्रो अनुभव प्राप्त भएको छ । अर्को २५ प्रतिशत सेयर जारी गर्ने भन्ने पनि योजना छ । त्यसपछि पुनः हामी विकास बैंक अथवा कमर्सियल बैंकसँग मर्जको कुराकानी बढाउने सोचमा छौं । मेगा बैंकको सातवटै प्रदेशमा रिजनल हब बनाऊँ भन्ने दृष्टिकोणले रिजनल बैंकसंग मर्जको प्रक्रियालाई नीतिगत रूपमा अगाडि बढाएका छौं । हामीले २०७५ सालमा करिब आठ अर्ब १७ करोडको पुजी वृद्धि योजना बनाएका छौं ।
bhojbadhur 2

भूकम्प र तराई आन्दोलनले गर्दा बैंकहरू अत्यधिक तरलता भएको छ । सरकारले के गरिदियो भने तरलता कम होला ?
विकास बजेट खर्च हुन सकेको छैन, पुनःनिर्माण प्राधिकरण गठन भएको छ । यो गतिशील भएर द्रुत गतिमा गयो भने विकास बजेट खर्च हुन्छ । विकास बजेट खर्च भएपछि जनताको हातमा पैसा आउँछ । क्रयशक्ति बढ्छ । क्रय शक्ति बढ्नेक्रममा उद्योग व्यवसायमा गतिशिलता आउँछ । त्यसले सम्भावनाका ढोका पनि खोल्छन् । मान्छेलाई लगानीप्रति भरोसा पनि बढ्न थाल्छ । त्यसका लागि आर्थिक क्रियाकलाप सामान्य रूपमा आउनुपर्छ । राष्ट्र बैंकको सहजीकरण पनि त्यति नै हुन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री