शुक्रबार, १६ चैत २०८०

बिकास निर्माणले यसरी पाउँदै छ तिब्रता

समयपोष्ट २०७५ साउन १२ गते ३:१९

राजेन्द्रप्रसाद पनेरु

Advertisement

कञ्चनपुर । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।

आव ०७४/७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ वेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताउनुभयो । उहाँका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ ।

यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् ।

पुल निर्माण भएपछि नगरपालिकाका बासिन्दाले सहज रुपमा जीवयापन गर्न पाउने र नदी तर्नु पर्ने झण्झटबाट मुक्ति पाउने नगर प्रमुख चन्दले भन्नुभयो, “पुल निर्माणले सबैको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहज पहुँच पुग्ने विश्वास लिएका छौँ ।” नगरपालिकाका अन्य नौ स्थानमा समेत पुल निर्माणका लागि पहल भइरहेको छ । माटो परीक्षण गरी पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।

यस्तै वडा नं १ को चम्फापुरको राधा नदी, वडा नं २ को पथरिया नदी र वडा नं १० को चथरीमा झोलुंगे पुल निर्माण भइरहेको छ । पाँच स्थानका लागि झोलुंगे पुल निर्माणको माग आएको बताउँदै नगर प्रमुख चन्दले भन्नुभयो, “पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।”

वैकल्पिक मार्गको काम दु्रत

नगरपालिकाले प्रदेश नं ७ का पहाडी सात जिल्ला जोड्ने वैकल्पिक छोटो दूरीको सडक निर्माणलाई समेत अगाडि बढाएको छ । नगरपालिकाको वडा नं ३ बाट शुरु भएको दैजी–बुडर सडकखण्ड दैजीदेखि छेला बजारसम्म कालोपत्रे भइसकेको र छेला बजार औद्योगिक क्षेत्रबाट लिप्ना (कञ्चनपुर) वेदकोटको सिमाना (डडेल्धुरा) पर्शुराम नगरपालिकाको सीमा पानीढाल लिपनासम्म कालोपत्रे (पिच) बनाउन ठेक्का भइसकेको नगर प्रमुख चन्दले बताउनुभयो ।

“विसं २०७६ असोजभित्र काम सम्पन्न गर्नुपर्ने कार्यादेश रहेको छ”, उहाँले भन्नुभयो । सडक निर्माणको कूल लागत रु २७ करोड ६३ लाख २९ हजार २७३ छ ।

सात खानेपानी आयोजना निर्माण हुँदै

नगरपालिकामा एकै साथ सात ठूला खानेपानी आयोजना निर्माण अगाडि बढाइएका छन् । नगरपालिका वडा नं १ मा हात्तीथला खानेपानी तथा सरसफाइ आयोजना रु १२ करोड ४० लाख, वडा नं २ मा झरना खानेपानी तथा सरसफाइ आयोजना रु नौ करोड ९९ लाख, वडा नं ३ मा दैजी खानेपानी तथा सरसफाइ आयोजना रु १३ करोड ५३ लाख, वडा नं ४ मा धरमपुर खानेपानी तथा सरसफाइ आयोजना रु पाँच करोड र वडा नं ६, ७ र ८ मा सुडा टाउन खानेपानी तथा सरसफाइ समिति रु ३३ करोडमा निर्माण भइरहेका छन् ।

यसैगरी वडा नं ९ मा बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना रु छ करोड र वडा नं १० मा नवदुर्गा खानेपानी तथा सरसफाइ आयोजना रु ५९ लाखमा निर्माण अगाडि बढाएको छ ।

निर्माण प्रारम्भ भएका खानेपानी आयोजनाबाट १० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् । खानेपानी आयोजनाबाट झण्डै २३ लाख २५ हजार लिटर शुद्ध पेयजल बासिन्दालाई उपलब्ध हुने नगर प्रमुख चन्दको भनाइ छ ।

चालू आवमा निर्माण सञ्चालन हुने गरी नौ खानेपानी आयोजनाको सर्भेको कार्य पूरा गरिएको छ । पुराना खानेपानी आयोजनाको मर्मतसम्भारको कार्यसमेत भएको बताउँदै नगर प्रमुख चन्दले भन्नुभयो, “लाइन र धारा विस्तारको कार्य समेत पूरा गरिएको छ । अतिगरीब तथा विपन्न परिवारलाई खानेपानीका ७२ वटा हेण्डपम्प पनि वितरण गरिएको छ । सर्वसाधारणको सरसफाइमा टेवा पु¥याउनका लागि ८७ वटा शौचालय निर्माण गरिएका छन् । शौचालयसँगै अनुदानमा २२ वटा गोबर ग्याससमेत जडान गरिएका छन् ।” रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री