शुक्रबार, ७ वैशाख २०८१

व्यापार घाटा कम गर्न कुटनीतिक पहल गरिदिन परिसङ्घको आग्रह

समयपोष्ट २०७४ असार २९ गते २:४९

मुुलुकको समग्र विकासका लागि आर्थिक कुटनीतिलाई सबल बनाउनु पर्ने विषयमा नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलले बुधवार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर ध्यानाकर्षण गराएको छ । निर्यात व्यापार घटिरहेको अवस्थामा बाह्य मुलुकसँगको व्यापार घाटा कम गर्नका लागि कुटनीति मार्फत समस्या समाधान गर्नुपर्नेमा परिसङ्घले जोड दिएको छ । 

Advertisement

परिसङ्घका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बुधवार गएको  प्रतिनिधिमण्डलले आर्थिक विकासका लागि परराष्ट्र मन्त्रालयले देशगत आर्थिक कुटनीति अबलम्बन गर्नु पर्ने, छिमेकी मुलुकसँगको व्यापारिक निर्भरता न्यून गर्दै निकासी प्रवद्र्धनको कार्यमा ठोस र परिणाममुखी कार्य योजनासहित कार्यान्वयनमा प्राथमिकता दिनु पर्ने बताएको छ । हाल भारतसँगको वैदेशिक व्यापारमा नेपाली कृषिजन्य वस्तु, गैर भन्सार अवरोध र थप नियमनहरु बढ्दै गएको तथा प्रान्तीय सरकारबाट नेपाली निकासी योग्य वस्तुलाई प्रोत्साहन गर्नु पर्ने र यी समस्याहरु समाधान गर्न देशको कुटनीति सक्रिय हुनु पर्ने परिसङ्घका अध्यक्ष शर्माले बताएका छन् । 

भारतले जुलाई १ देखि वस्तु तथा सेवा कर लागू गरेको हुदाँ त्यसबाट नेपाली अर्थ व्यवस्थामा पर्ने प्रभावको बारेमा निजी क्षेत्रको समेत प्रतिनिधि समावेश गरी कार्यदल नै गठन गरेर सूक्ष्म अध्ययन गर्नु पर्ने कुरामा पनि अध्यक्ष शर्माले जोड दिएका छन् । परिसङ्घले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको दक्षता र प्रभावकारिता विस्तार गर्नु पर्ने, नेपालमा आयात हुने बल्क कार्गो रक्सौल नाकाका अतिरिक्त अन्य भन्सार बिन्दुबाट पनि आयात गर्नका लागि कुटनीतिक पहल गरिदिन मन्त्री महरासँग आग्रह गरेको छ । 

आर्थिक कुटनीतिज्ञको विकास गर्नु पर्नेमा सरकार प्रतिवद्ध रहेको बताउँदै  परराष्ट्रमन्त्री महराले हाल मुलुकले राजनीति भन्दा आर्थिक विकासलाई केन्द्र बिन्दुमा राखेर अगाडि बढेकाले यसमा निजी क्षेत्रको सहयोगको अपेक्षा गरेको वताए । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री