बिहीबार, १३ वैशाख २०८१

ओलीकालमा यसरी अस्तव्यस्त भयो अङ्ग प्रत्यारोपण क्षेत्र

समयपोष्ट २०७८ साउन १९ गते १३:४४

Advertisement

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा मृगौला प्रत्यारोपण क्षेत्र अस्तव्यस्त भएको छ । आफैं दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको राजनीतिक पूर्वाग्रहका कारण मृगौला क्षेत्र नै अस्तव्यस्त भएको हो । सरकारीस्तरमा स्थापना भएको मानव अङ्ग प्रत्यारोपण केन्द्रका डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टिमले प्रत्यारोपण तथा अङ्गदानको क्षेत्रमा सस्तो, सजिलो र अन्तराष्ट्रियस्तरको सेवा दिइरहँदा त्यसलाई काम नै गर्न नसक्ने अवस्थामा पु¥याइदिएका छन् । केन्द्रको विधान र गठन प्रक्रियालाई नै परिवर्तन गरेर स्वास्थ्य मन्त्रालयका विशेषज्ञ चिकित्सकहरुले सेवा गर्न पाउने व्यवस्था नै तोडमोड गरेर त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरु लैजाने व्यवस्था बनाएपछि अङ्ग प्रत्यारोपण क्षेत्र अहिले अस्तव्यस्त अवस्थामा पुगेको छ ।

व्यवस्था नै परिवर्तन गरेर अङ्ग प्रत्यारोपण समन्वय समितिमा पूर्वप्रधानमन्त्री ओलीले आफ्नी निजी चिकित्सक दिव्यासिंह शाहलाई अध्यक्ष बनाएपछि केन्द्र काम नै गर्न नसक्ने अवस्थामा पुग्यो । दिव्यासिंहकै योजनामा डा. प्रेमराज ज्ञवालीलाई अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशक बनाइएको थियो । टिचिङ अस्पतालका ट्रान्सप्लान्ट सर्जन डा. ज्ञवाली देशकै महँगो अस्पताल ग्रान्डी अस्पतालका प्रमुख शेयरहोल्डर हुन् । कार्यकारी निर्देशक श्रेष्ठलाई हटाएर उनको स्थानमा स्वास्थ्य सेवाभन्दा बाहिरबाट निजी अस्पतालका शेयरहोल्डरलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । निवर्तमान कार्यकारी निर्देशक श्रेष्ठको पदावधि २०७३ सालमै सकिएको थियो । तर, केही समय कामचलाउ निर्देशकको जिम्मेवारी दिइए पनि उनले अर्को ४ वर्षजति काम गरे र अस्पताललाई सफल बनाएका थिए । डा. पुकारलाई अहिले वीर अस्पतालमा कामविहीन अवस्थामा पुुर्याइएको छ ।

भद्रगोल केन्द्र


डा. पुकारचन्द्र नेतृत्वको टिमले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा अङ्ग प्रत्यारोपण र अङ्गदानलाई एउटा अभियानको रुपमा सुरु गरेको थियो । प्रत्यारोपणलाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले सातैवटा प्रदेशमा केन्द्र विस्तार गर्ने योजना बनाईएको थियो । तत्कालीन स्वास्थमन्त्री गगन थापाले त निःशुल्क प्रत्यारोपण सेवा नै ल्याएका थिए । विगत दुई वर्षअगाडिसम्म सो केन्द्रले वार्षिक ९९ प्रतिशत सफलताका साथ झण्डै दुई सय जनाको मृगौला प्रत्यारोपण गथ्र्यो । पछिल्लो ४७० मृगौला प्रत्यारोपण शतप्रतिशत सफलताका साथ भएको थियो । तर, अहिले कोरोनाको बहानामा २५ प्रतिशत पनि काम भएको छैन । जति काम भएको छ, त्यसमा दुईको मृत्यु पनि भएको छ भने ४ जनाको प्रत्यारोपण असफल पनि भएको छ । कुनै पनि बिरामी प्रत्यारोपणपश्चात् सहजरुपमा डिस्चार्ज भएका छैनन् । केही न केही समस्या सबैमा देखिएको अस्पताल स्रोतले जनाएको छ । डा. ज्ञवाली नै दुई–तीन घण्टा कार्यालय बस्ने, प्रत्येक बुधबार बिदा लिने अनि प्राइभेटमा गएर काम गर्ने हुँदा त्यहाँ काम गर्ने कर्मचारी पनि हाकिम हिँडेपछि हिँड्ने, काम नगर्ने गरेको सेवाग्राहीहरु बताउँछन् । पहिले त्यहाँ ११ दिनभन्दा बढी बिदा हुँदैनथ्यो । अहिले सार्वजनिक बिदामात्रै ५० दिनभन्दा बढी हुने गरेको छ । नियमन गर्ने व्यक्ति नभएपछि कर्मचारीले पनि आफूलाई जे मन लाग्यो, त्यही गर्ने भएका छन् । यसले संस्थाको सेवाको गुणस्तर प्रभावित भएको छ ।

