बिहीबार, १५ चैत २०८०

मुुसलमान समुदायकी यी चेली, जो बनिन् डाक्टर

समयपोष्ट २०७८ भदौ १५ गते १९:२९

Advertisement

अभिभावकले ध्यान दिएर हौसला दिए छोरीले पनि केही गर्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बनेकी छन् सप्तरीकी जेवा खातुन । सानै उमेरमा विवाह गरेर घरजम बसाउने मुस्लिम समुदायकी खातुन चिकित्सा क्षेत्रमा प्रवेश गर्नुभएको छ ।

पिछडिएको वर्गका रूपमा रहेको मुस्लिम समुदायका महिला अन्य महिलाभन्दा धेरै पछाडि छन् । अभिभावकले पढाइभन्दा सानै उमेरमा विवाह गरिदिने भएका कारण उनीहरु अगाडि बढ्न सक्दैनन् । तर अभिभावकले सहयोग गरेमा यो समुदायका महिलाले पनि केही गर्न सक्ने प्रमाण बन्नुभएको छ खातुन । उहाँले हालै एमबिबीएस उत्तीर्ण गर्नुभएको छ । जिल्लाको खड्क नगरपालिका–८ कल्याणपुर निवासी फिरोज खान र यास्मिन सुल्तानको पहिलो सन्तानका रूपमा जन्मिनुभएकी खातुनले ललितपुरको लगनखेलस्थित पाटन अस्पतालबाट एमबिबीएस उत्तीर्ण गर्नुभएको छ ।

एमबिबीएस उत्तीर्ण गर्नुको श्रेय भने उहाँ आफ्ना आमाबुबालाई दिनुहुन्छ । “शायद उहाँहरुले नपढाउनुभएको भए आज चिकित्सक बन्ने थिइनँ”, उहाँ भन्नुहुन्छ, “बल्ल मेरो सपना पूरा भएको छ ।” आफूलाई चिकित्सक बन्न सानैदेखि इच्छा रहेको र त्यो पूरा भएपछि साह्रै खुसी लागेको खातुन बताउनुहुन्छ । नर्सरी कक्षामै पढ्दाखेरी सेतो कोट लगाउने को हुन् भन्ने जिज्ञासा राख्दा अभिभावकले डाक्टर भएको र उसैले बिरामीको उपचार गर्छन् भन्ने कुरा आफ्नो दिमागमा खेलिरहेको उहाँ बताउनुहुन्छ । त्यो कुरा दिमागमा बसिरह्यो र डाक्टर बन्ने सपनाका साथ पढाइलाई निरन्तर अगाडि बढाउँदै लग्नुभयो खातुनले ।

उहाँले विसं २०६९ मा गौरी सेकेण्डरी स्कुल जनकपुरबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभयो भने विराटनगरबाट उच्च मावि उत्तीर्ण भएलगत्तै उहाँले मेडिकल प्रवेश परीक्षाका लागि तयारी थाल्नुभयो । परीक्षा त दिनुभयो तर पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सक्नुभएन । उहाँ भन्नुहुन्छ, “तैपनि आमाबुवाले पूरै रकम तिरेर मलाई पढाउनुभयो ।”

एमबिबीएस उत्तीर्ण गरेपछि उहाँ अहिले पाटन अस्पतालमै इन्टर्नसिप गरिरहनुभएको छ । उहाँका बुबा कल्याणपुर बजारका व्यवसायी हुनुहुन्छ भने आमा खड्क नगरपालिकाका उपप्रमुख हुनुहुन्छ । आमाबुवाले सधैँं आफूलाई प्रोत्साहन दिँदै सहयोग गर्दै आउनुभएकै कारण आज आफूले एमबिबीएस उत्तीर्ण गरेको उहाँ बताउनुहुन्छ ।

इन्टर्नसिप सकाएपछि पहिलो सेवा जिल्लामै दिने उहाँले सोच बनाउनुभएको छ । “जिल्लामै आएर स्वास्थ्य सेवा दिने र छोरीलाई पनि पढाउनुपर्ने चेतना जगाउने काम गर्छु”, उहाँले भन्नुभयो । एमबिबीएस उत्तीर्ण गरेर काम गर्दै एमडीसम्म पढ्ने लक्ष्य उहाँले राख्नुभएको छ ।

छोरी पनि कुनै कुरामा कमजोर हुँदैनन् भन्दै उहाँ हरेक छोरीलाई पढाउनुपर्ने बताउनुहुन्छ । “हरेक छोरीमा कुनै न कुनै गुण हुन्छ, प्रतिभा हुन्छ”, उहाँ भन्नुहुन्छ, “तर सानै उमेरमा विवाह गरिदिएपछि ती प्रतिभा प्रष्टफुटित हुन पाउँदैन । उनीहरुको सपना तुहिन्छ ।” प्रत्येक अभिभावकले आफ्नो छोरीलाई शिक्षा दिए देश परिवर्तन हुन समय नलाग्ने र महिला पनि जागरुक बन्दै जाने उहाँको विश्वास छ ।

जेवाका आमाबुवाले आफ्ना सबै सन्तानलाई पढाइरहनुभएको छ । जेवाकी माहिली बहिनीले पनि मेडिकलकै तयारी गरिरहनुभएको छ । तीन दिदीबहिनी र दुई दाजुभाइको परिवारमा सबै पढिरहेको उहाँ बताउनुहुन्छ । “म चाहन्छु हरेक अभिभावकले आफ्ना छोरीलाई पढाउन् र विश्वास गरुन्” उहाँ भन्नुहुन्छ, “आज मेरो अभिभावकले ममाथि विश्वास नगरेको भए म अगाडि नै बढ्ने थिइनँ, मधेशभित्रको मुस्लिम महिलाको अवस्था त अझै कमजोर छ । विद्यालय जान नपाइने, घरधन्दामै व्यस्त रहनुपर्ने, बाहिर निस्किँदा बुर्का लगाउनुपर्ने क्रम केही घटे पनि मधेसमा तुलनात्मकरूपमा मुस्लिम महिला सामाजिकरूपमा पछाडि नै छन् । अरुले पनि यो कुरा बुझ्नुपर्छ र, छोरीलाई पढाउनुपर्छ ।”

मुस्लिम समुदायबाट जेवाले एमबिबीएस उत्तीर्ण गरेपछि उहाँका छरछिमेक पनि खुशी छन् । छिमेकी अनवर अलीले यो सफलता उहाँको मात्र नभई मुस्लिम समुदायकै पनि भएको बताउनुहुन्छ । “जेवाजस्तै सबै महिलाले मेहनत गर्नुपर्छ र अभिभावकले पनि त्यसमा साथ दिनुपर्छ”, उहाँ भन्नुहुन्छ, “यसो गर्न सकिए समाज चाँडो परिवर्तन हुन्छ ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री