सोमबार, ३० साउन २०७९

भारत सरकारको सहयोगमा नुवाकोटमा निर्मित विद्यालय भवनको समुद्धघाटन

समयपोष्ट २०७९ साउन १७ गते १९:५२

Advertisement

भारत सरकारको सहयोगमा नुवाकोटस्थित विदुर नगरपालिकामा त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय भवन निर्माण गरिएको छ ।

नवनिर्मित भवनको मंगलबार भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन पश्चात जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरियो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा नेरु.२ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “[email protected] आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक हो ।

यस विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले विद्यालयको डिजाइन गरेका हुन् । विद्यालयमा १३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत छात्रा छन् । भारत सरकारको सहयोगमा भएको यस नयाँ संरचनाको निर्माणले विद्यार्थीहरुलाई राम्रो शैक्षिक वातावरण प्रदान गर्ने विश्वास लिएको छ । यो परियोजनाले भारत र नेपालबीच लामो समयदेखि रहीआएको सहकार्यलाई प्रतिबिम्बित गर्दछ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् ।

कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री