शुक्रबार, १४ वैशाख २०८१

दूर्गम र विकट भेगमा टेलिकमको मोबाइल तथा टेलिफोन सेवा

समयपोष्ट २०७६ जेठ २० गते १९:०२

Advertisement

नेपाल टेलिकमले मुलुकका विभिन्न विकट र दुर्गम स्थानमा अत्याधुनिक सञ्चार सेवा शुभारम्भ गरेको छ । कम्पनीले हालै रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न दूर्गम र विकट भेगहरुमा मोवाइल सेवा शुभारम्भ गरेको छ हो । हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट यी स्थानहरुमा हालै कम्पनीले सञ्चार सेवा पुर्याउन सफल भएको हो ।

कम्पनीले ४ हजार २९० मिटर उचाईमा अवस्थित रसुवाको पाङसाङ डाँडामा बीटीएस राखेर सेवा प्रदान गरेको छ । यसबाट लाङटाङ ट्रेकिङ रुट, गोसाइकुन्ड ट्रेकिङ रुटको केही भाग, ठूलो स्याफ्रु, भिम्सा, सिंगवा, नागथली, ग्यात्लाङ, शेर्पा गाउँ, लामा होटल, घोडा तबेला, मुन्टु, सिङडुङ, खाङजिम आदि स्थानमा मोवाइल सेवा उपलब्ध हुनेछ ।यसबाट सो क्षेत्रका ५ सय घरधुरीका करिब २ हजार जनसंख्यालाई सेवा उपलब्ध हुनेछ । रसुवाकै ३ हजार २४२ मिटर उचाईमा अवस्थित लाङटाङ पदमार्गमा पनि अर्को बीटीएस टावर स्थापना गरिएको छ । यसबाट लाङटाङ उपत्यकाका २ सय घरधुरीका करिब ७ सय जनसंख्याले सञ्चार सेवा उपभोग गर्न पाउने छन् ।

ताप्लेजुङको विकट स्थान घुन्सामा पनि सेवा उपलब्ध गराइएको छ । ३ हजार ८२५ मिटर उचाईमा अवस्थित टावरमार्फत घुन्सा, थामे, ज्याल्पा र कन्चनजंघा बेसक्याम्प आदि स्थानमा सेवा उपलब्ध हुनेछ । यसबाट ८० घरधुरीका करिब ३ सय जनसंख्या लाभान्वित हुनेछन् ।

डोल्पाको मुकोट र शे फोक्सुन्डोमा पनि हालै बीटीएस सञ्चालनमा आएका छन् । ३ हजार ३१६ मिटर उचाईको मुकोटमा अवस्थित टावरमार्फत छार्का तान्सुङ गाउँपालिकाका दुई वडा र काइके गाउँपालिकाका दुई वडा तान्छिन र खानीगाउँमा सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी, ३ हजार ७०४ मिटरको से फोक्सोन्डुमा अवस्थित टावरमार्फत से फोक्सुन्डोका दुई वडा र्याती र पुग्मा तथा रिग्मो, रिखे, ताप्रिजा र फोक्सुन्डो तालसम्म सेवा प्रयोग गर्न सकिने छ । दुवै टावरमार्फत करिब २ हजार सेवाग्राहीले सेवा पाउन सक्नेछन् ।

कम्पनीले हालै मुस्ताङको घमी र छोसेरमा समेत सेवा उपलब्ध गराएको छ । घमी ३ हजार ८ सय मिटर र छोसेर ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित छन् ।

यसबाट याराघारा, घमी, ढाकमर, गर्थु, न्याम्दो, चुङजुङ र कोरला जाने रुटसम्म सेवा उपलब्ध हुनेछ । त्यसैगरी उपल्लो मुस्ताङको छुसाङमा पनि थ्रीजी मोबाइल सेवाको शुरुवात भएको छ ।

यहाँस्थित बीटीएसले त्यहाँका छुसाङ, जेताङ र चैले गाउँका वासिन्दालाई मोबाइल र इन्टरनेट सुविधा उपलब्ध गराउने छ ।

दुर्गम तथा विकट ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनाको कार्य निकै कठिनाईका बाबजुद सफलतापूर्वक सम्पन्न गरी मोबाइलको पहुँच पु¥याइएको हो ।

अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । प्रतिफल कम आउने र तुलनात्मक रुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने कम्पनीको नीति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री