‘एउटा राम्रोसँग चलेको संस्थामाथि राजनीतिक प्रहार भयो, त्यसले सबै संरचना भत्काइदियो । अतिवादी, गुटबन्दीको नमुनाको रुपमा आफ्ना गुटका मानिसहरुलाई त्यहाँ पठाइयो । त्यहाँभित्रका स्थायी कर्मचारीहरुमा नै गुटबन्दी गर्ने वातावरण सिर्जना गरियो,’ केन्द्रमा कार्यरत एक चिकित्सकले भने, ‘समग्रमा मन्त्रालयको क्षेत्राधिकारमा अरुबाट हस्तक्षेप गर्ने÷गराउने, त्यहाँभित्र छिरिसकेपछि त्यहाँको काम–कारवाही खस्काउने, गुटबन्दी गरेर राम्रो गर्ने जनशक्तिको मनोबल खस्काउने र अक्षम मानिसहरुलाई प्रोत्साहन गर्ने काम भयो । यहाँ बीस–पच्चीस प्रतिशतमात्रै काम भएको छ र भएकोमा पनि अधिकांशमा समस्या आएको छ ।’

प्लाष्टिक सर्जकलाई मस्तिष्क मृत्युको संयोजक

मस्तिष्क मृत्युबाट हुने अङ्गदान र प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय केन्द्रमा मस्तिष्क मृत्युसम्बन्धी समन्वय इकाइ छ । त्यसले समन्वय गरेर पहिलेको व्यवस्थापनमा ६ जनाको मस्तिष्कमृत्युसम्बन्धी काम भएको छ । त्यस्तै, ६ जनाको मृगौला प्रत्यारोपण भएको छ भने एक जनाको कलेजो प्रत्यारोपण भएको छ । कलेजो प्रत्यारोपणको सुरुवात् त्यहीँबाटै भएको हो । मस्तिष्क मृत्यु सम्बन्धी नेतृृत्वदायी भूमिका खेलेको ऐनमै व्यवस्था भएको कुरालाई पनि नजरअन्दाज गरेर टिचिङ अस्पतालका प्लाष्टिक सर्जन ईश्वर लोहनीलाई मस्तिष्क मृत्युसम्बन्धी संयोजक बनाएपछि अहिले एक जनाको पनि मस्तिष्क मृत्युसम्बन्धी प्रत्यारोपणको काम भएको छैन ।

‘मस्तिष्कमृत्युमा नेपालको जुन सम्भावना छ । विदेशी मुलुकमा ८० प्रतिशत प्रत्यारोपण मस्तिष्कमृत्यु भएको व्यक्तिबाट भएको अङ्गदानबाट गरिन्छ । नेपालमा मस्तिष्कमृत्यु त्योभन्दा बढी हुन्छ । विशेषगरी सडक दुर्घटनाबाट मस्तिष्कमृत्यु हुन्छ । एक हजारभन्दा बढीको त काठमाडौँमै मस्तिष्कमृत्यु हुँदो रहेछ । एक जना मस्तिष्कमृत्यु भएको मानिसबाट आठवटा अङ्ग प्राप्त हुन्छ,’ प्रत्यारोपणविद् डा. पुकारचन्द्र श्रेष्ठ भन्छन्, ‘दुईवटा मृगौला, दुईवटा फोक्सो, एउटा मुटु, एउटा कलेजो, एउटा प्यानक्रियाज, सानो आन्द्रा । नेपालमा मृगौला, कलेजो प्रत्यारोपण मस्तिष्कमृत्यु भएकाबाट गर्न सक्यौं भने कुनै पनि स्वस्थ व्यक्तिले आफ्ना नजिकका नातेदारलाई अङ्ग दिनु पर्दैन । प्राकृतिकरुपमा भवितव्य परेर जुन अङ्ग प्राप्त हुन्छ, त्यसैबाट पुग्न सक्छ ।’

