शुक्रबार, १६ चैत २०८०

साम्राज्ञीले फेरी हानिन् भुवनलाई झटारो

समयपोष्ट २०७७ असार २२ गते २०:२७

Advertisement

गएको हप्ता दिनदेखि एकअर्काप्रति हिलो छ्यापाछ्याप गरिरहेका अभिनेता भुवन केसी र अभिनेत्री साम्राज्ञी आरएल शाहबीचको विवाद अझै साम्य हुन सकेको छैन । उनीहरुबीच सामाजिक सञ्जालमा एकअर्काप्रति आरोप-प्रत्यारोपको जुहारी चलिरहेको छ । उनीहरुको विवाद चलचित्र कलाकार संघसम्म पुगेको छ । संघ चाँडै दुवै पक्षलाई बोलाएर मेलमिलाप गराउने तयारीमा छ ।

अभिनेत्री शाहले इन्स्टाग्राममा एक भिडियो शेयर गर्दै तीन फिल्मका निर्माता तथा निर्देशकले आफूमाथि नराम्रो व्यवहार गरेको बताएकी थिइन् । उनले भुवन केसी, झरना थापा र रेनशा वान्तवा राईप्रति लक्षित गर्दै यो अभिव्यक्ति दिएकी थिइन् । तर, उनले आफूमाथि आरोप लगाएको भन्दै भुवन केसीले फेसबुकमा स्टाटस लेखेर ‘ड्रिम्स’ को नाम भजाएर खाइरहेको आरोप लगाए ।

उनले साम्राज्ञीलाई ‘जुन थालमा खाने त्यसैमा दुलो पार्ने’ भन्दै सामाजिक सञ्जालमा गर्ने अभिनय फिल्ममा गरेर देखाउन पनि सुझाव दिएका थिए । यो कुरा साम्राज्ञीलाई सह्यै हुने कुरै थिएन ! उनले इन्स्टामा अर्को भिडियो पोस्ट्याउँदै २ वर्षअघि जापान अवार्डमा आफूमाथि भुवन केसीले दुर्व्यवहार गरेको आरोप लगाउँदै भविष्यमा यस्ता व्यवहार भए कानुनी बाटो रोज्ने चेतावनी दिइन् ।

साम्राज्ञीले जापानमा भएको अवार्डमा दुर्व्यवहार गरेको आरोप लगाएपछि अभिनेता केसीले आफ्नो प्रतिष्ठामा आँच पुगेको भन्दै शुक्रवार कलाकार संघमा निवेदन दिएका हुन् । उनले पितातुल्य व्यक्तिको बारेमा अनर्गल तथा झुटा कुरा नबोल्न र पुनः यस्ता गतिविधि गरे साइबर क्राइमको मुद्धा हाल्ने चेतावनी दिएका छन् । उनको जवाफको प्रतिउत्तर साम्राज्ञीले पनि फर्काएकी छन् ।

सोमवार सामाजिक सञ्जाल फेसबुकमा उनले नव-प्रवेशी कलाकारले आफ्ना सुरुको संघर्षका दिनहरूमा भोग्नु परेको अदृश्य उत्पीडन, वास्तविक अप्ठ्याराहरु र आफूलाई ‘मै हुँ’ भन्ने निर्माताहरुको हेपाह प्रवृत्ति र दुर्व्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? भन्दै प्रश्न गरेकी छन् । यस्ता वास्तविकतालाई कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना रहेको उनको भनाई छ ।

‘एउटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाई होच्याएर सामाजिक सञ्जाल अनेकथरी भन्नु कहाँसम्म उचित हो ? के हो वरिष्ठ र प्रतिष्ठित व्यक्ति भनेको ? आफूलाई इज्जतदार ठान्नेले सामाजिक सञ्जालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ ?’, उनले प्रश्न गरेकी छन् । कुनै पनि व्यक्तिको बोलचालीले समाजमा उसलाई प्रतिबिम्बित गर्ने भएकाले बोल्दा विचार पुर्‍याउन उनको सुझाव छ ।

उनले अगाडि लेखेकी छन्, ‘कुनै पनि कलाकारले स्वयं उसले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ, जुन कुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछिका पाएको भन्ने तर्क विल्कुलै मिल्दैन ।’ उनले नयाँ कलाकारलाई कम पारिश्रमिक दिएर अत्याधिक फाइदा लिने चलन कहिलेसम्म हुने भन्दै प्रश्न पनि उठाएकी छन् ।

कलाकारले प्राप्त गरेको उचाई उसको लगन र मेहनतको फल रहेको उनको तर्क छ । पुनः आफूमाथि अनर्गल र झुटा आरोप लगाए साइबर क्राइमको मुद्धा हाल्ने अभिनेता भुवन केसीको चेतावनीप्रति लक्षित गर्दै साम्राज्ञीले कसैले अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार रोज्छु भन्नु देशको एक नागरिकको हिसाबले संविधान प्रदत मौलिक अधिकार रहेको उल्लेख गरेकी छन् ।

