शुक्रबार, ७ वैशाख २०८१

“विद्युततीय सवारी एसेम्बल गर्ने हो भने सरकार आर्थिक सहयोग गर्न तयार छ”

समयपोष्ट २०७६ भदौ १० गते १३:३८

Advertisement

अर्थमन्त्री डा. युवराज खतिवडाले आयातित सवारीबाट आम्दानी बढाउनुभन्दा एसेम्बल्ड प्लान्ट राखेर देशमै उत्पादन थाल्नुपर्ने बताएका छन् ।

मंगलबार राजधानीको भृकुटीमण्डपमा नाडा अटो शोको समुद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आयातित सवारीलाई कम गर्दै देशभित्रै गाडीको उत्पादन थाल्नुपर्ने बताए ।

उनले भने, ‘म व्यवसायी साथीहरुलाई आयात कम गर्न देशभित्रै एसेम्बल प्लान्ट राखेर सवारीसाधन उत्पादन गर्न आग्रह गर्छु ।’

उद्योगी तयार भए सरकार पनि छलफल गर्न तयार भएको उनले जानकारी दिए । सरकारले सवारीसाधनको एसेम्बललाई प्रत्साहनको नीति लिएपनि अहिलेसम्म व्यवसायीहरु आकर्षित हुन सकेका छैनन् ।

‘एसेम्बल गर्दा २० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुनुपर्छ, २० प्रतिशतन्दा बढी मूल्य अभिवृद्धि भयो भने सरकार छलफल गर्न तयार छैन,’ उनले भने, ‘उद्योगीले कुनै व्यापार गरेर नाफा गर्छ भने सरकारले घाटामा व्यापार गर भन्न मिल्दैन ।’

२० प्रतिशत पनि मूल्य अभिवृद्धि नगर्ने अर्थतन्त्रमा पनि सहयोग नपुग्ने भन्दै त्यस्तो अवस्थामा सरकारले सहयोग गर्न नसक्ने उनको भनाई थियो ।

विद्युतीय गाडी ल्याउने बहानामा ९० प्रतिशत इन्धन खर्च गर्ने अनि विद्युतीय सवारी ल्याएको भनेर सरकारसँग छुट नमाग्न अर्थमन्त्रीले व्यवसायीहरुसँग आग्रह गरे ।

‘विद्युततीय सवारीसाधन एसेम्बल गर्ने हो भने कति प्रतिशत मूल्य अभिवृद्धि गर्ने हो भन्नुस् सरकार आर्थिक सहयोग गर्न तयार छ,’ उनले भने ।

सार्वजानिक सवारीसाधन विद्युतीय हुन आवश्यक रहेको अर्थमन्त्रीले बताए । नेपालमा जनताले सक्कली सवारीसाधन चलाउन पाउनुपर्ने र त्यसका लागि आयातकर्ताले सक्कली सामान आयात गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री खतिवडाले आफ्नो आम्दानीले धान्नेभन्दा बढीको सवारीसाधन नकिन्न सुझाब दिए ।

‘चिल्लो खायो भने चिल्लोले राम्रो गर्छ तर धेरै खायो भने रोग लाग्छ,’ खतिवडाले भने, ‘आफ्नो आर्थिक हैसियत हेरेर मात्रै गाडी चढ्नुस् ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री