मंगलबार, ३१ असार २०७६

‘मर्निङ वाक’ को गन्तव्यस्थल : मध्य काठमाडौंको एक्लो सामुदायिक वन रानीबारी

समयपोष्ट २०७६ असार २१ गते १४:३४

अच्युत रेग्मी

काठमाडौँ महानगरभित्र रहेको रानीबारी सामुदायिक वन ‘मर्निङ वाक’ को उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको छ ।

टोखा नगरपालिका–९ गोँगबु बस्ने रामकृष्ण अधिकारी सधै बिहानै रानीबारीको सामुदायिक वनमा पुग्नुहुन्छ । “वनभित्र हिँड्न र शारीरिक व्यायम गर्न सहज हुन्छ, स्वच्छ हावा र हरियालीले प्रातकालीन समय आनन्दले बित्छ”, उहाँ भन्नुहुन्छ ।

काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे बस्ने भीम गुरुङपनि सधैँ मर्निङ वाकका लागि रानीबारी आउनुहुन्छ । “शरीरको मोटोपन घटाउन र तन्दुरुस्त राख्नको लागि हिँड्नुपर्छ, त्यसको लागि स्वच्छ वातावरणको जङ्गल निकै उपयुक्त छ”, गुरुङ भन्नुहुन्छ ।

अधिकारी र गुरुङजस्ता सयौँ मानिस हिँड्न, शारीरिक अभ्यास र दौडनसमेत दैनिक रानीबारी वनमा आउने गर्छन् । रानीबारी सामुदायिक उपभोक्ता समितिका कोषाध्यक्ष अरुण शाक्य दैनिक २५० देखि ३०० व्यक्ति मर्निङ वाकका लागि रानीवारी वन आउने गरेको बताउनुहुन्छ ।

पहिले चक्रपथभित्र म्हैपी र रानीवारी सामुदायिक गरी दुई वन भए पनि म्हैपीलाई धार्मिक वनका रुपमा रुपान्तरण गरेपछि रानीबारी एक्लो सामुदायिक वन भएको हो । काठमाडौँ जिल्लामा १५० को हाराहारीमा सामुदायिक वन रहेपनि चक्रपथ र काठमाडौँ महानगरपालिकाभित्रको रानीबारी एक्लो सामुदायिक वन बन्न पुगेको छ । उक्त वन काठमाडौँ महानगरपालिका–३ मा पर्दछ ।

लाजिम्पाट र सामाखुशी छेउमा रहेको सो वन ६.९५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । परम्परादेखि नै राजाको दिवाली हुने वनका रुपमा रहेको रानीबारी वन विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो । उक्त वनलाई नेवारी भाषामा ‘पोर्पा अजिमा’ पनि भन्ने गरिन्छ ।

काठमाडौँको बढ्दो जनसङ्ख्यासँगै वन क्षेत्र मासिँदै गएको अवस्थामा रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । रानीबारीका ४१ घरधुरीले उक्त वनको संरक्षण गर्दै आएका छन् ।

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउनुहुन्छ । “यो वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”,उहाँ भन्नुहुन्छ ।

स्वच्छ हावापानी र खुला स्थान भएकाले सो वन हिँड्ने, दौडने र शारीरिक व्यायम गर्नेहरुका लागि महत्वपूर्ण स्थानका रुपमा समेत विकास हुँदै गएको उहाँको भनाइ छ । वनकोबीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिस देवीको दर्शनका लागि जाने गर्छन् । बिहान पाँच बजे खुल्ने वनमा ८.३० बजेसम्म निःशुल्क प्रवेश तथा त्यसपछि रु १० तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको पक्षी सङ्घका शैक्षिक कार्यक्रम संयोजक आनन्दकुमार श्रेष्ठ बताउनुहुन्छ । रानीबारी वनमा हाल झण्डै १०० प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।

वन विभागका अनुसार हाल देशभर २० हजार हाराहारीमा सामुदायिक वन रहेका छन् । उक्त सामुदायिक वनबाट २७ लाखको हाराहारीमा घरपरिवार लाभान्वित भएका छन् । नेपालमा सामुदायिक वनको अवधारणा विस २०३० साउन २५ देखि शुरु भएको हो ।

सिन्धुपाल्चोकको ठोकर्पा वनमा तत्कालीन जिल्ला वन अधिकृत तेजबहादुरसिंह महतको सहयोग तथा ठोकर्पा गाविसका तत्कालीन प्रधानपञ्च नीलप्रसाद भण्डारीको सक्रियतामा नेपालमा सामुदायिक वन संरक्षण अभियान शुरु गरिएको बताइएको छ ।रासस

प्रतिक्रिया