शुक्रबार, ७ वैशाख २०८१

जसले श्रीमानलाई बचाउन दिइन् आफ्नै कलेजो

समयपोष्ट २०७५ साउन १४ गते ४:५९

१३ वर्षदेखि कलेजो पीडित श्रीमानलाई बचाउन श्रीमतीले आफ्नै कलेजो दिएकी छिन् । बुढानिकण्ठ ११ का बद्री खड्कालाई बचाउन उनकी श्रीमती रुसा खड्काले आफ्नो कलेजो दिएकी हुन् ।

Advertisement

नर्भिक र केएमसी अस्पतालमा श्रीमानको उपचार गराइरहेकी रुसाले त्यहाँका डाक्टरले कलेजो प्रत्यारोपणबिना नबाँच्ने बताएपछि उनी भक्तपुरस्थित मानवअङ्ग प्रत्यारोपण केन्द्रमा पुगिन् । त्यहाँ स्वास्थ्य परीक्षण गर्दा उनको कजेजो श्रीमानलाई मेल खायो । केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठलगायतका डाक्टरसँगको परामर्शपछि उनी श्रीमानलाई आफ्नै अङ्ग दिएर भए पनि बचाउने निष्कर्षमा पुगिन् । १० असारमा उनको कलेजो श्रीमानमा सफल प्रत्यारोपण गरियो । उनको ४५ प्रतिशत कलेजोे श्रीमानमा प्रत्यारोपण गरिएको केन्द्रका निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।

प्राथमिक स्कुलमा अध्यापन गराउँदै आएकी उनका १३ वर्षीय छोरी र ८ वर्षीय छोरा छन् । ‘प्रत्यारोपणमा रिक्स हुन्छ भनेर डाक्टरले पनि धेरैपटक भन्नुभयो, तर मैले मलाई पनि केही भयो भने छोराछोरीको अवस्था के होला भन्ने कुरा नसम्झी कलेजो दिन राजी भएँ ।’ उनले भनिन्, ‘मलाई डरभन्दा पनि श्रीमानलाई त्यो पीडाबाट कसरी मुक्ती दिन सकूँ भन्ने मात्र थियो ।’

चिकित्सा विज्ञानमा मानव अंग प्रत्यारोपणभन्दा पनि त्यसपछि उत्पन्न हुनसक्ने संक्रमण कम गर्नु झनै ठूलो चुनौतीपूर्ढा मानिन्छ । अंग लिने/दिनेमा कुनै किसिमको संक्रमण भए प्रत्यारोपणपछि पनि उक्त अंगले काम नगर्ने अवस्था आउँछ । तर उनले श्रीमानलाई बचाउन जस्तोसुकै रिक्स लिन तयार भइन् र श्रीमानलाई नयाँजीवन दिइन् । मार्सलआर्टका खेलाडी समेत रहेका खड्काले श्रीमतीको कारण आफूले नयाँजीवन पाएकोमा खुशी व्यक्त गरे ।

मानवअङ्ग प्रत्यारोपण केन्द्रले यो सहित तीनवटा बिरामीमा कलेजो प्रत्यारोपण गरेको छ । विश्वमै जटिल मानिएको कलेजो प्रत्यारोपण सुरुमा विदेशी विशेषज्ञको सहयोगमा गरेको केन्द्रले अहिले प्राविधिक सहयोग मात्र लिने गरेको छ । ‘तीनवटा विरामीमा कलेजो प्रत्यारोपण गर्दा अब हामी यसमा पनि आत्मनिर्भरताको दिशातिर गइरहेका छौं’, डा. श्रेष्ठले भने, ‘अब केही समय प्राविधिक सहयोग लिनु पर्ने भए पनि अरु कुरामा आत्मनिर्भर भइसकेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री