शनिबार, ४ साउन २०७६

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

समयपोष्ट २०७६ असार २७ गते १३:४२

लेकाली सामुदायिक वनको चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर महिलाले पर्याप्त आम्दानी गर्न थालेका छन् । उत्तरी पर्बतको जलजला–६ शालिजाकी जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट मात्रै हिजोआज ५० महिलालाई आत्मनिर्भरत हुन सघाएको छ ।

शुरुका दिनमा घरको काम छाडेर अल्लो खोज्न जङ्गल जाँदा जसमायालाई जिस्क्याउने महिला नै हिजोआज उद्यमी बनेका छन् । जसमायाका हाल क्याङ र सदरमुकाम कुश्मामा अल्लो प्रशोधन प्रशिक्षण केन्द्र पनि छ । कुश्मामा उहाँले प्रशोधन तथा कपडा उत्पादन उद्योग सञ्चालन गर्नुभएको छ ।
थोरै रकमबाट शुरु गरिएको जसमायाको उद्योगमा अहिले करीब रु ४५ लाख बराबरकको लगानी पुगेको छ । उहाँले प्रशोधन र तालीम सञ्चालन गरेर मासिक रु ६० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । विसं २०५७ मा जसमायाँले अल्लोको उपयोगिता बुझेर प्रशोधन शुरु गर्नुभएकामा त्यस लगत्तै एउटा हाते उपकरण किनेर धागो निकाल्ने र कपडा बुन्न थाल्नुभयो । क्याङका ५० महिला हाल अल्लो सङ्कलन गरेर धागो निकाल्ने, प्रशोधन गर्ने र कपडा बुन्ने काममा व्यस्त छन् ।

अल्लोका कपडा मात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको अर्का उद्यमी बिना पुनले बताउनुभयो । “कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “भ्याइएन भने धागो पनि बिक्छ ।” तयारी कपडा प्रतिमिटर रु ७०० सम्ममा बिक्री हुने गरेको छ । अल्लोको धागो स्थानीय बजारमा र कपडा तथा तयारी पोसाक पोखरा, काठमाडौँ र विदेशमा समेत पठाउने गरिएको छ ।

“पहिले घरधन्दामै दिन बित्थ्यो”, अर्का उद्यमी झकमायाले भन्नुभयो, “अहिले घरको सबै काम सकेर पनि महीनाको रु १०÷१२ हजार आम्दानी हुन्छ ।” आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दैआएको उहाँले बताउनुभयो । उद्यमी महिलाले साउनदेखि मङ्सिरसम्म स्थानीय खर्सुवास गैराखर्क, ठूलोटाउका र रेसापातल सामुदायिक वनमा सङ्कलन गरेको अल्लोे फागुनदेखि असारसम्म प्रशोधन गर्छन् र जाडो याममा सुकाउन समस्या हुने भएकाले पुस र माघमा कपडा बुन्न व्यस्त हुन्छन् । फागुनदेखि जेठको अन्तिमसम्म लोक्ता निकाल्ने, पकाउने, पखाल्ने, सुकाउने काम हुन्छ । चरणबद्ध रूपबाट काम गर्दा वर्षभरिका कुनै पनि महीना खाली बस्न नपरेको उद्यमी महिला बताउँछन् ।

अल्लो सङ्कलन गर्न स्थानीय सामुदायिक वनले निःशुल्क दिएका छन् । महिला समूहमै मिलेर काम गर्छन् । वनमा अल्लो सङ्कलन गर्न लाँदा, लोक्ता निकाल्ने, सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको उद्यमी जसमायाले बताउनुभयो । “वनमा त्यसै खेर जान्थ्यो”, उहाँले भन्नुुभयो, “अहिले धेरै दिदीबहिनी सक्रिय भएका छन् । वन पनि सफा भएको छ । आम्दानी पनि बढेको छ ।” उनीहरूलाई समय–समयमा जिल्ला लघुउद्यम विकास कार्यक्रम, घरेलु कार्यालयलगायत विभिन्न सङ्घसंस्थाले तालीम र उपकरणमा सहयोग गरेका छन् । जलजला गाउँपालिकाले शालिजा, लेकफाँट र बनौँको माथिल्लो भेगको जङ्गलमा पाइने अल्लोलाई स्थानीयको जीविकोपार्जनसँग जोडेर त्यसको विस्तार गर्नेगरी कार्यक्रम तय गरेको छ । जलजलाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमका अनुसार महिलालाई अल्लोको उद्यमसँग जोडेर प्रशिक्षण र व्यवसाय प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

मोदी गाउँपालिका–३ देउरालीका महिलाले पनि गाउँमै घरेलु उद्योग खोलेर अल्लोका सामग्री उत्पादन गर्दै आएका छन् । विसं २०७१ पुसमा दुई महिलाले अल्लो प्रशोधन उद्योग शुरु गरेकामा हाल ११ उद्यमी बनेको समूहका अध्यक्ष रनमाया गुरुङले बताउनुभयो । देउरालीका महिलालाई हालै कोरियाको एक संस्थाले अल्लो प्रशोधन गर्ने उपकरण सहयोग गरेको छ । “पहिले काठको मुङ्ग्राले कुटेर सुकाउँथ्यौँ”, अध्यक्ष गुरुङले भन्नुभयो, “उपकरण आएपछि सुविधा भएको छ । पहिलेभन्दा तेब्बर छिटो धागो निकाल्छौँ ।” देउरालीमा उत्पादन भएका अल्लोका तयारी पोशाकका लागि उपकरण उपलब्ध गराएकोे उक्त संस्थाले नै तयारी सामग्री लिने गरेको छ । विदेशमा बस्नेले उपहारका रूपमा समेत पोशाक लैजाने गरेका छन् । देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका महिलाले अल्लोका कपडा लैजाने गर्छन् ।

प्रतिक्रिया