शुक्रबार, १४ वैशाख २०८१

‘क्लिन फिड निती बिदेशी च्यानल बन्देजको बन्नु हुँदैन’

समयपोष्ट २०७६ असार १३ गते ९:५४

Advertisement

क्लिन फिड भनेको के हो ?

क्लिन फिड भनेको कुनैपनि टेलिभिजन, पत्रिका, रेडियो र डिजिटल मिडियाहरुमा प्रसारण सामाग्रीका साथ बिज्ञापन बजाउन नपाइने निती हो । हाल प्रस्तावित क्लिन फिड नीतिमा बिदेशी च्यानलहरुमा बिदेशी बिज्ञापन बज्न नहुने उल्लेख गरिएको छ ।

संसारका प्रायजसो देशमा बिज्ञापन सहितका सामाग्रीहरु किन प्रसारण हुन्छन् त ?

संसाभर क्लिनफिडको सट्टा बिज्ञापन सहित टेलिभिजन, पत्रिका, रेडियो र डिजिटल मिडिया प्रसारण हुनुको उद्देश्य एक मात्र छ, त्यो हो ग्राहकहरुलाई सस्तोमा कन्टेन्ट देखाउन सकियोस् । यो एउटा बिजनेस मोडल हो र संसारभर लागू भएको छ । क्लिनफिडमा च्यानल प्रसारण अत्यन्त महंगो छ ।

नेपालमा क्लिन फिडको सान्दर्भिकता

नेपाली समाजमा टेलिभिजन च्यानलहरु मासिक रु २५० देखि ५–६ सय रुपैयाँमा देखाइन्छ र संसारमै सबैभन्दा सस्तोमा टिभि हेर्ने उपभोक्ता नेपालमै छन् । क्लिनफिड नेपालमा लागू गरे क्लिनफिड च्यानल हेर्नका लागि उपभोक्ताहरुले न्युनतम दश गुणा बढि शसल्क तिर्नुपर्ने हुन्छ । बेलायतमा क्लिनफिड टिभि च्यानलहरु हेरेको मासिक ९० पाउण्ड सम्म पर्छ । के नेपाली समाज र ग्रामिण क्षेत्रका बासिन्दाले मासिक रु २५००–३००० हालेर टिभि हेर्न सक्छन् त ? के उनीहरुको सुचना र मनोरञ्जनको हक हामीले क्लिन फिड मार्फत हनन त गर्दै छैनौ ? नेपालमा क्लिनफिड हेर्न महंगो पर्ने भयो भने ग्राहकहरुले सस्तोमा टिभि हेर्न बिदेशी डिटिएच हरु प्रयोग नगर्लान् भन्ने ठोस आधार के छ ? यसले नेपालको पे टिभि उद्योेगलाई कस्तो असर गर्ला ? पे टिभि उद्योगको क्लिनफिडमा मतान्तर यहि हो ।

बिदेशी बिज्ञापन सम्बन्धि धारणा

नेपालका डिजिटल टिभि सेवा वितरकहरु बिदेशी बिज्ञापन नेपालमा बज्न हुँदैन र यसले नेपाली मिडिया र बिज्ञापन क्षेत्रलाई नकारात्मक असर गरेको छ भन्नेमा समर्थन गर्दछन् तर बिदेशी च्यानलहरुले नेपालको लागि क्लिनफिड व्यवहारिक र व्यवसायिक रुपमा असम्भव भएको र क्लिनफिड च्यानल दिनै नसक्ने बताएका छन् । नेपालको बजार उनीहरुको लागि सानो भएर यो भनेका हुन् । यस अवस्थामा बिदेशी च्यानल बन्दै हुने गरी क्लिनफिड निती आउन नहुने तर परिमार्जित रुपमा ल्याउनु पर्ने मेरो धारणा छ ।

बिदेशी बिज्ञापन कसरी रोक्ने र ग्राहकहरुलाई कसरी सस्तोमा च्यानल पनि देखाउने त ?

बिदेशी बिज्ञापनलाई स्वदेशी बिज्ञापनले प्रतिस्थापन गर्ने प्रविधिको विकास भैसकेको छ । नेपालमा प्रसारण हुने बिदेशी च्यानलहरुको बिज्ञापनलाई यो प्रबिधि मार्फत स्थानियकरण (Ad localize) गर्न सकिन्छ । यसको फाइदा भनेको ‘बिदेशी बिज्ञापनको नकारात्मक असर समाप्त हुनेछ, स्वदेशी बिज्ञापन उद्योग फस्टाउने छ र नेपाल जस्तो न्यून आय भएको देशमा सहुलियतमै उपभोक्ताहरुले बिदेशी च्यानलहरु हेर्न सक्नेछन् ।

यो विज्ञापन स्थानीयकरण (Ad localize) गर्ने प्रबिधि क्लिन फिडकै परिष्कृत रुप हो । तर यो प्रबिधि आजको भोलि लागू गर्न संभव हुँदैन यसका लागि समय र लगानी लाग्ने हुनाले दिर्घकालिन सोच र समय राखेर अगाडि बढ्नु पर्ने हुन्छ ।

अन्ततः नेपाल एक प्रगतीशील समाज हो र हरेक नेपालीले संसारभरका सुचना तथा मनोरञ्जन हेर्न पाउनु पर्छ भन्ने व्यक्तिगत सोच हो । क्लिन फिडको नीति बिदेशी च्यानल बन्देजको निती बन्नु हुँदैन । विज्ञापन स्थानीयकरण गर्ने निती नै नेपालको लागि, नेपाली समाजका लागि, बिज्ञापन उद्योगका लागी, पे टिभि उद्योगका लागी र नेपाली मिडियाका लागि पनि हितकारी हुनेछ । यसका अलावा नेपाली समाजका लागि पनि नयाँ र राम्रा समाग्रीहरु निर्माण र प्रसारण गर्ने स्वदेशी मिडियाहरुको म सरहाना गर्दछु । अझै राम्रा स्वदेशी सामाग्रीहरु पस्किदैं नेपालको मौलिकता जगेर्ना गर्ने र बिदेशी च्यानलको दर्शक पनि घटाउन महत्वपूर्ण भुमिका नेपाली मिडियाहरुको काँधमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री