शनिबार, ८ वैशाख २०८१

४१ प्रतिशत निजी आवास पुनः निर्माण

समयपोष्ट २०७६ असार ३१ गते ११:३३

Advertisement

– सन्तोष गौतम

म्याग्दीमा ४१ प्रतिशत भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गरेका छन् । विसं २०७२ वैशाखको भूकम्पका कारण घर भत्किएर राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी पहिलो किस्ता अनुदान लगेकामध्ये हालसम्म ३२६ ले आवास पुनःनिर्माण सकेका हुन् ।

प्राधिकरणको जिल्ला आयोजना प्रमुख शिवराम गेलालले रु ५० हजारका दरले पहिलो किस्ता अनुदान लगेकामध्ये ३७९ ले दोस्रो किस्ता लगेको जानकारी दिनुभयो । पहिलो किस्ता लगेकामध्ये एकले अनुदान फिर्ता गरेका छन् भने ९३ अझै सम्पर्कमा छैनन् । भूकम्पबाट कम प्रभावित जिल्लाको सूचीमा पर्ने म्याग्दीमा गत वर्ष प्राधिकरणको कार्यालय स्थापना भएको र गत हिउँदमा स्थानीय तहहरुसँग सम्झौता भएपछि पुनःनिर्माणले केही गति लिएको हो ।

प्राविधिक आउनुअघि बनेका १४० घरका धनीलाई प्राधिकरणको पछिल्लो निर्णयअनुसार अनुदान उपलब्ध गराइने भएको छ । विसं २०७३ पुसमा इञ्जिनीयर परिचालन गरेर एक हजार ३५० घर सर्वेक्षण गरिए पनि ८७२ लाभग्राही पहिचान भएका थिए । छुटको गुनासो दर्ता गराएका ५३३ पीडितको घर गत जेठमा पुनःसर्वेक्षण गरिएको थियो । मालिका गाउँपालिका–४ ओखरबोटका धनबहादुर घर्तीले घर बनाउन नसकेपछि पहिलो किस्तावापत लगेको रु ५० हजार राज्यकोषमा फिर्ता गर्नुभएको छ ।

विसं २०७३ चैतदेखि सम्झौता र २०७४ मङ्सिरदेखि पीडितको खातामा अनुदान पठाएर निजी आवास पुनःनिर्माण शुरु गरिएको थियो । दोस्रो किस्तावापत डिपिसी गरेपछि रु एक लाख ५० हजार र भवन बनाएपछि अन्तिम किस्तावापत रु एक लाख अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

यसैगरी भूकम्पले चर्किएको पहाड खसेर पुरिएको रघुगङ्गा गाउँपालिका–२ र अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने बैसरीलाई जोखिम बस्ती पहिचान गरी अन्यत्र जग्गा नभएका तीन घरधुरीलाई जग्गा खरीदका लागि थप रु दुई लाख उपलब्ध गराइएको छ ।

प्राधिकरणमार्फत सञ्चालित १८.५४ किलोमिटर दूरीको घारखोला–चित्रे सडक स्तरोन्नति आयोजनाको हालसम्म १७ प्रतिशत भौतिक प्रगति भएको छ । बर्खासँगै सडकको काम सुस्ताएको र ठेकेदारले ज्याला नदिएकाले मजदुरले काम छाडेका स्थानीयवासीले बताएका छन् । भूकम्पले क्षति पु¥याएका ९७ मध्ये आर्थिक वर्ष २०७३÷७४ मा चार र २०७४÷७५ मा सातमध्ये पाँच भवन पुनःनिर्माण भएका थिए ।

आर्थिक वर्ष २०७५÷७६ मा २० कक्षाकोठा भवन पुनःनिर्माण शुरु भएकामा सात दुईकोठे, दुई तीनकोठे र दुई चारकोठे भवन सम्पन्न भएको छ । यसै महीनामा प्राप्त भएको दुईकोठे १०, तीनकोठे दुई र चारकोठ १२ भवन योजना विद्यालयलाई वितरण गरेर सम्झौताको तयारी गरिएको छ ।