नेपालमा प्रत्येक वर्ष तीन हजारको हाराहारीमा मृगौला फेल हुने गरेको तथ्याङ्क छ । उनीहरुलाई मृगौला चाहिन्छ । मस्तिष्कमृत्यु भएका एक हजार व्यक्तिबाट दुई हजार मृगौला प्राप्त हुन्छ । मानव अङ्ग प्रत्यारोपण केन्द्रमा पहिले मस्तिष्कमृत्युबाट मृगौला आयो भने सबैभन्दा बढी वेटिङमा जो बसेको छ, उसले पाउँथ्यो र प्राविधिक म्याचिङ सबैभन्दा बढी भएकोमा सफल पनि हुन्थ्यो । नेपालमा स्वस्थ व्यक्तिले अङ्गदान गर्दा सबैभन्दा बढी अङ्गदाता महिला छन् । ‘हामीले यसको उचित सम्बोधन हुनुपर्छ भनेर मस्तिष्कमृत्युबाट आएको मृगौला महिलाले बढी पाउनसक्ने गरी स्कोरिङ सिष्टम बनाएका थियौं । महिलाले तीन नम्बर पाउँथ्यो भने पुरुषले एक नम्बर पाउँथ्यो ।’ डा. पुकारचन्द्र भन्छन् । तर, अहिले स्कोरिङ सिष्टम नै तोडमोड गरिएको छ । अङ्गदान र प्रत्यारोपणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु शुन्य छ ।

सरकारीमा जागिर, काम निजीमा

डा. प्रेमराज ज्ञवाली

केन्द्रका कार्यकारी निर्देशक ज्ञवाली नियुक्ति भएदेखि नै गम्भीर प्रश्न थियो– ज्ञवालीको अस्पतालमा बस्ने समय । बिहान केही ढिला पुग्ने र दिउँसो २ बजे आसपासमै अस्पतालबाट निस्कने गरेको आरोप थियो । त्यसरी समयको चापमा निस्कने ज्ञवाली निजी अस्पताल ग्राण्डीमा काम गर्न पुग्छन् । हरेक सोमबारदेखि शुक्रबारसम्म साँझ ५ बजेबाट ग्राण्डीमा भेटिने डा. ज्ञवालीले प्रत्यारोपण केन्द्रमा समय नै नदिने समस्याले पनि बिरामी बढ्ता मर्कामा परेका हुन् । अस्पताल स्रोतका अनुसार, ज्ञवाली निजी अस्पतालमा काम गर्ने भएकै कारण प्रत्यारोपण केन्द्रमा नियमित उपचारमा रहेका बिरामीको प्रत्यारोपणमा ढिला हुने र प्रत्यारोपण गरेका बिरामीसँगको नियमित संवाद् हुँदैन, जसले उपचारमा जटिलता थपेको छ ।

प्रत्यारोपण केन्द्रमा अहिले समस्या देखिनुको कारण ज्ञवालीले केन्द्रमा पर्याप्त समय नदिनु नै हो । केन्द्रमा ज्ञवालीले पूरा समय नदिने र व्यवस्थापनप्रति पुग्ने ध्यान कमजोर भएका कारण अस्पतालको व्यवस्थापन फितलो र भद्रगोल भइरहेको छ । अहिले प्रत्यारोपणमा देखिएका समस्या र ती घटना बाहिरिनुका कारण पनि त्यही व्यवस्थापनको कमजोरीका कारण हो ।
सरकारी अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त भएपछि सामान्यतः निजी अस्पतालमा काम गर्न पाइँदैन तर ज्ञवाली ग्राण्डी अस्पतालमा नियमित काममात्र गर्दैनन्, उक्त अस्पतालको युरोलोजी विभाग प्रमुखमा पनि छन् । यो विषयमा अहिलेसम्म स्वास्थ्यमन्त्रालयले ज्ञवालीसँग सोधखोजसमेत गरेको छैन ।

