शनिबार, ८ वैशाख २०८१

विपद्का समयमा महिला प्रजनन स्वास्थ्य उच्च जोखिम

rss २०७६ भदौ २ गते १७:४५

Advertisement

विपद्का अवस्थामा महिला, बालबालिका, ज्येष्ठ नागरिकको स्वास्थ्य उच्च जोखिममा पर्ने हुँदा त्यस्तो अवस्थामा सरकारले ती वर्गलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।विसं २०७२ को विनाशकारी भूकम्प, हालैको तराई–मधेशको बाढी–ढुबान तथा पहाडी क्षेत्रमा गएका पहिराले घरबारविहिन भएका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको स्वास्थ्य जोखिममा परेको थियो ।

विपद्का समयमा जोखिममा परेका र पछाडि पारिएका समुदायलाई सम्बोधन गर्न छुट्टै नीति सरकारले अहिलेसम्म बनाएको छैन । एक अध्ययनका अनुसार नेपालमा हरेक वर्ष ती वर्गका दुई लाखभन्दा बढी जनसङ्ख्या उच्च जोखिममा पर्दै आएको छ । विपद्का अवस्थामा महिलालाई प्रजनन स्वास्थ्य, सुरक्षित गर्भपतन, परिवारनियोजन सेवा, बालबालिकालाई आवास, पोषण तथा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा बढी आवश्यक हुन्छ। नेपाल परिवारनियोजन सङ्घका वरिष्ठ कार्यक्रम अधिकृत शरद अर्यालका अनुसार विसं २०७२ जेठ महीनामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या धेरै थियो । साथै परिवारनियोजनको सेवा लिने सङ्ख्या पनि उल्लेखनीय थियो ।

उहाँले भन्नुभयो, “विपद्का अवस्थामा प्रजनन स्वास्थ्यका गतिविधिमा कमी हुँदैनन । झन् बढी सेवाको आवश्यकता परिरहेको हुन्छ । विपद् आउँदैमा प्रजनन सेवा नलिने भन्ने कुरा आउँदैन । ”नेपाल परिवार नियोजन सङ्घ र नेपाल रेडक्रस सोसाइटीद्वारा विश्व मानवता दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सहभागीहरूले विपद्का समयमा जोखिममा परेका र पछाडि पारिएका समुदायलाई सम्बोधन गर्न सरकारले नयाँ नीति ल्याउन आवश्यक रहेकामा जोड दिए । मानवनिर्मित तथा प्राकृतिक विपद् पूर्वतयारीमा समुदायलाई उत्थानशील बनाउन, विपद्का अवस्थामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि छुट्टै स्वास्थ्य नीति ल्याई सम्बोधन गर्नसमेत उनीहरूको भनाइ थियो ।

“संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषसँगको सहकार्यमा विपद्का समयमा पनि सङ्घले महिलाको प्रजनन स्वास्थ्य, र परिवारनियोजनका सेवा निरन्तर जारी राख्दै आएकोे छ”, सङ्घका सञ्चार अधिकृत जमुना सिटौलाले भन्नुभयो ।

सातै प्रदेशमा स्वास्थ्य आपत्कालीन केन्द्र सञ्चालन हुँदै

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख सहसचिव चूडामणि भण्डारीले सातवटै प्रदेशमा स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्र सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रदेश ३ र ५ मा भने उक्त केन्द्र कहाँ राख्ने विषयमा हालसम्म प्रदेश सरकारहरूले निर्णय गरेका छैनन् । केन्द्रले विपद्का समयमा स्वास्थ्य सेवाको प्रभावकारी कार्यान्वयनमा समन्वय गर्ने गर्दछ ।

उहाँले भन्नुभयो, “विपद्का समयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक बढी जोखिममा पर्दछन् । जोखिमा परेका र पछाडि पारिएका समुदायको स्वास्थ्यलाई सम्बोधन गर्ने नीति मन्त्रालयको छ ।” सङ्घका वरिष्ठ कार्यक्रम संयोजक सुवास श्रेष्ठले विपद्का समयमा जोखिममा पर्ने महिलाको प्रजनन स्वास्थ्यमा सङ्घले आफ्नो सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो । नेपाली सेनाका प्रमुख सेनानी सुरेश कायस्थले विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै प्रभावकारी बनाउने निर्देशनअनुसार विपद्का समय र पूर्वतयारीमा नेपाली सेनाले काम गर्दै आएको छ भन्नुभयोे ।

प्रहरी उपरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीले वरिष्ठ प्रहरीको नेतृत्वमा विपद् व्यवस्थापन महाशाखामार्फत विपद् व्यवस्थापनको कार्य गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विपद्का समयमा सबैभन्दा पहिलो उपस्थिति प्रहरीको नै हुन्छ ।” यस वर्षको मानवता दिवसको नारा ‘विपद्का अवस्थामा जोखिममा परेका र पछाडि पारिएका जनसङ्ख्याको सम्बोधन’ भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घको अगुवाइमा सन् २००९ देखि यो दिवस आजकै दिन मनाइँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री