बुधबार, १२ वैशाख २०८१

कोरोना बीमासम्बन्धी नयाँ मापदण्ड लागू

समयपोष्ट २०७७ साउन २२ गते ६:३९

Advertisement

बीमा समितिले कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न नयाँ मापदण्ड लागू गरेको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा कोरोना बीमासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकार, अर्थ मन्त्रालयको सहमतिमा बीमा समितिले मापदण्ड बनाई लागू गरेको हो ।

समितिले कोरोनाबाट उत्पन्न हुनसक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजत पत्र प्राप्त नेपालका २० वटा बीमा कम्पनीमार्फत बिक्री भइरहेको जनाएको छ ।

कोरोना बीमा लेखअन्तर्गत एक लाख रुपियाँ र ५० हजार रुपियाँ गरी दुई प्रकारको बीमाङ्क कायम गरिएको समितिले जनाएको छ । एक लाख रुपियाँ बीमाङ्क कायम भएको बीमा लेखका लागि प्रतिव्यक्ति एक हजार र ५० हजारको बीमाङ्कका लागि प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ ।

सगोलमा बसेको परिवारका सम्पूर्ण सदस्यको सामूहिक बीमा गरिएको खण्डमा एक लाख रुपियाँको बीमाङ्कका लागि प्रतिव्यक्ति छ सय रुपियाँ र ५० हजार रुपियाँको बीमाङ्कका लागि प्रतिव्यक्ति तीन सय रुपियाँ बीमा शुल्क कायम गरिएको समितिले जनाएको छ ।
बीमा लेख खरिद गर्नका लागि बीमित नेपाली नागरिक हुनुपर्ने, कुनै नेपाली नागरिक भारत वा तेस्रो मुलुकबाट नेपाल फर्केको रहेछ भने १५ दिन अनिवार्य रूपमा क्वारेन्टाइनमा र बाँकी १५ दिन आफ्नो परिवारसँग गरी कुल ३० दिन बसेको सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने न्यूनतम सर्त तोकिएको छ ।

सामूहिक कोरोना बीमाका लागि आफ्नो एकाघर परिवारका सदस्य उल्लेख गरिएको स्वघोषणासहित सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकल वा सामूहिक कोरोना बीमा खरिद गर्न चाहने व्यक्ति वा परिवार विगत ३० दिनसम्म नेपालमा बसोबास गरेको स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

समितिले दाबीसम्बन्धी व्यवस्थामा पनि कोरोना बीमा लेख खरिद गरेको १५ दिनपछि र स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमण भएको पाइएमा बीमा लेखबमोजिमको रकम भुक्तानी प्राप्त गर्न सकिने जनाएको छ । सो कार्यका लागि बीमा कम्पनीले दाबीको निवेदन प्राप्त गरेको सात दिनभित्र बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने छ । दाबी भुक्तानी नहँुदै बीमितको मृत्यु भएमा बीमितले इच्छाएको व्यक्ति वा कानुनी हकवालालाई भुक्तानी गर्नुपर्ने समितिले जनाएको छ ।
यसैगरी राष्ट्र सेवक कर्मचारीको सामूहिक कोरोना बीमा गर्दा नेपाल सरकारले शत प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । नेपाल सरकारको चालू आर्थिक वर्षको बजेट वक्तव्यअनुसार आमनागरिकले गर्ने सामूहिक कोरोना बीमामा मात्र ५० प्रतिशत अनुदान उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

सामूहिक कोरोना बीमाका लागि अनुदान प्राप्त गर्न बीमकले समितिबाट जारी गरिएको कोरोना बीमा मापदण्ड २०७७ मा तोकिए बमोजिमका जोखिमाङ्कन व्यवस्थासम्बन्धी कागजात पेस गर्नुपर्ने समितिले जनाएको छ । एकाघर परिवारका सम्पूर्ण सदस्यको सामूहिक बीमा गरिएको स्वघोषणा एवं सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात तथा एकाघर परिवारका सदस्यको नाम तथा उमेर खुल्ने सम्बन्धित स्थानीय तहले प्रमाणित गरेको कागजात हुनुपर्ने समितिले जनाएको छ ।

बीमकले सामूहिक बीमा गर्दा उल्लेखित प्रक्रिया र मापदण्डविपरीत बीमा गरेको पाइएमा त्यस्तो बीमा शुल्क अनुदान स्वरूप उपलब्ध नगराइने साथै त्यस्तो बीमितको कोरोना सङ्क्रमण भएको पाइएमा बीमा लेख बिक्री गर्ने बीमा कम्पनीको वासलातबाट दाबी भुक्तानी दिन सम्बन्धित बीमकलाई समितिले निर्देशन दिनसक्ने जनाएको छ ।गोरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री