शुक्रबार, १६ चैत २०८०

पहिराले दुई पटक थुनियो भुजीखोला : तटीय क्षेत्रका बस्ती जोखिममा

समयपोष्ट २०७९ साउन २५ गते २०:१५

Advertisement

गएराति गएको भीषण पहिराका कारण बागलुङको बडीगाड र भुजीखोलाको तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् ।

ढोरपाटन नगरपालिका–५ बुढाथोकमा गएराति ८ः३० बजे भीषण पहिरोले भुजीखोला थुनिएको थियो । थुनिएको खोला एक घण्टापछि आफैँ खुलेको थियो ।

आज बिहान १२ बजे पनि पहिरोले खोला पुनः करिब आधा घण्टा थुनिएको ढोरपाटन नगरपालिका–५ का वडाध्यक्ष दीपेन्द्र पुनमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर पहिरो खसिरहेको हुँदा तटीय क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको अध्यक्ष पुनले बताउनुभयो ।

अहिले पनि पहिरो निरन्तर झरिरहेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेका छन् भने स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ । पहिरोले भुजीखोला थुनिएपछि तटीय क्षेत्रका स्थानीयको भागदौड चलेको थियो । खोला थुनिए पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख राजेश शर्मा अधिकारीले जानकारी दिनुभयो ।

पहिरोसहित आएको बाढीले पचासौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको स्थानीयवासीको भनाइ छ । पहिरोका कारण राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन जोड्ने सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सडक खुलाउन तत्काल सम्भव नभएको वडाध्यक्ष पुनको भनाइ छ । सडक पूर्णरूपमा ठप्प भएपछि ढोरपाटनदेखि बागलुङ, पोखरा, काठमाडौँलगायतका स्थानमा जाने यात्रु घर फर्किन बाध्य भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री