जो जसलाई सम्बन्ध छ !
हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार,निर्माता र निर्देशक ज्युले एक नव कलाकारले सामाजिक संजालमा दिएका अभिव्यक्ति प्रती आपत्ती जनाएर आफुले पनि सामाजिक संजालमा गर्नु भएको प्रतिक्रिया सन्दर्भमा !
के एउटा नव प्रवेशी कलाकारले आफ्ना शुरुको संघर्षका दिनहरूमा भोग्नु पर्ने अदृश्य उत्पीडन,वास्तविक अप्ठ्याराहरु र आफुलाइ मै हु भन्ने निर्मताहरुको हेपाहा प्रवृत्तिको र दुर्ब्यवहार बारेमा अभिव्यक्त गर्न पाइन्न र ? त्यस्ता वास्तविकता हरुलाइ कसैले आफ्नो प्रतिष्ठाको बिषय बनाउनु बिडम्बना नै मान्नुपर्छ !
यौटा वरिष्ठ कलाकारले जुनियर कलाकारलाइ होच्याएर सामाजिक संजाल अनेक थरी भन्नू कहाँ सम्म उचित हो? केहो वरिष्ठ र प्रतिष्ठित ब्यक्ति भनेको ? आफुलाइ इज्जतदार ठान्नेले सामाजिक संजालमा प्रयोग गर्ने भाषा त्यही हुन्छ? तपाईको बोलचाली र आनिबानीले तपाईंलाई समाजमा प्रतिबिम्बित गरेको हुन्छ ख्याल राख्नुस ! कुनै पनि कलाकारले स्वयं उस्ले गरेको मेहनत र लगनले कुनै स्थानमा पुगेको हुन्छ जुनकुराको भुक्तभोगी तपाईं स्वयं हुनुहुन्छ भने कुनै ब्यानरको एक फिल्म चल्दैमा सोहीलाई बेचेर पछीका पाएको भन्ने तर्क बिल्कुलै मिल्दैन ! नव कलाकारहरुलाइ कम पारिश्रमिक दिई तिनिहरुबाट बढी भन्दा बढी फाइदा लिने चलन कहिले सम्म हुने हो? कलाकारले प्राप्त गरेको उचाई फगत एक अनुग्रह होईन, उनको लगन र मेहनतको फल नै हो !
फेरि अब उप्रान्त यसो गरेमा वा कुनै अप्रिय कुरा अभिव्यक्त गरेमा कानुनी उपचार तिर जान सकिने कुरामा देशको एक नागरिकको हिसाबले कसैले आफ्नो धारणा व्यक्त गर्न पाउनु उस्को संविधान प्रदत मौलिक हक हो, त्यस्मा कसैले बाधा अड्चन गरेमा स्वयं कानुनी कार्वाहीमा पर्न सक्ने कुराको ज्ञान् हुनु जरुरी पनि छ।
आजका नारीहरु यति कमजोर छैनन् कि आफ्नो प्रतिरक्षा गर्न नसकुन चाहे त्यो सामाजिक हिसाबले ले होस् या कानुनी हिसाबले ! आजका महिलाहरु हरेक हिसाबले सबल छ्न् भन्ने कुराको हेक्का राखौ !
यदि नेपाली चलचित्र क्षेत्रलाइ बिकास गर्ने हो भने सबै निर्माताहरुले आफुलाइ मै हु भनी भावना नराखी नव कलाकार प्रती गरिने ब्यवहारमा सुधार गर्नु पर्छ। साथै समुहगत स्वार्थ राखी स्थापित कलाकार प्रति पक्षपात ब्यवहार र गुटबन्दी गरी फिल्महरु खेल्न नदिइ फिल्मी क्षेत्र बाटै पलायन गराउने षड्यन्त्र बाट मुक्त समेत हुनु पर्छ ! होइन भने यस क्षेत्रलाई नै क्यारिएर बनाएर यस क्षेत्रमा आउन खोज्ने पढेलेखेका र योग्य कलाकार हरुको खडेरी हुने र स्थपित कलाकारहरु बिस्थापित हुनेको लर्को लामै हुन्छ ! तसर्थ सबैले आ-आफ्नो भुल स्वीकार गरि आफ्नो कमि कमजोरीहरु लाई मनन गरि त्यसमा सुधार गरीअघि बढ्नु जरुरी छ ! साथै संबंधित निकायले निष्पक्ष रही यस बारेमा गम्भीरता पुर्वक सोच बिचार र अध्यन गर्नु पर्ने नितान्त आवश्यक छ !

नेपाली चलचित्रको एक शुभ चिन्तक !

 

जो जसलाई सम्बन्ध छ ! हालै नेपाली सिने जगतका एक वरिष्ठ कलाकार,निर्माता र निर्देशक ज्युले एक नव कलाकारले सामाजिक संजालमा…

Posted by Samragyee R L Shah on Sunday, 5 July 2020

प्रतिक्रिया

सम्बन्धित सामाग्री