शुक्रबार, ७ वैशाख २०८१

नेक्सजेन म्यानेजमेन्टले गर्यो जीवन बीमा सम्बन्धी सर्भे

समयपोष्ट २०७९ साउन २२ गते ९:२५

Advertisement

बैंक,बीमा कम्पनी, उद्योग,व्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लिले जीवन बीमा सम्बन्धी सर्भे सम्पन्न गरेको छ ।

कम्पनीले गत चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको जनाएको छ ।

सर्भेमा जीवन बीमा गरिसकेका ४९२ जना विमितसंग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि थिए ।

कम्पनीका अनुसार प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको थियो। पचास जना सहयोगी कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको पाइन्छ । बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको छ । कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको पुष्टि भएको छ ।

सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नु भएको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको, ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका छन ।

बीमा कसरी गर्नु भएको भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरि बुझाएपछि र ३ प्रतिशतले अरुले गरेको देखेर बीमा गरेको पाइएको छ। खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो भन्ने प्रश्नमा ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर, १८ प्रतिशतले अभिकर्ताले भने अनुसार र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका छन ।

त्यसैगरी बीमा गर्ने कम्पनी बारेको प्रश्नमा ७९ प्रतिशतले थाहा छ, २७ प्रतिशतले अलि अलि थाहा भएको र ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन । बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिव्याक, १२ प्रतिशतले आजिवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन । बीमा पोलिसी बिक्री पछि अभिकर्ता सम्पर्कमा रहे नरहेको बारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेला मात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी विक्रि पछि कुनै सम्पर्कमा नरहेको बताएका छन । त्यसै गरी बीमा विक्रि पछि कम्पनीले आवश्यक सुचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एस एम एस र फोन आउने गरेको, २८ प्रतिशतले एस एम एस मात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएका छन ।

बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको बताएका छन । सर्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनु पर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत (सवसिडी) दिनुपर्ने र १९ प्रतिशतले राम्रो प्रडक्ट र गुणस्तरीय सेवामा जोड दिनुपर्ने जानकारी दिएका छन।

समग्रमा जीवन बीमा क्षेत्रमा आवश्यकता भन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाको कारण केही विकृति आएको पाइएको कम्पनीले जनाएको छ । तर बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री