बिहीबार, १३ वैशाख २०८१

किन हुन्छन् विमान दुर्घटना ?, यस्तो छ दुर्घटना जाँच आयोगको प्रतिबेदन

समयपोष्ट २०७४ असार २९ गते १०:५४

भैरहवाको गौतमबुद्ध विमानस्थलमा दुर्घटनाग्रस्त यति एयरलाइन्सको नाइनएन–एआइबी जे विमान ‘अपरेसनल फेलियर’ का साथै मानवीय कमजोरी भएका कारण दुर्घटना भएको दुर्घटना जाँच आयोगले ठहर गरेको छ । 
विमान अवतरण गर्ने क्रममा विमानको विभिन्न पार्टपूर्जाले काम नगरेको र ककपिटका चालकबीच राम्रो समन्वय नभएकाले विमान धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको प्रतिवेदनले औँल्याएको छ । 
आन्तरिक उडानका क्रममा रहेको उक्त विमान २०७३ साल असोज ८ गते काठमाडौँबाट भैरहवाका लागि उडेको र विमान अवतरण गर्ने क्रममा करिब १३० मिटर धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको थियो । सो दुर्घटना मानवीय क्षति भएको थिएन । 
दुर्घटना भएको विमानले धावनमार्ग छोडेपश्चात् २४ फिट चौडा कल्भर्ट नाघेर विमानस्थलको पेरिमिटर फेन्सको जालीमा अल्झेर रोकिएको थियो । अवतरणपश्चात् विमानको ‘पावर लिभर, प्लाइट आइडिल पोजिसन’ बाट ‘ग्राउण्ड आइडिल पोजिसन’ नआएकाले रिभर्स सेलेक्सन नभएको र विमानको गति कम गर्न नसकिएकाले धावनमार्गबाट चिप्लिएर दुर्घटना भएका प्रतिवेदनमा उल्लेख छ । 

Advertisement

आयोगका अध्यक्ष राजेशराज दलीले विमान अवतरण गर्ने क्रममा धावनमार्गको सामान्य अवस्थामा पुसिसक्दा पनि विमानले जुन ‘फङ्सन’ गर्नुपर्ने, गति कम गर्नुपर्ने कार्य समयमा नहुँदा धावनमार्गबाट बाहिरिएको बताए । 

“विमानको कुनै एक पांग्राले धावनमार्गमा छोएको खण्डमा ककपिटमा रहेको ‘पावर लिभर’ लाई ‘रिभर्स मोड’मा ल्याउनका लागि सक्रिय हुनुपर्ने फङ्सन नभएकाले तीव्रगतिको विमान धावनमार्गको पिच छोडेर नजिकैको घाँसे मैदानमा धस्सिएको देखिन्छ” – उनले भने । 

प्रतिवेदनले दुर्घटनामा परेको विमान यसअघि पनि पटक–पटक पार्टपूर्जाले राम्रो काम नगरेको अवस्थामा पनि नियामक निकायको अनुगमन नभएका कारण यस्तो दुर्घटना भएको भन्दै सम्बन्धित एयरलाइन्सले विमान खरिद गरेको कम्पनीसँग ‘अपरेशनल फङ्सन’ बारे परामर्श गर्न र नियामक निकायले अनुगमनलाई प्रभावकारी बनाएका खण्डमा भविष्यमा यस्ता दुर्घटना कम गर्न सकिने सुझाव दिएको छ । 

आयोगको प्रतिवेदन बुझ्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यले आयोगको सुरक्षा सिफारिशअनुसार विमानको ‘अपरेशनल पार्ट’ मा लापर्बाही पाइएकाले प्रतिवेदन तत्काल कार्यान्वयनमा लगिने प्रतिबद्धता जनाए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पूर्व महानिर्देशक राजेशराज दली अध्यक्ष, गोमा एयरका क्याप्टेन विनोद पुरी, गोमा एयरकै इन्जिनियर रमेशकुमार सिंह र पर्यटन मन्त्रालयका उपसचिव हरिबहादुर खड्का सदस्य सचिव रहेको आयोगले एक वर्षपछि प्रतिवेदन बुझाएको हो । 

इन्जिन फेलले मकालु एयरको विमान दुर्घटना 

विसं २०७३ साउन २० गते हुम्लाको सिमिकोट विमानस्थल नजिक कर्णाली नदीमा दुर्घटनाग्रस्त मकालु एयरको नाइनएन–एकेसी, सी२०८बी विमान इन्जिन फेल भएका कारण दुर्घटनाग्रस्त भएको दुर्घटना जाँच आयोगले जनाएको छ । 
आयोगले आज सरकारलाई बुझाएको प्रतिवेदनअनुसार आन्तरिक उडानका क्रममा रहेको सिंगल इन्जिनको उक्त विमान सिमिकोटबाट सुर्खेतका लागि उडेको केही मिनेटमै ८ नटिकल माइल उडान भरेपश्चात् प्राविधिक समस्या आई इन्जिन पूर्णरुपले काम नगरेपछि आपतकालीन अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो । 
विमानको इन्जिन पूर्णरुपमा काम नगरेको भए पनि चालकले पुनः सञ्चालन गर्ने प्रयास गरेको र सफल नभएपछि नजिकको सबैभन्दा उपयुक्त ‘फोर्स ल्याण्डिङ साइट’ अर्थात् सिमिकोट विमानस्थलमै विमानलाई सुरक्षित अवतरण प्रयास गर्दा त्यो सम्भव नभएपछि कर्णाली नदी किनारमा अवतरण प्रयास गर्दा दुर्घटना भएको थियो । विमान दुर्घटनाग्रस्त भएको तर दुवैजना पाइलट विमानबाट सकुशल बाहिर निस्की पौडेर नदी किनारमा पुग्न सफल भएकाले तत्काल उद्धार भएको थियो । विमान भने अहिलेसम्म पनि भेटिएको छैन । 
उक्त विमान कर्णाली नदीको बहावले बगाएर हराएको र दुर्घटनापश्चात् सात महिनापछि स्थानीयवासीले इन्जिन फेला पारेका थिए । 
आयोगका सदस्यसचिव हरि खड्काले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव सुरेश आचार्यलाई आज प्रतिवेदन बुझाएका हुन। 

पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा, गोमा एयरका क्याप्टेन मनिस पन्त, गोमा एयरकै इन्जिनियर सोहन महर्जन र पर्यटन मन्त्रालयका सहसचिव अरी खड्का सदस्यसचिव रहेको दुर्घटना जाँच आयोग गठन गरिएको थियो । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री