शुक्रबार, ७ वैशाख २०८१

नयाँ बसपार्कको पहिलो चरणको काम सकियो, साढे दश करोड लागतमा अत्याधुनिक टर्मिनल बिल्डिङ देखि पार्किङस्थलसम्म

समयपोष्ट २०७६ साउन २३ गते १०:१२

Advertisement

करीब १० वर्षको अथक प्रयासपछि तुलसीपुर उपमहानगरपालिकास्थित नयाँ बसपार्क निर्माणकार्य पूरा भएको छ । तुलसीपुर–५ स्थित नयाँ बसपार्क निर्माणका लागि विसं २०६६ मा गुरुयोजना निर्माण गरिएको थियो । सो गुरुयोजनाअनुरुप आधुनिक बसपार्कको पहिलो चरणको काम सम्पन्न भएको उपमहानगरपालिकाले जनाएको छ ।

रु १० करोड ५० लाख लागतमा पहिलो चरणको निर्माणको काम सम्पन्न भएको उपमहानगरपालिकाका इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । उपमहानगरपालिकाले आधुनिक बसपार्क निर्माणका लागि रु ३४ करोडको गुरुयोजना तयार पारेको थियो ।

गुरुयोजनाअनुसार पहिलो चरणमा साढे १० करोड लगानीबाट बसपार्कमा टिकट काट्ने घर, व्यावसायिक प्रयोजनका लागि सटरहरु, शौचालय, बसपार्क कालोपत्र, पार्किङस्थल, विद्युतलगायतका काम सम्पन्न भएका छन् । बिडीए नेपाल कन्सल्टेन्सीले तयार पारेको डिजाइन स्टिमेटसहितको गुरुयोजनामा बसपार्कमा पहिलोपटक अत्याधुनिक टर्मिनल बिल्डिङ अर्र्थात् टिकट काट्ने काउन्टर, सपिङ स्टल, सार्वजनिक शौचालय, सडक, ढलनिकासका लागि नाला, विद्युत् र गाडी पार्किङस्थललगायतका संरचना तयार भएको इञ्जिनीयर योगीले जानकारी दिनुभयो ।

त्यस्तै निर्माणको जिम्मा पाएको शिवशक्ति कन्स्ट्रक्सनले पनि बसपार्क निर्माणको पहिलो चरणका काम सबै पूरा भएको बताएको छ । निर्माण व्यवसायी गेहेन्द्र गिरीले पहिलो चरणका सबै निर्माणको काम सम्पन्न गरेको जानकारी दिनुभयो । बसपार्क अब केही महिनाभित्रै सञ्चालनमा आउने तयारी गरिएको छ । बसपार्क सञ्चालनका लागि बोलपत्रसमेत भइसकेको छ । बोलपत्र प्रक्रियाअनुसार अबको केही महीनामा बसपार्क सञ्चालनमा आउने इञ्जिनीयर योगीले जानकारी दिनुभयो ।

विभिन्न सात प्रस्तावना बोलपत्रमा गरिएको छ । बसपार्कमा पेट्रोलपम्पसमेत निर्माण हुनेछ । त्यस्तै टिकट घर, व्यावसायिक सटर, सार्वजनिक शौचालय, पार्किङ व्यवस्थापन, विद्युत्, प्रवेश शुल्क र विज्ञापनलगायतको प्रस्तावनासहित बोलपत्र सार्वजनिक भएको छ ।

तुलसीपुरमा लामो समयपछि आधुनिक बसपार्क निर्माणसँगै स्थानीयवासी खुशी भएका छन् । उपमहानगरपालिकाले यसलाई गौरवको योजना पनि भन्दै आएको छ । नगर विकास कोषको लगानीमा बसपार्क निर्माणसँगै सबैलाई सहज हुनेछ । तुलसीपुरको नयाँ बसपार्कमा हाल व्यस्थित बसपार्क नहँुदा निकै समस्या परेको छ । बसपार्क वर्षायाममा हाल हिलाम्मे हुने गरको छ भने हिउँदमा धुलो उड्ने समस्या थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री