बुधबार, १२ वैशाख २०८१

मनपरी भाडा लिँदै जीप चालक, सम्बन्धित निकायलाई वास्तै छैन

समयपोष्ट २०७७ साउन २२ गते २१:४५

Advertisement

डोटी जिल्लामा सञ्चालन भइरहेका जीप चालकले मनपरी भाडा लिँदा यात्रुलाई समस्या हुँदै आएको छ । यहाँ सञ्चालन हुँदै आएका जीप चालकले मनपरी भाडा असुलेको आरोप लग्ने गरेको छ । सरकारले कूल सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि जिल्लामा सञ्चालन हुने स्थानीय जीपले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेको पाइएको छ । जसले गर्दा सार्वजनिक जीपमा कोरोना सङ्क्रमणसँगै दुर्घटनाको जोखिम पनि बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

डोटीको दीपायलबाट डडेल्धुरासम्म जम्मा ६५ किलोमिटर दूरीमा यहाँका जीप चालकले रु ५०० सम्म भाडा लिन थालेको दीपायल पिपल्लाका स्थानीयवासी दिनेश कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “लकडाउनअघि रु १०० भाडा भएको ठाउँमा अहिले रु ५०० सम्म लिन थालेका छन्, भाडा नदिए चालकले यात्रु लैजान मान्दैनन् ।” स्थानीय प्रशासनले सिट क्षमताभन्दा आधा मात्रै यात्रु बोक्न निर्देशन दिए पनि यहाँका जीप चालकले एक जीपमा १५ देखि २० जनासम्म यात्रु बोक्ने गरेको पाइएको छ । यतिमात्र नभइ दिपायलबाट गोपघाटसम्म जम्मा २० किलोमिटरको दूरीमा जीप चालकले रु २०० रुपैयाँ भाडा लिने गरेको अर्का स्थानीय पूर्ण बादीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “जीप चालकले २० किमीको रु २०० लिन थालेका छन्, भाडा बढी लियो भनेर प्रहरीलाई खबर गर्दा टिकट ल्याउ निवेदन देऊ भन्छन्, हामीलाई जीप चालकले टिकट नै दिँदैनन् कहाँबाट ल्याएर दिने ।”

त्यसैगरी दीपायल–सिलगढी ११ किलोमिटरको भाडा लकडाउनअघि रु ४५ कायम रहेकामा हाल जीप चालकले मनपरी ढङ्गले रु १०० बनाउँदासम्म यहाँको स्थानीय प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानीयवासीको आरोप छ । डोटीमा हाल सञ्चालन भइरहेका गाडीमा कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग नगरिएको दीपायल सिलगढी नगरपािलका–४ पिपल्लाका स्थानीयवासी जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी चालकले कोरोना सङ्क्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ ।” स्थानीयस्तरमा सञ्चालन भइरहेका जीपले यात्रुलाई टिकट पनि नदिने गरेका कारण मनलाग्दी भाडा असुल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

उता डोटीका प्रमुख जिल्ला अधिकार भीमप्रसाद भट्टराइले यात्रुबाट मनपरी भाडा लिने जीप र चालकलाई कानूनी कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “जीप चालकले यात्रुबाट बढी भाडा लियो भन्ने गुनासो आएपछि हामीले छड्के अनुगमन गर्न थालेका छौँ, तोकिएकोभन्दा बढी भाडा लिनेलाई सोही स्थानमै कारवाही गर्न निर्देशन दिएको छु, कारवाही हुन्छ ।” त्यसैगरी लकडाउन खुलेपछि सार्वजनिक यातायात र सार्वजनिक स्थानमा भीडभाड बढेकाले नियन्त्रण गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई नेपाल पत्रकार महासङ्घ डोटी शाखाका अध्यक्ष योगेन्द्रबहादुर बलायरसहित नागरिक समाजको टोलीलेले ध्यानाकर्षणपत्रमा समेत बुझाएको छ ।

ध्यानाकर्षणपत्रमा सार्वजनिक स्थानमा भइरहेको भौतिक दूरीविनाको भीडभाड रोक्नका लागि आवश्यक कदम चाल्नुपर्ने, सवारीसाधनमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने गरी सरकारले गरेको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने, भाडादर नियन्त्रण गर्नुपर्ने, यातायातका साधनको पर्याप्त व्यवस्था गर्नुपर्ने, गाडी चालक, सहचालक र यात्रुले कोरोनाबाट बच्ने सुरक्षाका उपाय जस्तै मास्क, स्यानिटाइजर, पञ्जाको प्रयोग गर्नुपर्ने साथै एकपटक यात्रु ओसारी सकेपछि गाडीको अनिवार्यरुपमा निर्मलीकरण गर्नुपर्ने र कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले प्रभावकारीरुपमा अनुगमन गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री