बिहीबार, १३ वैशाख २०८१

न्यायिक समितिद्वारा २१० मुद्दा छिनोफानो

समयपोष्ट २०७५ साउन ९ गते ६:४४

मोरङको पथरीशनिश्चरे नगरपालिकाको न्यायिक समितिले जिल्लाकै बढी संख्यामा मुद्दाको छिनोफानो गरेको छ ।

Advertisement

पछिल्लो एक वर्षको अवधिमा नगरपालिकाको न्यायिक समितिले २१० वटा मुद्दाको छिनोफानो गरेको नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक यमुना विष्ट बास्तोलाले जानकारी दिनुभयो ।

विसं ०७४ साउन १५ मा गठन भएको समितिमा ३१५ मुद्दाका निवेदन दर्ता भएकामा २१० वटा मुद्दा मेलमिलापको माध्यमबाट मिलाइएको उहाँले उल्लेख गर्नुभयो ।

बाँकी केही मुद्दा घरपरिवारमै मिलेको, केही अदालतमा दर्ता भएको तथा केही मुद्दा मिलाउने प्रक्रियामा रहेको बास्तोलाले जानकारी दिनुभयो । न्याय क्षेत्रमा जनताको सहज पहुँच पुगोस् भन्ने उद्देश्यले खडा भएको न्यायिक समिति बनेपछि वर्षाैंदेखि न्याय नपाएर हैरान भएकाले न्याय पाएको उपप्रमुख बास्तोलाले उल्लेख गर्नुभयो ।

वडा नम्बर १ ले १३ वटा, २ ले पाँच, ३ ले छ, ४ ले पाँच, ५ ले ११, ६ ले चार, ७ ले १५, ८ ले चारा, ९ ले १० र १० ले ११ गरी ७५ वटा मुद्दा वडामै मिलाएका छन् ।

न्यायिक समितिले लेनदेनका ४३, पतिपत्नीका २६, साँध सिमानाका १८, घरायसी १०, अंशबण्डाका आठ, बाटो विवादका सातसहितका मुद्दा मिलाएको छ । एउटा मुद्दा अदालतमा पुगेको छ ।

वडातहमै मुद्दा मेलमिलाप गराउने र त्यहाँ किनारा लाग्न नसकेका मुद्दालाई साताको दुई दिन न्याय समितिले हेर्ने गरेको छ । समितिमा नगर उपप्रमुख संयोजक तथा कार्यपालिका सदस्य भद्रमान विश्वकर्मा र वडा सदस्य दुर्गाप्रसाद सिटौला सदस्य रहनुभएको छ ।

मेलमिलापको माध्यमबाट मुद्दा किनारा लगाउने सिद्धान्तलाई प्राथमिकता दिँदै प्रत्येक वडामा मेलमिलाप केन्द्र खडा गरिएको छ । तीन जनाका दरले मेलमिलाप कार्यकर्ता चयन गरिएको छ ।

विसं ०७४ पुस २४ देखि २८ गतेसम्म मेलमिलापकर्ताको प्रशिक्षण, ०७५ वैशाख ५ देखि ७ सम्म पुनतार्जगी तालीम सञ्चालन गरिएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री