शनिबार, ८ वैशाख २०८१

कसरी प्रवेश ग-यो अख्तियारमा कोरोना ? संक्रमण देखिएपछि सन्त्रास

समयपोष्ट २०७७ साउन २३ गते ६:५१

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे हात’ अपरेसनमा कार्यरत थिए । उनलाई एक्कासि असहज महसुस भएपछि पिसिआर परीक्षण भयो । परीक्षणमा उनलाई कोरोना देखिएपछि अख्तियारले सतर्कता अपनाएको हो ।

प्रहरी नायब निरीक्षकमा कोरोना देखिएपछि त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि कोरोना परीक्षण भएको थियो । राजधानीबाट बाहिरको जिल्ला नगएका ती प्रहरीमा कोरोना संक्रमण देखिएपछि अख्तियारले सुरक्षाकर्मीसहित कर्मचारीको पिसिआर परीक्षणको क्रममा सुरुमा १४ जना सुरक्षाकर्मी र एक सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार आएको रिपोर्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एक जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएको हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ । कोरोना संक्रमणका कारण हाल अख्तियार सुनसान बनेको छ । हाल अत्यावश्यकबाहेकका कर्मचारी कार्यालय गएका छैनन् ।

अख्तियार कार्यालय बन्द भएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरू पनि कार्यालय गएका छैनन् । अख्तियारका आयुक्तहरूको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमणको जोखिम भएको भन्दै आयोगले आफ्ना सबै कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ । आयोगले गर्ने भ्रष्टाचारसम्बन्धी क्रियाकलापको स्टिङ अपरेसन, अनियमिततासँग जोडिएको घटनासँग सम्बन्धित फाइल अध्ययनसमेत बन्द भएको छ ।आजको राजधानी दैनिकमा निराजन पौडेलले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री