बिहीबार, १३ वैशाख २०८१

थ्रीस्टारको बिषयलाई लिएर आज बस्ने भनिएको एन्फाको बैठक पुन: स्थगित

समयपोष्ट २०७४ साउन १२ गते १०:४०

 थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठक पुन: स्थगित भएको छ । 

Advertisement

एन्फाको लापर्बाहीका कारण गतवर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कारबाहीसहित रु छ करोड माग गर्दै आएको छ । सोही विषयमा कुरा नमिलेपछि हिजो बुधबार बसेको बैठक आज १ बजे पुन: बस्ने गरी स्थगित गरिएको थियो । 

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित गरिएको राससलाई जानकारी दिए । 

उनले अर्को बैठक कहिले बस्ने भन्ने विषयमा केही टुंगो नभएको बताए ।  बुधबारको बैठकका लागि तय भएका विभिन्न नौवटा एजेन्डामा थ्रीस्टारलाई क्षतिपूर्ति दिने विषयबाहेक अन्य सबै विषयमा लगभग सहमति भएको थियो । 

एशियाली फुटबल महासङ्घ एएफसीले तीन पटकसम्म इमेल पठाए पनि एन्फाले खेलाडीको नामावली नपठाउँदा थ्रीस्टार क्लब दोस्रो चरण खेल्नबाट वञ्चित भएको थियो । 

थ्रीस्टारले क्षतिपूर्ति नपाएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै बहिष्कार गर्दै आएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री