ग्राण्डीको कब्जा

सरकारी अस्पतालको प्रमुख निजी अस्पतालमा काम गर्न नपाउने व्यवस्था विपरीत मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी प्रमुख डा. ज्ञवालीदेखि टिचिङ अस्पतालकी डिन डा. दिव्या सिंह शाहसम्म ग्राण्डीमा कार्यरत छन् । ग्राण्डीको ट्रान्सप्लान्ट कमिटीमा डा. प्रेमराज ज्ञवाली, डा. दिव्या सिंह शाह, डा. उपेन्द्र जोशी, डा. पवनराज चालिसे, डा. भोजराज लुइँटेल र डा. सुरेन्द्र विक्रम अधिकारीको टिम छ । चारैतिरबाट सरकारी अस्पतालमा आउने बिरामीलाई घुमाउरो पाराले ग्राण्डीमा रेफर गर्ने गरिएको टिचिङ अस्पताल स्रोतको दाबी छ । ‘ओलीकालमा डा. दिव्या र डा. ज्ञवालीको योजनामा सुनियोजित रुपमा निजी अस्पताल पोस्ने काम भएको छ ।’ शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन्, ‘ओली युगको अन्त्यसँगै अब डा. दिव्याको हालीमुहाली पनि सकिएको छ ।’

लाइसेन्समा पनि विभेद

ओली सरकार रहे सम्म अङ्ग प्रत्यारोपण केन्द्रमा पाँच ६ वर्ष काम गरेका विशेषज्ञ शल्यचिकित्सकहरुलाई प्रत्यारोपणको लाइसेन्स दिइएन तर, कसैलाइ ६ महिना भौतिक उपस्थिति पनि नभई हाजिर भएको भरमा प्रत्यारोपणमा इजाजत दिइएको छ । प्रत्यारोपणको इजाजतमा यसरी पूर्वाग्रही हिसाबले कार्य कुशलता, योग्यता, क्षमतालाई मूल्याङ्कन नगरी लाइसेन्स दिने काम भएको छ । चिकित्सकलाई मात्र होइन, अस्पताललाई पनि लाइसेन्स दिनेमा पूर्वाग्रह राखिएको देखिन्छ । निदानलाई ट्रान्सप्लान्टको लाइसेन्स पाउन सरकार परिबतन हुनु परयो । जबकि निदानमा सक्षम डाक्टर छन् । तर, अहिलेसम्म लाइसेन्स दिइएको थिएन ।

यसरी जन्मिएको थियो मानव अङ्ग प्रत्यारोपण केन्द्र

 

२०६५ सालसम्म नेपालमा मृगौला प्रत्यारोपणको अवस्था दयनीय नै थियो । त्यसभन्दा अगाडि २०६१ सालदेखि वीर अस्पतालमा मृगौला प्रत्यारोपणको काम सुरु भएको भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । त्यसो त २०५५ सालमै एभरेष्ट नर्सिङ होममा मृगौला प्रत्यारोपणको काम सुरु भएको थियो । भारतीय चिकित्सक ल्याएर मृगौला प्रत्यारोपण सुरु गरिएको भए पनि त्यो त्यति प्रभावकारी थिएन ।

तर, सन् २००८ अगष्टमा तत्कालीन औषधी व्यवस्था विभागका पदाधिकारी नवीन श्रेष्ठको नेतृत्वमा अष्ट्रेलियाबाट ट्रान्सप्लान्ट सर्जन ल्याएर त्रि.वि. शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणको नयाँ युग सुरु गरिएको थियो । वीर अस्पतालमा डिसेम्बर २००८ बाट विधिवतरुपमा प्रत्यारोपण सुरु भएसँगै मानव अङ्ग प्रत्यारोपणमा नयाँ युगको सुरुवात भयो । वीर अस्पतालका सर्जन डाक्टर पुकारचन्द्र श्रेष्ठ बेलायतमा गएर ६ वर्ष मानव अङ्ग प्रत्यारोपणसम्बन्धी अध्ययन र प्राक्टिस गरी नेपाल फर्किएपछि सरकारी अस्पतालमै प्रत्यारोपणले गति लिएको थियो । सन् २००८ डिसेम्बरबाट सुरु भएको प्रत्यारोपणको काम सन् २०१२ मा आइपुग्दा जम्मा ९९ वटामात्रै गर्न सकिएको थियो । यद्यपि, ९९ प्रतिशत प्रत्यारोपण सफल भएको थियो ।
जतिबेला वीर अस्पतालमा पुकारको टिमले काम गरिरहेको थियो, त्यतिबेला वीर अस्पतालका नि. निर्देशक थिए डाक्टर प्रविण मिश्र । वीर अस्पतालमा राम्रो ट्रान्सप्लान्ट युनिटसम्म नभएको देखेका मिश्र जब स्वास्थ्य मन्त्रालयको सचिव भए, उनकै पहलमा भक्तपुरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना भयो । भक्तपुर अस्पतालमा गाइनो वार्ड सञ्चालनमा ल्याएको भवनमा गाइनो वार्ड नचलेपछि ४ वर्ष ताला लागेको भवनमा मानव अङ्ग प्रत्यारोपणको काम गर्ने तयारी भयो ।

