बिहीबार, १३ वैशाख २०८१

 यसकारण गर्भवती महिलालाई लाग्छ वाकवाकी

समयपोष्ट २०७६ असार १६ गते ७:२१

Advertisement

गर्भवती भएका बेला महिलाहरूलाई वाकवाकी लाग्ने गर्छ । जसले गर्दा खानामा अनरुची समेत हुने गर्छ ।

चिकित्सकहरूका अनुसार एचसिजी हर्मोनका कारण गर्भवती महिलालाई वाकवाकी र रिंगटा लाग्नेगर्छ । जसलाई ‘प्रेग्नेन्सी हर्मोन’ पनि भन्ने गरिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । स्ट्रेस र थकानका कारण पनि यस्तो हुन सक्छ ।

गर्भवती अवस्थामा बान्ता र वाकवाकी लाग्ने अर्को कारण भने इस्ट्रोजिन हर्मोन हो । यस्तो हर्मोन गर्भवती महिलामा बढेर जान्छ । ७० प्रतिशत गर्भवती महिलालाई यस्तो लक्षण देखिने गरेको पाइन्छ । सामान्यतया वाकवाकी लाग्न गर्भवती भएको ४–८ हप्ताबाट सुरु हुन्छ । र, यो क्रम १३–१४ हप्तासम्म रहन्छ । कसैकसैलाई भने अलि पछिसम्म यसले दुःख दिन सक्छ । यस्तो अवस्थामा आमालाई त असहज हुन्छ । तर, पेटमा भएको बच्चालाई भने कुनै असर पु–याउँदैन ।

बढी नै समस्या भएमा घरेलु उपचार विधि अपनाउन पनि सकिन्छ । त्यसका लागि वाकवाकी लाग्ने वा बढाउने खानेकुरा खानुहुँदैन । त्यस्ता खानाको गन्धबाट पनि टाढै रहँदा राम्रो हुन्छ । बिहान उठ्नुअघि भिजाएर राखेको गेडागुडी खानुपर्छ । जसलाई भेज लाइक टोस्ट पनि भनिन्छ । र, त्यो खाएको केही समयपछि मात्र उठ्ने गर्नुपर्छ ।

एकैपटक थुप्रै खाने बानीलाई सुधार गर्दा राम्रो हुन्छ । बरु थोरै–थोरै छोटो–छोटो समयको ग्यापमा खाँदा यस्तो समस्याबाट छुटकारा पाउन सहयोग हुन्छ । यसले स्वस्थ रहन पनि सहयोग पुग्छ । नेपालीको खानासँगै पानी खाने संस्कार छ । तर, खानासँग धेरै पानी नखाँदा पनि यस्तो समस्याबाट केही हदसम्म छुटकारा पाउन सकिन्छ ।

यसै पनि गर्भवती आमाले आफ्नो स्वास्थ्य र भोजनमा विशेष ख्याल राख्नुपर्छ । त्यस्तै, वाकवाकी र रिंगटा लाग्ने समस्या बढी भएमा प्रशस्त आराम गर्न आवश्यक हुन्छ ।

 

गर्भवती आमा बस्ने कोठा तथा घरको वातावरण खुला र राम्रोसँग हावा खेल्ने हुनुपर्छ । यसलाई कम गर्न अदुवा राखेर कागतीपानी पनि खान सकिन्छ । अधिक मात्रामा आइरनयुक्त खानाको प्रयोगले पनि यस्तो समस्यालाई धेरै घटाउन सकिन्छ । यसका लागि औषधि र चक्की पनि खान सकिन्छ । तर, स्वास्थ्यकर्मीको सल्लाहमा मात्र ।

कतिपय गर्भवती आमालाई वाकवाकी तथा बान्ता हुने समस्या अत्यधिक हुन्छ । यसरी हुने बान्ताबाट शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण तत्वहरूसमेत बाहिरिन सक्छ । त्यसैले यस्तो समस्या बढेमा तुरुन्तै स्वास्थ्य संस्था पुग्न आवश्यक हुन्छ ।

 

कहिलेकाहीँ मोलार प्रेग्नेन्सीका कारण पनि वाकवाकी लाग्ने, बान्ता हुने समस्या हुन्छ । मोलार प्रेग्नेन्सीले गर्भवती भएजस्तै लक्षण देखाउँछ, तर पेटमा बच्चा भने हुँदैन । त्यसैले यसबारे पनि सजग हुन आवश्यक हुन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री