बिहीबार, १३ वैशाख २०८१

समयमा पुल नबन्दा समस्या

समयपोष्ट २०७६ असार २७ गते १३:२९

Advertisement

–रीता लामा
दाङका अधिकांश खोला तथा नदीहरुमा पुल निर्माणको काम चलिरहेको छ ।

कतिपय खोलाहरुमा निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माणको काम लथालिङ्ग अवस्थामा छ भने पुल निर्माणको सम्झौता भएको वर्षौं बितिसक्दासमेत अहिलेसम्म निर्माणले पूर्णता पाउन सकेका छैनन् । जसले गर्दा वर्षायाममा जनताले बाढीको र हिउँदमा धुलोको सास्ती बेहार्नु परेको छ ।

पुल निर्माण भइरहेका खोलामा भरपर्दो डाइभर्शन नहुँदा वर्षातको समयमा यातायात सञ्चालनमा समेत समस्या भइरहेको छ । दाङको लमही–घोराही–तुलसीपुर खण्डमा ४६ किलोमिटर सडक रहेको छ । लमही–तुलसीपुर खण्डको कटुवा खोलादेखि तुलसीपुरसम्म बबई, सिस्ने, सेवार, गुर्जे, हापुर, पत्रे, सङ्क्राम, ग्वार र कालाखोला गरी १० वटा खोला छन् । जसमा बबई, गुर्जे, पत्रे, सङ्क्रम र ग्वारखोलामा नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगे पनि सञ्चालनमा आउन सकेका छैनन् । यस्तै कटुवा खोलाको पुल आधा सञ्चालनमा छ भने सिस्ने, सेवार, कालाखोलामा अझै पुल निर्माणको कामा शुरु हुन सकेको छैन ।

पुल निर्माणका लागि पक्की सडक भत्काएको अवस्थामा उपयुक्त डाइभर्शन नहुँदा खोलामा सवारी साधन चलाउँदा समस्या हुने गरेको चालकहरुले बताउने गरेका छन् । खोलामा बन्दै गरेका पुल समयमै नबन्दा वर्षातको समयमा बाढीले र हिउँदको समयमा धुलोले हैरान बनाएको यातायात व्यवसायी बताउँछन् । वर्षातको समयमा घोराही–तुलसीपुर वा घोराही–लमही सडकखण्डका खोलाहरुमा सवारीसाधान चलाउन समस्या हुने गरेको गाडी चालकहरुको गुनासो छ ।

गाडी चालक पोषण नेपाली पुल निर्माणको काम गर्दा अधिकांश सडकमा पक्की सडक भत्काइएको हुँदा उक्त स्थानमा खाडलहरु पर्ने गरेको कारण समस्या हुने गरेको चालक नेपालीको भनाइ छ । “पानी भएको पक्की सडक पनि भत्काइएको छ । खोलामा ठूला खाडल परेका छन्”, उहाँले भन्नुभयो, “यो लगातारको झरीमा हामीलाई गाडी वारपार गर्नै समस्या भएको छ । सवारी चालकहरुका अनुसार घोराही तुलसीपुर सडकखण्डको खुर्जे र सङ्क्रमखोलासँगै घोराही लमही सडकखण्डको कटुवाखोला र बबई नदीमा बढी जोखिम हुने गरेको छ । तर यसतर्फ सडक डिभिजन कार्यालय वा सम्बन्धी निर्माण व्यवसायीले ध्यान दिन सकेका छैनन् ।

कतिपय खोलाका पुलहरु पटक पटक म्याद थप भए पनि पुलहरु निर्धारित समयमा निर्माण हुन सकिरहेका छैनन् । यसतर्फ सडक डिभिजन कार्यालयले समेत ध्यान दिन नसकेको नागरिकको गुनासो छ । वर्षौंसम्म पनि पुल निर्माणको काम नगरी सर्वसाधारण जनतालाई दुःख दिने निर्माण व्यवसायीहरुलाई सरकारले कारवाही गर्नुपर्ने नागरिकको दबाब छ ।

