बिहीबार, १५ चैत २०८०

प्रहरी निरीक्षकद्वारा यौन प्रस्ताव: “संवेदनशिल अंगमा हात लगाएपछि दुई झापड लगाएर चिच्याएँ”

समयपोष्ट २०७६ असार ९ गते १३:२९

Advertisement

ओखलढुंगामा प्रहरीले महिलालाई दुव्र्यवहार गरेपछि स्थानीयले चौकी घेराउ गरेका छन् । प्रहरी चौकी श्रीचौरका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) प्रशुराम विश्वकर्माले एक महिलालाई यौन दुव्र्यवहार गरेको भन्दै स्थानीयले आइतबार राति प्रहरी चौकी घेराउ गरेका हुन् ।

मदिरा सेवन गरेर अचेत अवस्थामा पुगेका असई विश्वकर्माले स्थानीय एक होटलमा आफुलाई यौन दुव्र्यवहार गरेको भन्दै महिला चिच्याएपछि स्थानीय आक्रोशित भएका थिए । प्रहरीले संवेदनशिल अंगमा समातेर यौन सम्पर्कका लागि जबरजस्ती प्रस्ताव गरेको पीडित महिलाले बताएकी छन् । ‘म खाएर बसेको ठाँउमा पुलिस आएर मलाई नराम्रो व्यवहार गर्यो,’ पीडित महिलाले भनिन्, ‘अनि मैले २ झापट दिएँ र गुहार मागेर चिच्याएँ अनि भाग्यो ।’

प्रहरीबाटै महिला असुरक्षित भएपछि दोषीलाई कारबाहीको माग गर्दै चौकी घेराउ गरिएको स्थानीय युवा पदम तामाङले बताए । ‘सुरक्षा दिने प्रहरीबाटै असुरक्षा भोग्नु परेको छ,’ उनले भने, ‘हामी कानुनी कारबाही नभएसम्म चुप बस्दैनौं ।’ प्रहरीले मदिराको तालमा महिलामाथी दुव्र्यवहार गरेको हल्ला फैलिएपछि गाउँका अधिकांश मानिसहरु राति नै चौकी घेर्न पुगेका थिए । घेराउमा रातभर गाउँका पुरुषहरु सहभागी थिए । बिहान उज्यालो भएपछि ठूलो संख्यामा महिलाको उपस्थिती छ । यसअघि पनि श्रीचौरमा कार्यरत प्रहरीले मदिरा सेवन गरेर महिलामाथि हिँसा गरेका घटनाहरु सार्वजनिक भएका थिए ।

आक्रोशित व्यक्तिहरुले असई विश्वकर्मा र चौकी माथि आक्रमण गर्ने अवस्था आएपछि स्थानीय अगुवाहरुले नै सुरक्षा दिएका थिए । ‘हामीले अन्न फलाएर खाने जग्गा दिएर, चन्दा उठाएर बनाएको चौकीको भवन क्षति हुने अवस्था आएपछि आफैं गएर चौकी र प्रहरीको सुरक्षा दियौं ।’ स्थानीयको भनाई उद्रित गर्दै घटनास्थलबाट पत्रकार शिवकुमार कार्कीले भने, ‘असईलाई कुटेर मात्रै रिस फेर्ने भनेर आएको भीडलाई साम्य पार्न निकै हम्य–हम्य भयो । अहिले दुवै पक्ष राखेर कुरा भइरहेको छ ।’ वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीय बसेर घटनाका विषयमा छलफल गरिरहेका छन् ।

प्रहरी र पीडित महिलालाई राति नै स्वास्थ्य परिक्षण गरिएको थियो । परीक्षण गर्दा महिला र प्रहरी दुवैले अत्याधिक मदिरा सेवन गरेको पाइएको स्वास्थ्य चौकी श्रीचौरको रिपोर्टमा उल्लेख छ ।

दोषी भए असइलाई विभागीय कारबाही हुन्छ – प्रहरी प्रमुख मल्ल

प्रहरीले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको भन्ने गुनासो आएकाले उनलाई जिल्ला झिकाउने तयारी भईरहेको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । ‘प्रहरी असई विश्वकर्माले मदिरा सेवन गरेर महिलालाई दुव्र्यवहार गरेको भन्ने कुरा सुन्नमा आएको छ, सत्य के हो त्यो अनुसन्धान गर्छौ,’ प्रहरी प्रमुख मल्लले भने, ‘जिल्ला झिकाउन निर्देशन दिइसकेको छु । यदि गल्ती गरेको रहेछ भने विभागीय कारबाहीका लागि सिफारीस गर्छु ।’ स्थानीयले रातभर चौकीको सुरक्षा दिएर थप घटना हुन नदिएको उनले बताए । ‘स्थानीयले बनाईदिएको चौकीलाई उहाँहरुले नै सुरक्षा दिनुभयो र थप केही घटना हुन पाएन । असई लाई जुन आरोप लागेको छ त्यसमा अनुसन्धान गरेर कानुनी कारबाही गरिन्छ ।’ प्रमुख मल्लले भने । नयाँपत्रीकाबाट

प्रतिक्रिया

सम्बन्धित सामाग्री