बिहीबार, १५ चैत २०८०

प्रधानाध्यापकको नियुक्ति नहुँदा शिक्षकले पाएनन् तलब

rss २०७६ साउन २७ गते ११:०८

Advertisement

राजनीतिक विवादका कारण राधाकृष्ण माध्यमिक विद्यालय निस्दी गाउँपालिका–१ बाकामलाङ्मा प्रधानाध्यापक नियुक्त हुन सकेको छैन ।

प्रधानाध्यापक नियुक्त नहुँदा शिक्षक कर्मचारीले तलब नपाएको गुनासो गरेका छन् । प्रधानाध्यापक पीताम्वर भण्डारीले अवकाश लिएपछि २०७५ चैत २८ गतेदेखि निमित्त प्रअको कार्यभार प्रावि तहका स्थायी शिक्षक हुमबहादुर रानालाई दिइएको छ ।

नयाँ प्रअ नियुक्ति राजनीतिक विवादले विद्यालयले व्यवस्थापन गर्न सकेको छैन । समितिका अध्यक्ष मीनबहादुर पुलामीले शिक्षा ऐन नियमावलीअनुसार नभई सहमतिमा प्रअ नियुक्ति गर्ने प्रयास गरेको र समितिभित्रै सहमति हुन नसक्दा समस्या भएको बताउनुभयो ।

“ऐन नियमावलीभन्दा पनि सहमतिबाटै टुङ्ग्याउने कोसिस गरेका हौँ, यस विषयमा ८÷१० पटक समितिको बैठक बस्यो तर निष्कर्षमा पुग्न सकिएको छैन”, उहाँले भन्नुभयो । प्रअको दाबेदारका रुपमा मावि तहमा कार्यरत स्थायी शिक्षक भेषबहादुर अधिकारी, अशोक सिं, निमावि तहमा कार्यरत स्थायी शिक्षक खडानन्द पाण्डेय, जगनाथ लम्साल र प्रावि तहका स्थायी शिक्षक (हाल निमित्त प्रअ) हुमबहादुर राना हुनुहुन्छ ।

विद्यालयको नाममा चौमासिकको तलब आइसकेको छ तर प्रअको टुङ्गो नलाग्दा शिक्षकले असार मसान्तभित्रै बुझ्ने तलब अहिलेसम्म बुझ्न नपाएको शिक्षक भेषबहादुर अधिकारी बताउनुहुन्छ । “लामो समयसम्म समितिले राजनीतिक द्वन्द्व गरेर प्रअको टुङ्गो लगाउन सकेको छैन, शिक्षा ऐन नियमावलीबमोजिम प्रअ नियुक्ति हुनुपर्छ, नियम र कानून मिचेर नियुक्ति गर्न पाइने छैन”, उहाँले भन्नुभयो । विद्यालयको नाममा रहेको खातामा छात्रवृत्ति, शैक्षिक सामग्रीका लागि आएको रकम पनि झिक्न पाइएको छैन ।

लेखापाल गोविन्द पाण्डेय र अध्यक्ष मीनबहादुर पुलामीको नाममा खाता सञ्चालन गरेर शिक्षक कर्मचारीलाई तलब खुवाउने मौखिक जानकारी भएको थियो पछि फेरि समितिमै विवाद परेपछि रकम झिक्न समस्या परेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर थापाले प्रअ नियुक्तिको बारेमा शाखाले पटकपटक अनुरोध गरिरहेको र लामो समय बितिसक्दा पनि राजनीतिक विवादमा समिति अल्झिरहेको बताउनुभयो ।

विद्यालयमा प्रअ नियुक्तिका विषयमा दुई पटकसम्म कार्यालयबाट पत्र पठाइ सक्दा पनि नियुक्ति प्रक्रियामा आलटाल भइरहेको र शिक्षा ऐन नियमावलीअनुसार नै कार्यरत शिक्षकको विशिष्टताको आधारमा नै प्रअ नियुक्ति हुनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले बताउनुभयो ।

राजनीतिक विवाद गरेर समिति अल्झनभन्दा शिक्षा ऐन नियमावलीअनुसार काम गर्न वडा कार्यालयले पनि समितिलाई अनुरोध गरिरहेको र समितिको विवादले शिक्षक कर्मचारीले समयमा नै तलब बुझ्न नपाएको निस्दी गाउँपालिका– १ का अध्यक्ष पूर्णबहादुर खाँणले बताउनुभयो । विद्यालयमा १९ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री