मंगलबार, ४ वैशाख २०८१

पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते

समयपोष्ट २०७७ असार २६ गते १०:२९

Advertisement

अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज बिहान अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य छ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उहाँले बताउनुभयो । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । त्यसैगरी पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य मानवीय क्षति नभए पनि तीन बाख्रा पुरिएका छन् ।

पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उहाँका श्रीमती शान्ति र छोरा सुशान सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रनाउ हमालले जानकारी दिनुभयोे । अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री