शुक्रबार, १६ चैत २०८०

यस्तो आयो टेलिकमको चौथो त्रैमासको वित्तिय विवरण

समयपोष्ट २०७७ साउन ३० गते १३:१२

Advertisement

नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार कम्पनीले ८ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १२.३० प्रतिशत अर्थात एक अर्ब १९ करोड रुपैयाँ कम हो ।

अघिल्लो आर्थिक वर्षको यहि अवधीमा कम्पनीले ९ अर्ब ७५ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

कम्पनीले कोभिड १९ को बेलामा प्रयोगकर्ताहरुलाई निःशुल्क सुविधा दिएकोले बिक्री आम्दानी प्रभावित भइ नाफा घटेको हाे। कम्पनीले कोभिड १९ को महामारीको अवधिमा ५३ करोड ४० लाख बराबरको शत प्रतिशत बोनस प्रदान गरेको थियो। यस्तै, २२ करोड ८३ लाख बराबरको मोबाइल डाटा छुट, ५ करोडको निशुल्क कल सेवा उपलब्ध गराएको थियो ।

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी पनि अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब २९ करोड रुपैयाँले घटेर ३४ अर्ब ५७ करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ३६ अर्ब ८६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो। यस्तै, कम्पनीले अन्य स्रोतबाट ६ अर्ब ९२ करोड आम्दानी गरेको छ।

कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ अर्ब ८० करोड रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको लागानी ११ अर्ब ५१ करोड रुपैयाँ थियो।

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७८ अर्ब १३ करोड रुपैयाँ संचित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ०६ रुपैयाँ रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८ रुपैयाँले कम हो। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ६५ रुपैयाँ ०५ पैसा थियो ।

यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ ६२० रुपैयाँ ९२ पैसा र मुल्य आम्दानी अनुपात ११.४८ गुणा छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री