शुक्रबार, ७ वैशाख २०८१

‘भारतीय लगानी अनिवार्य, मोदी कार्यकालमा अवसर खेर नफालौं’

समयपोष्ट २०७६ साउन २९ गते १५:५८

Advertisement

पूर्व परराष्ट्रमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले नेपाल र भारतबीच अबको सम्बन्ध आर्थिक विकासमा केन्द्रित हुनुपर्नेमा नेपालका राजनीतिक दलहरुमा एकमत भएको बताए ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली जनता विश्वकै द्रुत आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट लाभ लिने आशामा रहेको बताए । भारतीय लगानी बढीभन्दा बढी भित्रिएर रोजगारको अवसर सृजना गर्नुपर्नेमा जोड दिए ।

महतले भारतको आर्थिक वृद्धि सात प्रतिशतको हाराहारीमा भएको अवस्थामा नेपालले भोगिरहेको व्यापार घाटा गम्भीर चुनौती रहेको बताए । व्यापार घाटा घटाउन भारतीय लगानी भित्रिएर उद्दोगधन्दा खोलिनुपर्नेमा जोड दिए । नेपालको कच्चा पद्धार्थ नेपालमै सदुपयोग गर्ने गरी भारतीय लगानी भित्राउनसक्नुपर्ने बताए ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने भन्दै लगानीका क्षेत्रहरुलाई अझ स्पष्ट पार्नुपर्ने बताए । सन् १९९६ को वाणिज्य सन्धीले नेपालले उत्पादन निर्यातको वातावरण पाएको उल्लेख गर्दै त्यस्तै अवस्था सृजना गर्नुपर्ने बताए । भारतीय पर्यटक बढीभन्दा बढी भित्राउने देखि लगानी वृद्धि गर्नसके नेपालको आर्थिक विकासले गति लिने औल्याए ।

पूर्व परराष्ट्रमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालप्रति चासो र मायाभाव दर्शाउने नरेन्द्र मोदी भारतको प्रधानमन्त्री हुनु नेपालका लागि प्रगतिको उत्तम अवसर भएको बताए । अवसरलाई खेर फाल्न नहुनेमा उनको जोड थियो । भारतको आर्थिक वृद्धि नेपालका लागि अवसर बनेको लोहनीले बताए । नेपालले भारतबाट लाभ लिनसक्ने जलविद्युत, कृषि, प्रविधिलगायतका क्षेत्रहरु रहेको बताए । जलविद्युत आयोजनाहरु निर्माणमा भारतीय पक्ष अझ चासोका साथ आउनुपर्नेमा जोड दिए । उनले भने, ‘ठूला जलविद्युत आयोजनाहरु बन्न सके नेपाल र भारतको आर्थिक विकासमा अझ योगदान पुग्छ ।’

दुवै देशबीच आर्थिक अन्र्तसम्बन्ध मजबुत बनाउँदै राजनीतिक विश्वासको वातावरण निर्माण हुनुपर्नेमा जोड दिए । उनले भने,‘गहन सरसल्लाह गरेर बढ्न सके नेपाल र भारत दुवैको हित हुन्छ ।’ नेपालले भोगिरहेको व्यापार घाटाको समस्या समाधानका लागि निर्यात वृद्धि अनिवार्य रहेको बताए । भारतीय सहभागितामा उत्पादनको साझेदारी हुनसके व्यापार घाटाको समस्या समाधान हुने औल्याए ।

नेपालमा भारतले सुरक्षा चासो दिनेगरेको उल्लेख गर्दै नेपालले आफ्नो भूमि भारतविरोधी गतिविधि हुन नदिने सुनिश्चितता गराउनुपर्ने बताए । भारतले पनि नेपालविरुद्ध भारतीय भूमि प्रयोग नहुने सुनिश्चितता गराउनुपर्ने बताए । दुवै देशबीच विश्वासको वातावरण बढ्न सके एक अर्काको हितमा योगदान पुग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री