शुक्रबार, १६ चैत २०८०

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

समयपोष्ट २०७५ साउन ९ गते ७:०८

गएराति परेको पानीका कारण महाकाली राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।
महाकाली राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डको डिलाशैनी–६ को बांगाबगर भन्ने ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय सुरेश श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

बांगाबगरमा माथिबाट आएको पहिरोका कारण गएरातिदेखि नै सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि लगातार पानी परिरहेकाले समस्या भएको छ ।

अवरुद्ध सडक अपराह्नसम्म सडक पुनःसञ्चालनमा आउने प्रहरीले जनाएको छ । यातायातका साधन पूर्णरुपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटा दूरीका यातायातका साधन रोकिएका छन् ।

सडक अवरुद्ध हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् ।
विसं २०६० असारमा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलालबेलामा सडक अवरुद्ध हुने गरेको छ ।

यसका साथै उक्त पहिरोले त्यो बेला बांगाबगर छ घर पूर्णरुपमा नष्ट गरेको थियो भने १५० रोपनी जमीनलाई बगरमा परिणत गरेको थियो । सोही बेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासीलाई चिन्तित बनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री