बजार संरक्षणका लागि तटबन्ध निर्माण

कालीगण्डकी नदीको कटानको चपेटामा परेका म्याग्दीको सदरमुकाम बेनी, पर्वतको जलजला गाउँपालिकामा पर्ने बगरफाँट र वारीबेनी बजार संरक्षणका लागि रु नौ करोडको लागतमा तटबन्ध निर्माण भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले आव २०७५÷७६ मा बेनी बजारसहित म्याग्दीका विभिन्न ठाउँमा १३ र जलजला गाउँपालिकामा आठ प्याकेजमा तटबन्ध निर्माण गरिएको जनाएको छ । सबै काम उपभोक्ता समितिमार्फत भएको हो ।

पर्वत र म्याग्दीतर्फ कालीगण्डकी नियन्त्रणका लागि शुरुमा प्राप्त रु पाँच करोड बजेटको काम समयमै सकेर थप रु चार करोड बराबरको काम गरिएको परियोजनाका इञ्जिनीयर मोहनराज आचार्यले बताउनुभयो । “बर्खा शुरु नहँुदै नदी नियन्त्रण सक्नुपर्ने समयको दवाबका कारण उपभोक्ता समितिमार्फत छोटो विधिबाट लक्ष्यभन्दा बढी काम गर्न सफल भयौँ”, इञ्जिनीयर आचार्यले भन्नुभयो, “बेनीबजार संरक्षणका अतिरिक्त अन्य जोखिमयुक्त बस्तीको पनि नदी नियन्त्रणको काम भएको छ ।”

बेनीबजार संरक्षणका लागि चार प्याकेजमा कालीगण्डकी किनारमा ग्यावियन पर्खाल निर्माण भएको परियोजनाका इञ्जिनीयर कृष्णबहादुर विश्वकर्माले बताउनुभयो । विसं २०७५ भदौ २७ गतेको बाढीले कालीगण्डकी किनारमा निर्माणाधीन २५० मिटर पक्की पर्खाल भत्काएपछि नदीको भङ्गालो बजारतर्फ सोझिँदा बेनीबजार जोखिममा परेको थियो ।

इञ्जिनीयर विश्वकर्माका अनुसार पहिले निर्माण भएको पक्की पर्खाल संरक्षण र कटान गरेको ठाउँमा ग्यावियन पर्खाल लगाइएको छ । पानीको सतहभन्दा तल र जमीनभित्र एक मिटर तथा बाहिर पाँच मिटर अग्लो पर्खाल बनाइएको बेनीबजार संरक्षण कार्यक्रमअन्तर्गत प्याकेज नं तीनको उपभोक्ता समितिका अध्यक्ष कुबिर श्रेष्ठले बताउनुभयो । “फागुनको अन्तिम हप्ताबाट शुरु भएको काम निर्धारित समयभित्रै सकिएको छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “तटबन्ध निर्माणपछि तत्काललाई कटानको जोखिम टरेको छ ।” बेनीबजार संरक्षण कार्यक्रमको डिपिआरअनुसार कालीपुलको बस्ती संरक्षणका लागि ठेक्का सम्झौता भइसकेको छ ।

रु चार करोडको लागत अनुमान गरिएको कालीपुलको बस्ती पछाडिको कालीगण्डकी किनारमा मेसिनरी पर्खाल लगाउने काम गर्न नयाँबाटो कन्स्ट्रक्सन जेभीले रु तीन करोड ७० लाखमा ठेक्का सम्झौता गरेको छ । बर्खापछि काम शुरु गर्ने तयारी छ ।

जलजला गाउँपालिकाको वडा नं २ र ३ मा पर्ने बगरफाँट तथा वडा नं ४ बारीबेनीमा पनि तटबन्ध गरिएको छ । लस्ती, डमुवा र लुङदीखोला किनारमा पनि तटबन्ध भएको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले जानकारी दिनुभयो । कटानको उच्च जोखिममा रहेका तटीय बस्ती संरक्षण र नदी नियन्त्रणका लागि परियोजनाले गरेको तटबन्ध प्रभावकारी बनेको अध्यक्ष मल्लको भनाइ छ ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री