शुक्रबार, १६ चैत २०८०

५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द, कटैया र ढल्केबरबाट थप विद्युत् आयातको तयारी

समयपोष्ट २०७७ असार २६ गते १८:४२

Advertisement

मनसुनका कारण देशव्यापी रुपमा भारी वर्षा भएकाले झण्डै ५०० मेगावाट बराबरको विद्युत् उत्पादन बन्द भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाका केही आयोजनाबाट उत्पादन बन्द भएको हो । वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन बन्द भएकाले व्यवस्थापनका लागि समेत समस्या पैदा भएको छ । बाढीका कारण प्राधिकरणको २४० मेगावाट र निजी क्षेत्रका आयोजनको २५० मेगावाट उत्पादन बन्द भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको बताउनुभयो । बाढीका कारण प्राधिकरणका विद्युत् गृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको उहाँले बताउनुभयो । “विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढी भएको छ, करिब ५०० मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो ।

आफ्ना विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि कटैया, ढल्केबरबाट थप विद्युत् आयात गरी आपूर्तिको बन्दोबस्ती भइरहेको उहाँको भनाइ छ । कार्यकारी निर्देशक घिसिङले बन्द रहेका विद्युत् गृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको जानकारी दिनुभयो ।

बाढीका कारण नेपालकै हालसम्मकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युत गृह आज बिहान ८ बजेदेखि बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेर आएकाले विद्युत् गृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्रका प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो । प्राधिकरणका ७० मेगावाटको मध्यमस्र्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत् गृह पनि बन्द रहेको छ । निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युत् गृहको करिब २४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।

यस्तै वर्षाका कारण इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षतिपुग्दा यस लाइनमा जोडिएका विद्युत् आयोजनाहरुको करिब १५० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरु ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री