शुक्रबार, १४ वैशाख २०८१

यस्तो आयो नेपाल बैंकको चौथो त्रैमासको वित्तिय विवरण

समयपोष्ट २०७७ साउन २५ गते १८:२१

Advertisement

नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक बर्षको सोही अवधिमा २ अर्ब ५९ करोड ६७ लाख खुद नाफा आर्जन गरेको थियो ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७ करोड ५ लाख रुपैयाँ कम हो। ब्याज आम्दानीको तुलनामा ब्याज खर्च बढ्दा बैंकको खुद ब्याज आम्दानी घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९४ करोड ३६ लाख रुपैयाँ घटेर ३ अर्ब ५६ करोड ६४ लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। अघिल्लो आर्थिक वर्ष २६ रुपैयाँ ९९ पैसा रहेको बैंकको यस्तो आम्दानी गत आर्थिक वर्ष घटेर २२ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.९९ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २६७ रुपैयाँ ५० पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब २१ करोड ४ लाख रुपैयाँ रहेको छ।

११ अर्ब २८ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ, शेयरधनी कोषमा ४ अर्ब १२ करोड ५० लाख रुपैयाँ र शेयर प्रिमियममा १ अर्ब ७८ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्ष बैंकको चुक्ता पूँजी ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ, जगेडा कोष १३ अर्ब ३१ लाख १६ हजार रुपैयाँ, शेयरधनी कोष २ अर्ब ८९ करोड ५६ लाख रुपैयाँ र शेयर प्रिमियम ३ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको थियो।

गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ४२ अर्ब ११ करोड ४२ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब ५८ करोड ८२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

कोभिड १९ का कारण जारी गरिएको लकडाउनले नाफा प्रभावित भएको बैंकले वित्तीय विवरणमा उल्लेख गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री