बिहीबार, १३ वैशाख २०८१

कात्तिक महिनाभित्रै रेल सेवा सञ्चालनमा आउने

समयपोष्ट २०७६ साउन २३ गते १२:५८

Advertisement

बहुप्रतिक्षित जयनगर–जनकपुर रेलसेवा निर्धारित समयमा नै सञ्चालनमा आउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रेलवे लिकको निरीक्षण गर्दै कात्तिक महिनाभित्र रेलसेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताए । मन्त्री महासेठले ट्रलीमा चढेर जनकपुरदेखि इनर्वासम्म २६ किलोमिटर रेलवे लिकको निरीक्षण गरेका हुन् ।

गत असार अन्तिममा आएको बाढीले सो लिकमा क्षति पुुर्याएको थियो । निरीक्षणका क्रममा उनले रेलवे लिकको बेस बगाएको ठाउँमा चाँडै नै मर्मतसम्भार गरी निर्धारित समयमा नै रेलसेवा सञ्चालनमा आउने गरी काम अगाडि बढाउन रेल विभागलाई निर्देशन दिए ।

बाढीले रेलवे लिकको बेस बगाए पनि निर्धारित समयमा नै रेल सञ्चालनमा कुनै समस्या नहुने उनले स्पष्ट पारे ।

सो ठाउँमा बाढीले एक सय मिटर रेलवे लिकको बेस बगाएको छ । यसअघि उनले जनकपुर रेलवे स्टेसनको निरीक्षण गर्दै उनले रेलसेवा सञ्चालनका लागि बाँकी रहेका संरचनाहरूको निर्माण समयमा सम्पन्न गर्न तथा रेलवेको जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन कारबाही अगाडि बढाउन निर्देशनसमेत दिए । यो रेलसेवा सञ्चालनसँगै दोस्रो विश्वयुद्धभन्दा पहिले नै १९९४ सालमा सुरु भएको नेपालको एकमात्र रेलमार्गले पुनर्जीवन पाउने छ ।

भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्म सञ्चालनमा ल्याइने सो रेलमार्गको अहिलेसम्म रेलवे लिक बिछ्याउने काम सम्पन्न भएको छ । ट्र्याक वेड, दुवैतर्फ स्टेसन, कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीका लागि आवासगृह लगायतको आवश्यक संरचनाको निर्माण कार्य भइसकेको छ । भारतको राइट्स कम्पनीले तयार पारेको ढाँचाका आधारमा यस रेलमार्गको स्टेसनहरूको निर्माण गरिएको छ । सरकारले यसअघि नै सो रेलसेवा सञ्चालन गर्न दुईवटा डेमो रेल खरिद गर्नका लागि करिब ८५ करोड रुपियाँ निकासा गरिसकेको छ । सो रेल अहिले भारतको मद्रासमा निर्माणाधीन अवस्थामा रहेको रेल विभागले बताएको छ ।

मुलुकको छोटो रेलवे इतिहासमा यो रेलसेवा ‘ब्रोडगेज’ हुनेछ । यसअघि नेपालमा सञ्चालन भएका रेलसेवाहरू ‘न्यारोगेज’मात्र रहेको थियो । दुई फिट छ इञ्च चौडाइ भएको लिकलाई ‘न्यारोगेज’, एक मिटर चौडाइ भएको लिकलाई ‘मिटरगेज’ र पाँच फिट ६ इञ्च चौडा भएको लिकलाई ‘ब्रोडगेज’ भनिन्छ । जनकपुर–जयनगर रेलवे लिकको चौडाइ ‘ब्रोडगेज’ आकारको रहेको छ ।

जयनगरदेखि बर्दिबाससम्म ६९ किमी रेलमार्गमा आठ स्टेसन र छ हल्ट अर्थात् रेल रोक्ने ठाउँ गरी १४ विश्रामस्थल निर्माण गरिने रेल विभागले बताएको छ । जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदेही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन तोकिएको छ । त्यसैगरी महिनाथपुर, देउरी परवाहा, जनकपुर, महोत्तरीको लोहारपट्टी, सिंग्याही र रामनगरमा हल्ट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री