त्यसका लागि स्वास्थ्य सचिवले विकास समिति बनाउन लगाए र त्यसै मातहत रहने गरी गठन आदेशबाट केन्द्रको स्थापना गराए । केन्द्रको स्थापना भएपछि २०६९ वैशाख १८ गते डाक्टर पुकारचन्द्र श्रेष्ठलाई कार्यकारी निर्देशक बनाएर मृगौला प्रत्यारोपणको काम सुरु भयो । ले डाक्टर कल्पना श्रेष्ठ, , वीरकै अर्का डाक्टर ब्रह्मदेव झा, डाक्टर राकेश वर्मा नर्सिङ स्टाफ इन्दिरा प्रधान लगायतको टोली लगेर केन्द्रलाई सञ्चालनमा ल्याए । र, एक सातामा ८ वटासम्म मृगौला प्रत्यारोपण गरी केन्द्रलाई सफलताको बाटोतर्फ डोहो¥याए । गत आर्थिक वर्षमा मात्रै केन्द्रले १ सय ८२ जनाको मृगौला प्रत्यारोपण गरेको थियो भने ७ वर्षको अवधिमा ६ सय ९५ वटा मानव अङ्ग प्रत्यारोपणको काम भएको थियो । डाक्टर पुकारबाट भएको पछिल्लो ४ सय ७५ प्रत्यारोपणमा शतप्रतिशत सफलताका साथ् सबै बिरामीहरु डिस्चार्ज भई नियमित दैनिकीमा फर्किसकेका छन् ।

डाक्टर श्रेष्ठको टोलीले मृगौलाबाहेक केन्द्रमा ५ जनाको कलेजो प्रत्यारोपण पनि गरिसकेको छ, जसमध्ये कलेजो दान गर्ने तथा लिने ४ जनामा सफलता मिलेको छ भने ब्रेन डेथ भएका एकजनाको कलेजो प्रत्यारोपण गर्दा एक जनाको मृत्यु भएको थियो । त्यस्तै, ब्रेन डेथ भएका ६ जनाको मृगौला निकाली प्रत्यारोपण गरिएको थियो, जो सबै अहिले आराम गरिरहेका छन् ।

विश्वभर नै मृगौला प्रत्यारोपणको सफलता दर करिब ९० प्रतिशत रहेको छ । छिमेकी देश भारतमा पनि मृगौला प्रत्यारोपणको सफलता दर करिब ९० प्रतिशत रहेको छ । तर, नेपालमा भने मृगौला प्रत्यारोपणको सफलता दर करिब ९९ प्रतिशत रहेको देखिन्छ ।

गठन आदेश नै संशोधन

मानव अङ्ग प्रत्यारोपण केन्द्र विकास समिति ऐनअन्तर्गत् गठन आदेशबाट सञ्चालित अस्पताल हो । मानव अङ्ग प्रत्यारोपण केन्द्रको गठन आदेश २०६८ सालमा बनेको भए तापनि २०६९ साल वैशाख ११ गते यो आदेश पास भएको थियो । त्यसलगत्तै विधिवतरुपमा सञ्चालित यो अस्पतालमा यतिबेला भने सरकारले कानुन नै मिचेर निजी अस्पतालका शेयरहोल्डरलाई नियुक्ति दिएको थियो । मानव अङ्ग प्रत्यारोपण विकास समिति (गठन) आदेश, २०६८ अनुसार यस केन्द्रमा कार्यकारी निर्देशक बन्नका लागि स्वास्थ्य सेवामा कार्यरत चिकित्सक हुनुपर्ने उल्लेख गरेको छ ।