घोराही–लमही सडकखण्डको बबई नदी पुल र घोराही तुलसीपुर सडकखण्डको गुहार खोला, सङ्क्रमखोला र गुर्जे खोलाको पुल निर्माणको अवस्था सन्तोषजनक रहे पनि वर्षात अगाडि निर्माण हुन नसक्दा मुख्य सडकखण्डमा यात्रा गर्ने यात्रु र सवारीसाधनले समस्या भोगेका छन् । डिभिजन सडक कार्यालय दाङका अनुसार पत्रे खोलाको पुल नयाँ डिजाइनमा निर्माण गर्नुपर्ने भएकाले केही ढिलाइ भएको छ । सडक डिभिजन कार्यालय दाङका इञ्जिनीयर शेखर योगीका अनुसार अहिले यहाँका सबै पुल नयाँ डिजाइनमा बनिरहेका छन् । घोराही–तुलसीपुर सडकखण्ड या लमही–घोराही सडकखण्डमा बन्ने सम्पूर्ण पुल नयाँ डिजाइनमा निर्माण भइरहेको योगीको भनाइ छ । पुल निर्माणको सम्झौता कम समयको हुने र पुल नयाँ डिजाइनमा निर्माण गर्नुपर्दा केही ढिलाइ भएको इञ्जिनीयर योगीले बताउनुभयो ।

उहाँका अनुसार कतिपय स्थानमा सरकारले निर्माण पक्षलाई समयमै बजेट नदिँदा पनि काम गर्न ठेकेदारहरुलाई समस्या पर्ने र काममा ढिलाइ हुने गरेको छ । सडक डिभिजन कार्यालयबाट पटक पटक म्याद थप्दासमेत काम पूरा हुन सकेको छैन । डिभिजन सडक कार्यालय दाङका अनुसार घोराहीको कटुवा खोलाको पुल निर्माणका लागि २०७१ भदौ ११ गते सम्झौता भएको थियो । २०७४ साल असोज १० गतेसम्म पुल निर्माण गरिसक्ने गरी शङ्कर माली निर्माण कम्पनीसँग सम्झौता भएको थियो तर निर्माण पक्षले विभिन्न प्राविधिक समस्या देखाउँदै गत फागुन महीनामा पुल बनायो तर राम्रोसम्म फिनिसिङ नगरेरै छोडेको छ । अहिलेसम्म पुल निर्माणको काम पूरा गर्न नसक्दा यात्रुहरुले दुःख पाइरहेका छन् ।

विसं २०७५ साउन १६ गतेसम्म बबई नदीमा पुल निर्माण गरिसक्ने गरी २०७२ साल माघ १७ गते अनक÷बज्रगुरु जेभी निर्माण प्रालिसँग सम्झौता भएको थियो । तर बबई नदीमा पनि अहिलेसम्म पुल निर्माण सम्पन्न हुन सकेको छैन । पुल निर्माणमा ढिलाइ हुनुको कारण नयाँ प्रविधिमा निर्माण हुन थालेकाले व्यवसायीहरुलाई आवश्यक सामग्रीहरु भारतबाट ल्याउनुपर्ने भएकाले पनि समस्या हुने गरेको इञ्जिनीयर योगीको भनाइ छ । २०७५ साल वैशाख १६ गते पुल निर्माण गरिसक्ने गरी घोराही–तुलसीपुर सडकखण्डको गुर्जे खोलामा बज्रगुरु कन्सट्रक्शन निर्माण प्रालिसँग पुल निर्माणका लागि २०७२ माघ १० गते सम्झौता भएको थियो । निर्धारित समय सकिए पनि पुल निर्माणको काम अझै पूरा हुन सकेको छैन । अहिले उक्त पुलको म्याद थपको अवस्थामा रहेको डिभिजन सडक कार्यालय दाङले जनाएको छ ।

सङ्क्रम खोलामा पनि २०७५ साल वैशाख ४ गतेभित्र पुल निर्माण गरिसक्ने गरी रौतहा कन्सट्रक्शन प्रालिसँग २०७२ माघ ५ गते निर्माण पक्ष र डिभिजन सडक कार्यालयका बीचमा सम्झौता भएको थियो । तर पुल निर्माणको निर्धारित समय सकिसक्दासमेत सङ्क्रम खोलामा अझै पुल बन्न सकेको छैन ।
–––रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री