बिहीबार, १५ चैत २०८०

राती हेलोजिन लाईट बालेर नारायणगढ–मुग्लिन सडक खण्डको काम तीव्रगतिमा अगाडि बढाईदै

समयपोष्ट २०७४ साउन ९ गते ९:००

नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा समेत भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ । 

Advertisement

उक्त सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार राति ९ बजेदेखि बिहान ४ बजेसम्म काम गर्न थालिएको हो । 

नारायणगढबाट २२ किलोमिटरको दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने हुन्छ । दुईवटा एक्साभेटर र दुईवटा लोडर राखेर कामलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । दुई सय मिटर लम्बाइ र ४४ मिटर अग्लो पहाड भएको सो ठाउँमा करिब ६ मिटर मात्रै फराकिलो छ । 

सडकलाई १८ मिटर फराकिलो बनाइँदैछ । उक्त ठाउँमा करिब ३५ प्रतिशत काम बाँकी रहेको खनालले बताउनुभयो । रातमा सवारी साधन आवागमन बन्द गरेपछि असार २७ गतेबाट सो ठाउँमा रातिमा बत्ती बालेर काम थालिएको हो । तीन दिनयताबाट चेपाङ डाँडामा पनि रातिमा काम थालिएको छ । 
नारायणगढबाट ३३.८ किलोमिटर मुग्लिनतर्फ चेपाङ डाँडो पर्दछ । सो ठाउँमा केन्टिलिभर राखिने भएपछि ३३ मिटर अग्लो ठाउँबाट पहाड काट्न थालिएको छ । सो ठाउँमा सडक पाँच मिटर फराकिलो रहेको छ । 

चेपाङ डाँडामा १५० मिटर लामो क्षेत्रमा पहाड काट्नुपर्ने हुन्छ । उक्त ठाउँमा ७० प्रतिशत काम गर्न बाँकी छ । ठाउँ सानो भएकाले सो ठाउँमा माथि एउटा ब्रेकर र तल सडकमा एउटा लोडर प्रयोग गरिएको छ । काममा ढिलो भएपछि चौतर्फी दबाबसँगै ठेकेदार कम्पनीले रातको समयमा दासढुंगा क्षेत्रमा ग्राभेलिङ गरेर सम्याउने काम थालेको छ । 

हाल कालोपत्र गर्न तयारी थालिएको छ । सडकको ५.५ किलोमिटर क्षेत्रमा एक तहको कालोपत्र भएको भए पनि अन्य क्षेत्रमा काम हुनसकेको छैन । सडकको आठ सय मिटर क्षेत्रमा भित्तो काट्नुपर्ने काम बाँकी रहेको छ । सो सडक हालसम्म करिब ५२ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री