गठन आदेशको दफा ६ मा कार्यकारीसम्बन्धी व्यवस्था गरिएको छ । यस दफाको उपदफा १ मा कार्यकारी निर्देशक प्रशासकीय प्रमुख बन्ने कुरा उल्लेख गरेको छ । यसैगरी, दफा ६ को उपदफा २ मा कार्यकारी निर्देशकको योग्यतासम्बन्धी कुरा उल्लेख गरिएको छ । उपदफा २ मा लेखिएको छ, ‘नेपाल सरकारले मानव अङ्ग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकहरुमध्येबाट कार्यकारी निर्देशकको नियुक्ति गर्नेछ ।’ यसको अर्थ मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशक बन्नका लागि स्वास्थ्य सेवाकै डाक्टर हुनुपर्ने बुझिन्छ । तर, सरकारले भने स्वास्थ्य सेवाभन्दा बाहिर अर्थात् शिक्षामन्त्रालय मातहत रहेको त्रि.वि. शिक्षण अस्पतालका डाक्टर प्रेमराज ज्ञवालीलाई केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको छ । यसअघि केन्द्रमा कार्यकारी निर्देशक रहेका डाक्टर पुकारचन्द्र श्रेष्ठलाई हटाएर उनको स्थानमा ज्ञवालीलाई नियुक्ति दिइएको छ । श्रेष्ठ स्वास्थ्य सेवाका ट्रान्सप्लान्ट सर्जन थिए । स्वास्थ्य सेवाभन्दा बाहिरबाट कार्यकारी निर्देशक नियुक्त गरेपछि सरकारी डाक्टरहरुको छाता संस्था गोदानले आपत्ति जनाएको थियो ।

कानुनमाथि ओली

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मृगौला प्रत्यारोपण अवैधानिक छ । उनले नक्कली भाञ्जी खडा गरेर मृगौला प्रत्यारोप गरेका हुन् । समीक्षा संग्रौला ओलीकी भाञ्जी नभएर उनका काकाकी छोराकी भाञ्जी हुन् । समीक्षाकी आमा मुना संग्रौला प्रधानमन्त्री ओलीकी आफ्नै बहिनी नभएर काकाकी छोरी हुन् । प्रधानमन्त्रीका काकाका छोरा हुन् तारा ओली । ताराकी श्रीमती अञ्जान घिमिरेले १२ वर्षअघि प्रधानमन्त्री ओलीलाई मृगौला दिएकी थिइन् । तारा र अञ्जानकी भाञ्जी हुन् समीक्षा । यसरी नाता लगाउँदा मृगौलादाता समीक्षा प्रधानमन्त्री ओलीकी भाञ्जी त पर्छिन् तर मानव अङ्ग प्रत्यारोपणले नातेदार भनेर गरेको परिभाषाभित्र पर्दिनन् । २०७२ फागुन १३ गते ऐनको पहिलो संशोधनमा अङ्गदान दिने व्यवस्था परिमार्जन तथा थप गरिएको छ, जसमा नजिकको नातेदारको दायरा बढाइयो । तर, सो दायरा पनि ओलीको हकमा सहयोगी देखिन्न । ऐनको दफा, उपदफाको व्याख्याका आधारमा भाञ्जी नाता पर्नेबाट मृगौला दान लिनु गैरकानुनी देखिन्छ । ऐनमा स्पष्ट किटानीसाथ भनिएको छ– ‘(ठ) ‘नजिकको नातेदार’ भन्नाले अङ्ग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबाबु, सानीआमा, भतिजा, भतिजी, सासु, ससूरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा, माइजू, भाञ्जा, भाञ्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठान सम्झनुपर्छ ।’तर, धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र–धर्मपुत्री राख्ने बाबुआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुटरुपमा नाता सम्बन्ध कायम रही आएको हुनु पर्नेछ ।

‘पद पैसा छ भन्दैमा उच्च ओहोदामा बसेकाले गैह्रकानुनी काम गर्न पाइँदैन । सबैले नियम–कानुनको पालना गर्नुपर्छ । कसैले यसमा छुट पाउनु हँुदैन । प्रधानमन्त्री कानुनभन्दा माथि छैनन्,’ अधिवक्ता बालकृष्ण न्यौपाने भन्छन्, ‘कानुन कार्यान्वयन गराउने मान्छेले नै कानुन मानेन भने अरुले किन कानुन मान्नु प¥यो ?’ उनले यस्ता केश देशभरका अरु अस्पतालमा पनि चलेका बताउँदै छुट पाउनुपर्ने भए सबैलाई छुट दिने, नभए ओलीलाई मात्र यस्तो छुट दिन नहुने बताउँछन् । (समयबोध म्यागेजिनको साउन अंकबाट)

प्रतिक्रिया

सम्बन्धित सामाग्री