बिहीबार, १० असार २०७८

आम्दानी छैन गुठीको सम्पत्तिको

समयपोष्ट २०७५ साउन ९ गते ८:०६

– सञ्चिता घिमिरे

Advertisement

गुठीका नाममा भएको सम्पत्तिबाट गुठी संस्थानले खासै कुनै आम्दानी लिन सकेको छैन ।

पुस्तौँदेखि गुठीको सम्पत्ति प्रयोग गर्दै आएका व्यक्तिहरुले आयस्ता नबुझाउँदा आम्दानी लिन नसकिएको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । पाटन दरबार क्षेत्रमा मात्रै झण्डै ४० वटा कवलहरु रहेको कार्यालयका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

Advertisement

जिल्लाको मङ्गलबजार, सुन्धारालगायतका स्थानमा गुठीका नामका कवलहरु रहेका छन् । एक दशक पहिलेसम्म ज्यादै न्यून भाडा बुझाउने उनीहरु अहिले कार्यालयलाई त्यही न्यून भाडासमेत बुझाएका छैनन् । उहाँ भन्नुहुन्छ, “मङ्गलबजार र त्यस आसपासका क्षेत्रमा निजी घरका सटरमा भाडा बढिरहेको छ तर उनीहरु भने एक रुपैयाँ पनि नदिई सित्तैमा बस्दै आएका छन् ।”

सबैभन्दा अनौठो कुरा त के छ भने कतिपय कवलहरुमा पुस्तौँदेखि जुन व्यक्तिले पसल राख्दै आएको थियो उसले अहिले अर्काेलाई भाडामा दिइरहेकोे छ । अहिले पसल राख्ने व्यक्तिले आफूले जसले त्यो कवल दियो उसैलाई भाडा दिएको पौडेलले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “कतिपयले कसको सम्पत्ति हो र कसलाई भाडा दिने भन्ने समेत थाहा छैन ।” ती कवलहरुमा गुठीले भाडा नपाए पनि बाबु–बाजेको पालादेखि पसल राख्दै आएकै भरमा बीचका मान्छेले भाडा बुझिरहेका छन् । बाबु–बाजेका पालामा तोकिएको भाडा दर बढ्न नसकेको पौडेल बताउनुहुन्छ । नजिकैका स्थानमा धेरै चर्काे भाडा हुँदा यहाँका पसल–कवलको भाडा ६०–७० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म मात्रै भाडा तोकिएको छ । त्यही भाडासमेत व्यापारीले नबुझाएको पौडेल बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “ज्यादै न्यून भाडा तोकिएकामा पनि लामो समयदेखि तिरेका छैनन् ।” गुठीले मात्रै नभएर स्थानीय निकाय र प्रशासनले नै भाडा उठाउन लाग्नुपर्नेमा उहाँको जोड छ । भाडा उठाउनका लागि कार्यालयले प्रशासन, स्थानीय निकाय, टोल सुधार समितिहरु छलफल थालेको उहाँ बताउनुहुन्छ । टेण्डरमार्फत वा चलनचल्तीको भाडादर तिराउनका लागि पहल भइरहेको छ । उहाँ भन्नुहुन्छ, “यहाँको आयस्ताबाट नै हामीले धेरै पर्व, पूजा र जात्रा चलाउन सक्छौँ ।”

ललितपुरका नगर क्षेत्रमा अरू निकायका स्वामित्वमा भएका भवन प्रयोग गर्नेहरुले चलनचल्तीको भाडा तिरेका छैनन् । पहिले कतिपय कवललाई हटाउन खोज्दासमेत मानेका थिएनन् । उहाँ भन्नुहुन्छ, “पुस्तौँदेखि बस्दै आएको भन्ने भरमा नै उनीहरु छाड्दैनन् ।” यहाँ पसल सञ्चालनमा रहेका कतिपय कवलमा पहिले स्वामित्व विवाद थियो । अहिले त्यो विवाद नहुँदासमेत व्यवसायीले भाडा दिन आनाकानी गरिरहेका छन् । उहाँ भन्नुहुन्छ, “सबै लागेर मात्रै समाधान निकाल्न सकिन्छ ।”

यहाँ पसल सञ्चालन गर्ने कतिपयमा गुठीको जग्गामा सित्तै बस्नु हुँदैन भन्ने सोचाइ पाइएको पौडेलले बताउनुभयो । धार्मिक स्थान भएकाले भाडा नतिरी हुँदैन भन्ने सोचाइ भएकाले भाडा दिन इच्छा देखाएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले ती व्यक्ति हुँदै सबै जनासँग भाडा लिनुपर्छ ।”

सार्वजनिक गुठीका नाममा भएका भवन, कवल, जग्गालगायतका सम्पत्तिको अभिलेखसमेत छैन । विभिन्न गुठीका नाममा छरिएर रहेका सम्पत्तिको एकीकृत विवरण नभएको उहाँले बताउनभयो । उहाँले भन्नुभयो, “कतिपय जग्गा रैतानी भइसकेको छ भने कतिपय अधिनस्त र कतिपय तैनाथी जग्गा छन् ।” कतिपय जग्गा दर्ताका क्रममा रहेको र दर्ता हुन बाँकी जग्गालाई पनि प्रक्रियामा ल्याएर दर्ता गरिने उहाँले बताउनुभयो ।

गुठी संस्थानसँगै, ललितपुर महानगरपालिका र पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका नाममा रहेका कवलहरु पाटन दरबार क्षेत्रमा छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयको नाममा रहेको दरबार क्षेत्रभन्दा अगाडि रहेको लामपाटीलाई गत वर्षबाट बोलपत्र गरेर भाडामा लगाएको प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वामित्वलगायतका विषयमा भएका विवाद समाधानपछि कवल भाडामा लगाइएको हो ।” दुई तला रहेको कवल जम्मा दुई लाख ८० हजार रुपैयाँमा भाडामा दिइएको छ ।

तीन फरक निकायका स्वामित्वमा रहेका सबै गरेर यस क्षेत्रमा झण्डै एक सय वटा कवल छन् । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय र कतिपय स्थानीयवासीले दरबार क्षेत्र भित्रै रहेका कवल भने खाली गर्नुपर्ने बताउँदै आएको छ ।

पहिले यी कवल टाढाबाट आएकालाई विश्राम गर्नका लागि वा रात नै कटाउनका लागि प्रयोग हुन्थ्यो । कवलबाट भाडा उठाउनुका साटो पर्यटकलाई आकर्षण गरेर पर्यटन क्षेत्रबाट नै आम्दानी बढाउनुपर्ने विचार राख्ने पनि धेरै छन् ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री